१८ असार २०८३, बिहीबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
हुम्लाबाटै पहिलो पटक ई–पेन्सन प्रणालीमार्फत पेन्सन पट्टा वितरण - Himalaya Raibar
Banner Newsकर्णाली प्रदेशताजा समाचारदेश

हुम्लाबाटै पहिलो पटक ई–पेन्सन प्रणालीमार्फत पेन्सन पट्टा वितरण

सेवा निवृत्त निजामती कर्मचारीलाई अवकाशपछिका सेवा–सुविधा सरल, सहज तथा पहुँच योग्य बनाउने उद्देश्यले राष्ट्रिय निजामती किताबखाना (निजामती) हरिहरभवन, ललितपुरले कार्यान्वयनमा ल्याएको ई–पेन्सन (E-Pension) प्रणाली अन्तर्गत हुम्ला जिल्लाबाट पहिलो पटक पेन्सन पट्टा वितरण गरिएको छ।

राष्ट्रिय निजामती किताबखानाले मिति २०८२ साल चैत ६ गतेदेखि देश भरका कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत ई–पेन्सन प्रणालीबाट सेवा प्रवाह सुरु गैरेसँगै कोष तथा लेखा नियन्त्रक कार्यालय, हुम्लाले पनि सेवा निवृत्त कर्मचारीलाई जिल्लाबाटै पेन्सन सम्बन्धी सेवा प्रदान गर्न थालेको हो।
यसै क्रममा २०८३ साल असार १७ गते सिमकोट गाउँपालिकामा कार्यरत कार्यालय सहयोगीबाट सेवा निवृत्त भएका श्री दान बहादुर शाही लाई कोष तथा लेखा नियन्त्रक कार्यालय, हुम्लाले जिल्लाबाटै पहिलो पटक ई–पेन्सन प्रणालीमार्फत पेन्सन पट्टा हस्तान्तरण गरेको छ।
ई–पेन्सन प्रणाली अन्तर्गत सेवा निवृत्त कर्मचारीलाई निवृत्तिभरण अधिकारपत्र, सञ्चित बिदा, घर बिदा तथा बिरामी बिदा बापतका सुविधा निर्धारण पत्र, औषधि उपचार सुविधा निर्धारण पत्र उपलब्ध गराउनुका साथै निवृत्तिभरण व्यवस्थापन कार्यालयसँग आवश्यक समन्वय गरी जिल्ला स्थित बैकमै पेन्सन खाता सञ्चालनको व्यवस्था समेत गरिएको छ।
पेन्सन पट्टा हस्तान्तरण गर्दै कोष तथा लेखा नियन्त्रक कार्यालय, हुम्लाका कार्यालय प्रमुख अंग बहादुर कार्की ले ई–पेन्सन प्रणाली लागू भएसँगै अब सेवा निवृत्त कर्मचारीले पेन्सन पट्टा बनाउन काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको बताए। उनका अनुसार यसअघि कर्मचारीहरूले राष्ट्रिय निजामती किताबखाना, पुल्चोक तथा निवृत्तिभरण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वर पुग्नुपर्ने, जसका कारण समय र आर्थिक व्यय हुने गरेको थियो।
प्रमुख कार्कीका अनुसार अब अवकाश वा राजीनामा स्वीकृत भएका कर्मचारीले आवश्यक कागजात कोष तथा लेखा नियन्त्रक कार्यालयमा पेश गरेपछि विवरण ई–पेन्सन प्रणालीमा प्रविष्ट गरिन्छ। सम्बन्धित निकायबाट स्वीकृत तथा हस्ताक्षरित पेन्सन पट्टा डिजिटल माध्यमबाट प्राप्त भएपछि सेवा ग्राहीलाई जिल्लाबाटै हस्तान्तरण गरिने व्यवस्था गरिएको छ।
पहिलो सेवाग्राही दान बहादुर शाही ले जिल्लाबाटै सेवा प्राप्त गर्न पाउँदा निकै सहज भएको प्रतिक्रिया दिए। अब पेन्सन पट्टाका लागि काठमाडौं धाउनुपर्ने अवस्था हटेको छ। समय र खर्च दुवै बचत भएको छ। छोटो समयमै पहिलो सेवाग्राहीका रूपमा सेवा लिन पाउँदा अत्यन्त खुसी लागेको छ, उनले बताए।
ई–पेन्सन प्रणाली कार्यान्वयनसँगै हुम्लाका सेवा निवृत्त कर्मचारीले अब आफ्नै जिल्लाबाट छिटो, सरल, सुलभ तथा प्रभावकारी रूपमा पेन्सन सम्बन्धी सेवा प्राप्त गर्ने वातावरण बनेको कोष तथा लेखा नियन्त्रक कार्यालय, हुम्लाले जनाएको छ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Check Also
Close
Back to top button