लिमी उपत्यका कसरी पुग्ने ? (सम्पूर्ण जानकारी, फोटो सहित)
११ औं शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका साना ठुला गुम्बा अर्का आकर्षणको केन्द्र विन्दु हुन् ।आँखै अगाडी देखिने वन्यजन्तुको बथान, प्राकृतिक क्यान्भासको त कुरै नगरौं ।
रेशमराज रोकाया
हुम्ला जिल्लाको हरेक गाउँ ठाउँ विशिष्ट पहिचान बोकी रहेका छन् । हरेक गाउँ ठाउँको आ–आफ्नै विशेषता र पहिचान रहेको छ । संस्कृती अध्ययन र अनुसन्धान गर्नको लागि यो जिल्ला एक असल सावित हुन सक्छ । दुरीको हिसाबले १ देखी आधि घण्टाको दुरीमा पर्ने हरेक गाउँको फरक पहिचान, चालचलन र संस्कृृती यहाँको विशेषता हो । यहाँ बोलिने भाषा मनाईने चाडपर्व अपनाईने संस्कृतीले आन्तरिक पर्यटक मात्र नभएर बाह्य पर्यटकलाई मन्त्रमुग्ध बनाउने गरेको छ । हुम्लीवासीलाई पनि यहाँको चालचलन र रहनसहन बुझ्नको लागि अझै वर्षौं लाग्ने अनुमान गरिरहेको छु । हरेक वर्ष यस्ता प्राकृतिक सम्पदा, चालचलन र रहन सहन बुझ्न अनि रमाउनको लागि विदेशी पाहुनालाई न्यानो आतिथ्यता पाउनको लागि पर्यटकले कुर्ने गरेका हुन्छन् ।फरक पहिचान सहितको खस साम्राज्यको आधार खण्ड भनेर चिनिने अनि लुकेको तिव्बतिय संस्कृतीको आकर्षण केन्द्रको रुपमा हुम्लाको लिमी उपत्यका रहेको छ । यहाँ जिल्लाको अन्य भूभाग भन्दा फरक बस्ती र चालचलन रहेको छ । यो बस्ती ४ हजार भन्दा माथिको उचाईमा रहेको छ । तत्कालिन लिमी गाउँ विकास र हालको नाम्खा गाउँपालिका अन्तरगत पर्ने लिमीमा ३ वटा गाउँ तिल, हल्जी र जाङ्ग रहेका छन् । अन्न बालीको रुपमा नाफल (उच्च हिमालमा पाक्ने गौं), जौ, कोईरा, तोरीको मूख्य खेती गरिने यी गाउँमा मूख्य खाद्य बाली हुन् । लिमीमा लोपोन्मुख तथा दुर्लभ वन्यजन्तुको आरक्षण स्थलको रुपमा विकास भईरहेको छ । घर आँगनमा नै यस्ता खालका वन्य जन्तु देख्न पाईन्छ । गाउँका वासिन्दाले सिकार नगर्ने हुनाले यस्ता जनावर गाउँघरमा नै चरन क्षेत्र बनाउने गरेको पाईएकोछ । अन्य छिमेकी गाउँलेले यहाँको वन्य जन्तुलाई चोरी शिकार गर्ने भएकोले केही संख्या घटेकोमा स्थानिय कोलोप्साङ्ग लामा चिन्तित हुनु हुन्छ ।
दुर्लभ छ्याम नृत्य प्रदर्शन गरिँदै
आगामी दिनमा चोरी शिकारी गर्नेलाई गाउँले सबै मिलेर कानुनी कठघरामा उभ्याँउनको लागि तयार रहेको उहाँको भनाई रहेको छ । सुन्दर हिमाली भूगोलको क्यान्भासको नमूनाको रुपमा लिमी उपत्यका रहेको छ । करिब ११ सय वर्ष अगाडी देखी यो बस्ती लुकेको सुन्दर हिमाल भित्रको स्थान हो । परम्परागत धार्मिक वास्तुशास्त्रको अध्ययनको लागि पनि यो गाउँ प्रसिद्ध रहेको छ । अरबौं सम्पतीको