मानिस किन भावनामा डुबेर रुन्छ ?
यस्तो छ आँसु र रुवाइ पछाडिको रोचक विज्ञान

हामी कहिले रुन्छौँ ? जब उदास हुन्छौँ, रिसाउँछौँ वा धेरै खुसी हुन्छौँ।

तर के तपाईंलाई थाहा छ, मानिसको आँखाबाट मात्र यस्ता आँसु आउँछन्, जुन भावनासँग जोडिएका हुन्छन्।
धेरै जनावरहरू रुँदा आवाज निकाल्छन् र कुनै तनाव वा समस्याको संकेत दिन्छन्। तर उनीहरूको दिमागमा यस्तो प्रणाली हुँदैन, जसले भावनासँग जोडिएको आँसु निकाल्न सकोस्।
- आँसु आउनुको कारण के हो?
स्विट्जरल्यान्डको इन्स्टिच्युट अफ ह्युमन बायोलोजीकी पोस्टडक्टोरल फेलो डाक्टर म्यारी ब्यानियर हेलाउएट भन्छिन्, ‘आँसु पाँचवटा तत्वहरू मिलेर बनेको हुन्छ- म्युकस, इलेक्ट्रोलाइट्स, पानी, प्रोटिन र लिपिड।’
अनि आँसु तीन प्रकारका हुन्छन्। उनी भन्छिन्, ‘बेसल टियर ती आँसु हुन्, जुन हाम्रो आँखाको तल्लो सतहमा सधैँ रहन्छन्। यसले आँखालाई रसिलो बनाइराख्छ।’
रिफ्लेक्स टियर्स तब आफैँ बग्न थाल्छन्, जब कुनै किरा वा धुलोको कण हाम्रो आँखामा पस्छ। आँखाको कर्नियामा रहेका स्नायु कोशिकाहरूले यसलाई महसुस गर्छन्। यिनीहरूको तहले हाम्रो आँखालाई धुलो-माटोबाट सुरक्षित राख्ने काम गर्छ।
ब्यानियर हेलाउएटका अनुसार, ‘पूरै शरीरको तुलनामा कर्नियामा सबैभन्दा धेरै स्नायु कोशिकाहरू पाइन्छन्। यी कोशिकाहरूले तापक्रम, मेकानिकल तनाव र सुख्खापन महसुस गर्न सक्छन्।’
स्नायु कोशिकाहरूबाट सन्देश जहाँसम्म पुग्छ, त्यसलाई ल्याक्रिमल न्युक्लियस भनिन्छ। यसले आँसुलाई नियन्त्रण गर्ने काम गर्छ।
- भावनाका कारण निस्कने आँसु
तेस्रो प्रकारको आँसु त्यो हो, जुन भावनाका कारण निस्कन्छ र यहाँ आएर नै कुराहरू सबैभन्दा बढी जटिल बन्छन्।
हाम्रो दिमागको भावनालाई प्रशोधन गर्ने भागहरूले पनि ल्याक्रिमल न्युक्लियससँग संवाद गर्छन्। तर यिनीहरूको प्रक्रिया धेरै जटिल हुन्छ।
नेदरल्यान्ड्सको टिलबर्ग युनिभर्सिटीका मनोविज्ञान विभागका अवकाशप्राप्त प्रोफेसर एड विङ्गरहोएट्सका अनुसार, ‘रुवाइले कुनै एउटा भावनालाई भन्दा पनि भावनाहरूको अधिकतालाई व्यक्त गर्छ।’
उनी भन्छन्, ‘भावनाहरू विरलै मात्र स्पष्ट रूपमा थाहा हुन्छन्। यी तीव्र रूपमा परिवर्तन हुन्छन् र धेरै भावनाहरू एकैपटक जम्मा पनि हुन्छन्। उमेर बढ्दै जाँदा हाम्रो भावनात्मक रूपमा रुने कारणहरू पनि बदलिन्छन्। शारीरिक दुखाइ बालबालिकाहरू रुनुको मुख्य कारण हो। तर वयस्क र वृद्धवृद्धाहरूमा यस्तो कमै हुन्छ।’
उनी बताउँछन् कि उमेर बढ्दै जाँदा रुवाइ समानुभूतिसँग जोडिन पुग्छ, हामी आफ्नो पीडामा मात्र रुँदैनौँ, अरूको दुखाइले पनि हामीलाई रुन बाध्य बनाउँछ।
विङ्गरहोएट्सका अनुसार सकारात्मक भावनाहरू, जस्तै- प्रकृतिको सुन्दरताबाट उत्पन्न हुने भावनाहरूले पनि हाम्रो आँखामा आँसु ल्याउन सक्छन्।
- के रोएपछि राहत मिल्छ ?
