हुम्लामा विष सेवनले महिलाको मृत्यु

हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–७ निवासी राजेन्द्र शाहीकी श्रीमती अन्दाजी २१ वर्षीया दिलसरा सिंह शाहीको औषधि सेवनका कारण मृत्यु भएको छ ।
पुस २० गते आइतबार सिमकोट गाउँपालिका–६ अन्तर्गतको माथिल्लो गाउँ तिनधारा नजिक बाटोमा शाही अचेत अवस्थामा फेला परेकी थिइन् । स्थानीयले अचेत अवस्थामा देखेपछि तत्काल जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय हुम्लाबाट सहायक हवल्दार केशवराज जैसीको कमाण्डमा खटिएको प्रहरी टोलीले शाहीलाई उद्धार गरी तत्काल जिल्ला अस्पताल हुम्ला पुर्याएको थियो । उपचारका क्रममा उनले नाम नखुलेको विषादी सेवन गरेको पुष्टि भएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।
आइतबार साँझ करिब ६ बजे अस्पताल भर्ना गरिएकी शाहीको सोमबार दिउँसो करिब ३ः३० बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर विष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
घटनाबारे श्रीमान–श्रीमतीबीच घरेलु विवादपछि औषधि सेवन गरिएको भन्ने हल्ला चले पनि हालसम्म औषधि सेवन गर्नुको यथार्थ कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन गहन अनुसन्धान भइरहेको इन्स्पेक्टर श्रेष्ठले बताउनुभयो ।