गर गहना जो हुम्ला जिल्लाबाट हाल लोप भईसकेको अवस्था छ त्यसको संरक्षण यो गाउँले गरिरहेको छ । सोही अवस्थालाई मध्य नजर गर्दै नाम्खा गाउँपालिकाको अग्रसरतामा यस्ता अमूल्य सम्पतीको संरक्षणको लागि यो वर्ष देखी महोत्सवको रुपमा मनाएर यसलाई प्रचार प्रसार र संरक्षणमा लागेको प्रमूख प्रशासकिय अधिकृत बम बहादुर सुनारले जानकारी गराउनु भयो । आगामी दिनमा अझ विस्तृत योजनाको साथमा गाउँपालिकालाई विकास गरिने लक्ष्य रहेको सुनारको भनाई रहेको छ । गाउँपालिकाको हरेक गाउँको सिरानमा रहेका ताल तलैया, सुन्दर हिमाल र चरन क्षेत्र, जडिबुटी र दुर्लभ वन्य जन्तु तथा चराचुरुङ्गी संरक्षणमा गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष विष्णु लामाले जानकारी दिनु भयो । योजना बनाई चुस्त परिचालन गरेर पर्यटकको आकर्षणको केन्द्र विन्दु बनाईने गरी विकास गर्ने लक्ष्य रहेको लामाको भनाई रहेको छ । यो गाउँपालिका हुम्लाको आफैमा नमूना र पर्यटकको आकर्षक ठाउँ भएको भएता पनि अझ यसलाई व्यवस्थित बनाउनको लागि गुरुयोजना बनाई लाग्ने लामाले बताउनु भयो ।
महिलाको पौराणिक पहिरनमा लिमीवासी ।
कसरी पुग्ने लिमी ?
नेपालगञ्ज र सुर्खेतबाट हवाईजहाजबाट सदरमुकाम सिमिकोटको लागि हवाई उडानको भर पर्नु पर्ने हुन्छ । सिमिकोट देखी उत्तरतिर करिब ३ दिन नेपालीको लागि भने विदेशीका लागि ५ दिनको क्याम्प पार गरेर नाम्खाको वडा नं. २ मा रहेको सल्ली खोला हुँदै जान सकिन्छ भने चिन सिमानामा रहेको हिल्साबाट तिल गाउँबाट पनि जान सकिन्छ । हिल्सा क्षेत्रबाट जानको लागि मुचुबाट गाडिको यात्रा गर्न सकिन्छ भने सल्लीबाट जानको लागि पनि रिजर्व गाडी लिन सकिन्छ तर प्राकृतिक सुन्दरता नियाल्नेका लागि पैदल नै उत्तम मानिन्छ । बाटोमा भेटिने खोलानालामा पुलको यथोचित बन्दोबस्त नभएको कारण गाडीको यात्रा त्यती राम्रो मानिदैन । पैदल यात्रामा त्यहाँको वन्यजन्तु, पशुपंछी र जडिबुटी अनि प्राकृतिक सुन्दरता नियाल्नको लागि राम्रो मानिन्छ । लगभग १५ देखी २० दिनको समय राखेर लिमी उपत्यका घुम्नको लागि राम्रो मानिन्छ । लिमी पुग्नको लागि पैदल यात्रामा खान र बस्नको लागि बन्दोवस्तीको सामान स्थानिय भरियाको सहारा लिनु पर्ने हुन्छ । ठाउँ ठाउँमा सल्ली खोला सम्म होटेल भएको भएता पनि सल्ली भन्दा माथि चढ्नको लागि खान र बस्नको आफै प्रवन्ध गर्दा राम्रो हुने मानिएको छ । बस्ती नभएको कारण लिमी सम्म पुग्नको लागि कठिन भूगोलका कारण बेलैमा लिमी पुग्न नसकिने भएकोले एक बासको लागि खाना र बस्नको लागि व्यवस्था गरिँदा राम्रो हुने मानिएको छ ।
कुन महिनामा घुम्ने ?
लिमी उपत्यकामा हिउँदमा अत्याधिक हिउँ पर्ने र वर्षा याममा अत्याधिक वर्षा हुने भएकोले यहाँ घुम्नको लागि मौसमको अति नै ध्यान पुर्याउनु पर्ने हुन्छ । हिउँदमा धेरै जाडो हुने हुनाले स्थानिय बाहेक पर्यटकले घुम्न त्यति राम्रो मानिँदैन । वर्षा याममा हुस्सु र कुहिरोले टाढा सम्मको रमणिय दृश्य राम्रो नदेखिने हुनाले पनि त्यति उपयुक्त मानिदैन । भाद्र महिनाको १५ देखी कार्तिकको पहिलो हप्ता यहाँ घुम्नको लागि उपयुक्त समय हो । यो बेलामा हुस्सु पनि नलाग्ने र वर्षा पनि कम हुने हुनाले दृश्यावलोकनको लागि राम्रो मानिन्छ । जाडो पनि त्यति नबढ्ने हुनाले यहाँ घुम्न राम्रो समय मानिन्छ । विशेष गरी वन्यजन्तु पनि आँखा अगाडै नै देख्नको लागि उपयुक्त समय हो । प्राकृतिक सुन्दरता र उत्तरमा रहेका हिमताल, नदिनाला, जंगली वन्यजन्तुको आवास, आहार विहारको सुन्दरता राम्रैसँग हेर्न सकिन्छ । चिनको कैलाश मानसरोवर लिमीको लाप्चाबाट दृश्यवलोकन गर्नको लागि पनि यो मौसम उपयुक्त छ । संस्कृती र चालचलन हेर्नको लागि भने पर्यटकले अन्य समयमा पनि जान सक्छन् भने विशेष गरेर प्राकृतिक सुन्दरता र वन्य जन्तु अवलोकनको लागि भने भाद्र देखी कार्तिक पहिलो हप्ताको समय अति नै उपयुक्त रहेकोछ । लिमी उपत्यका जानको लागि विदेशीले भने नेपाली दुतवासबाट अनुमति लिन आवश्यक हुन्छ भने नेपाली पर्यटकले भने स्वतः भ्रमण गर्न सक्दछन् ।
लिमी उपत्यकाको हल्जी गाउँको दृश्य ।
खर्च र वन्दोवस्ती ?
जिल्ला भित्रका पर्यटकलाई पनि यहाँ पुग्न राम्रै खर्चको व्यवस्था मिलाउन आवश्यक हुन्छ । जिल्ला बाहिर र विदेशी पर्यटकका लागि भने अझ यो बढ्ने गर्दछ । जिल्ला भित्रिनको लागि भने हवाई यातायातको साधन प्रयोग गर्नु पर्दा अझ खर्च बढी नै लाग्ने गर्दछ । विदेशी पर्यटकले हवाई कम्पनीको लागि भाडा डलरमा तिर्नु पर्ने हुन्छ भने नेपालीले भने हाल १३ हजार १ सय ७० भाडा तिरेमा हुम्लाको सिमिकोट पुग्न सकिन्छ । लिमी जानको लागि बाटोको होटेलमा प्रति छाक नेपाली रुपैयाँ २ सयमा खाना र बस्नको सुविधा पाउने गर्दछन् भने होटेल नभएको ठाउँमा भने आफै बन्दोवस्त गर्नु पर्ने अवस्था छ । स्थानिय भरियाले प्रति दिन १ हजार ५ सयका दरले लिमी जाने गरेका छन् । भरिया आवश्यक भएमा सिमिकोटबाट नै बन्दोवस्त गर्नु पर्ने अवस्था छ । सिमिकोटमा भने राम्रै सुविधायुक्त होटेलमा बास बस्न पाईन्छ । विदेशी पर्यटकले भने हरेक क्याम्पमा क्याम्पिङ्गको व्यवस्था रहेको छ भने स्थानिय सरकारले लगाएको कर तिर्न आवश्यक हुन्छ । स्थानिय पर्यटकले प्रति व्यक्ति ३० हजार भन्दा माथिको खर्चमा भ्रमण गर्न सक्छन् भने जिल्ला बाहिरका यात्रीको लागि भने ६० देखी १ लाख सम्म खर्चको जोहो गर्नु पर्ने अवस्था छ । लिमी उपत्यका पुगे पछि खर्च भन्दा पनि त्यहाँको दृश्यावलोकनले यो खर्च कमै मान्ने गरिन्छ ।
तापक्रम र अन्य बन्दोबस्तीको व्यवस्था ?
बाटोमा खासै जाडो नहुने भएको भएता पनि विहान बेलुका बाख्लो कपडाको सहायता आवश्यक हुन्छ । राती ओढ्नको लागि भने न्यानो कपडा आवश्यक हुन्छ । तापक्रम यो समयमा ११ डिग्री देखी १५ डिग्री सम्म रहने गर्दछ । दिउसो न्यानो हुने हुनाले सामान्य कपडा भए पुग्दछ । पानी परेको खण्डमा भने अत्याधिक चिसो हुने गर्दछ । आफुलाई आवश्यक पर्ने औषधी, नियमित उपयोग गर्ने औषधी भने गजेडा बोक्नु पर्ने हुन्छ । लेक लाग्ने पर्यटकले भने केही ख्याल पुर्याउनु पर्ने हुन्छ । ४ हजार भन्दा बढीको उचाईमा भएको कारण यात्रुलाई लेक लाग्ने सम्भावना बढी नै हुन्छ भने स्थानिय अर्गानिक खानाको स्वादमा रमाउन चाहनेको लागि यो ठाउँ अति नै उत्तम मानिएको छ ।
११ औं शताब्दीको हल्जी गोम्बा ।
कुन कुन चिज हेर्न छुटाउनु हुन्न ?
लिमी उपत्यकामा प्राचिनकालका बहुमुल्य मुर्ति भएका गुम्बा नै गुम्बाको उपत्यका हो । खरबौं महँगा मुर्ति, पौराणिक वास्तुकला यहाँको मुख्य विशेषता हो । पुराना गरगहना, यहाँको गुम्बामा कुँदिएका पौराणिक कलाकृती लगायतका वस्तु अति नै लोभ लाग्दा छन् । लवाई खवाई, रहनसहन र प्राकृतिक दृश्यावलोकन अति नै सुन्दर छ । त्यहाँको वासिन्दाले लगाउने कपडा, गरगहना अति नै पौणाणिक र वैज्ञानिक रहेको छ । जसलाई नछुटाएर हेर्न लायकको छ । एउटै व्यक्तिले लगाउने कपडा २ करोड बराबरको मुल्य अहिले रहेको छ । हिरा, सुन र चाँदीको मिश्रणले यस्ता कपडाको मुल्य बढाएको छ । वन्यजन्तुको आवास र प्रत्यक्ष अवलोकन हेर्न लायकको छ । वन्यजन्तु विशेष गरेर नाउर, मृग लगायतका हेर्नको लागि विशेष गरी विहान सूर्योदयको बेला अति नै उपयुक्त समय हो । वन्यजन्तु पानी पिउनको लागि र चरनको लागि त्यस बखत मानवबस्ती र खोला नाला नजिक आएका हुन्छन् ।
परम्परागत चौंरीपालन र त्यसमा प्रयोग हुने सामाग्री, कृषि जन्य वस्तुको उत्पादन र त्यसको उपभोगको अवस्थाको बारेमा छुटाउन नमिल्ने भित्र पर्ने गर्दछन् । ११ औं शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका साना ठुला गुम्बा अर्का आकर्षणको केन्द्र विन्दु हुन् । हुम्ला मात्र नभएर कर्णाली प्रदेशका धनी गुम्बाको रुपमा हल्जी गुम्बालाई चिनिएको छ । हरेक वर्ष यहाँको प्राकृतिक सुन्दरता र वस्तुस्थितीको बारेमा भिडियो डकुमेन्ट्री बन्ने गरेका छन् । फिल्म र म्युजिक भिडियोमा राख्न लायकको सुन्दर बस्ती र प्राकृतिक सुन्दरताको कुनै बयानै गर्न नसकिने अवस्था रहेको छ । जान गाह्रो तर फर्कनको लागि पर्यटकले नमान्ने अवस्थाको सुन्दरता पाउन सकिन्छ । पृथ्वी नारायण शाहको पालामा बनेका वि.सं. १९४५ सालमा निर्मित माना पाथी, ढक तराजु लगायतका सामाग्री अझै संरक्षणमा रहेका छन् । स्थानिय स्तरमा नापतौलमा प्रयोग हुने सामाग्री, पुजाआजा र अन्य बन्दोबस्तीमा प्रयोग हुने पुराना सामाग्री यहाँ हेर्न नबिर्सने सामाग्रीहरु हुन् । पुराना करोडौं मुल्यको कोईचिनको बख्खु अर्को विशेषता हो । यो बख्खु (महिला र पुरुषको वस्त्र) हाल संरक्षणका लागि मात्र राखेको पाईएको छ ।
माथिको तश्विरहरुमा: हुम्लाको लिमीको वस्तुस्थिती झल्कने तस्विरहरु: तश्विर: रेशमराज रोकाया