धेरै मानिसहरू रोएपछि आफूलाई हल्का वा राहत महसुस भएको बताउँछन्। तर के साँच्चै यस्तो हुन्छ त भन्ने विषयमा बहस जारी छ।
अमेरिकाको पिट्सबर्ग युनिभर्सिटीकी एसोसिएट प्रोफेसर लरेन बाइल्स्मा मुटुको चाललाई निगरानी गरेर रुँदा हामीले साँच्चै राम्रो महसुस गर्छौं कि गर्दैनौँ भनेर पत्ता लगाउने कोसिस गरिरहेकी छन्।
इलेक्ट्रोकार्डियोग्रामले हाम्रो मुटुको चाललाई रेकर्ड गर्छ, जसले हाम्रो स्नायु प्रणाली कसरी काम गरिरहेको छ भन्ने बुझ्न मद्दत गर्छ।
उनको प्रारम्भिक नतिजाहरूले के देखाउँछ भने, रुनुभन्दा ठीक अघि हाम्रो सिम्प्याथेटिक नर्भस सिस्टममा प्रतिक्रिया दिन जिम्मेवार हुने गतिविधि आफ्नो उच्च विन्दुमा पुग्छ।
उनी भन्छिन्, ‘जब रुन सुरु हुन्छ, तब पारासिम्प्याथेटिक गतिविधिमा वृद्धि भएको देखिन्छ। यो हाम्रो स्नायु प्रणालीको त्यो हाँगा हो जसले हामीलाई शान्त हुन र आराम गर्न मद्दत गर्छ।’
तर विङ्गरहोएट्सका अनुसार रुँदा सधैँ राम्रो महसुस हुँदैन, विशेषगरी जब हामी डिप्रेसन वा तनावमा हुन्छौँ। उनी भन्छन्, ‘यो कुरा हामी कुन विषयमा रोइरहेका छौँ भन्नेमा पनि भर पर्छ। हामी सामान्यतया ती परिस्थितिहरूमा रुँदा राम्रो महसुस गर्छौं, जसमाथि हाम्रो नियन्त्रण हुन्छ। तर ती परिस्थितिहरूमा होइन, जसमा हाम्रो कुनै नियन्त्रण हुँदैन।’
हाम्रो वरपरका मानिसहरूले पनि यसमा फरक पार्छन्। उनी भन्छन्, ‘यदि उनीहरूले समझदारीका साथ प्रतिक्रिया दिन्छन् र हामीलाई समर्थन (सपोर्ट) गर्छन् भने हामी राम्रो महसुस गर्छौं। तर यदि उनीहरूलाई रिस उठ्छ वा उनीहरूले लज्जित महसुस गर्छन् भने कुनै राहत मिल्दैन।’
- सामाजिक संकेत
तर रुवाइले अरूको हामीप्रतिको व्यवहार कसरी तय गर्छ भन्ने कुराको प्रमाणहरू पनि छन्।
इजरायलको एउटा प्रयोगशालामा गरिएको अध्ययनमा के पाइयो भने, जुन पुरुषहरूले महिलाहरूको भावनात्मक आँसु सुँघेका थिए, उनीहरू नुनपानीको घोल सुँघ्ने पुरुषहरूको तुलनामा परीक्षणको क्रममा कम आक्रामक थिए।
अनुसन्धानकर्ताहरू यस कुरामा सहमत छन् कि आँसुले एक सामाजिक संकेतको रूपमा काम गर्छ, जसबाट हामीलाई मद्दतको आवश्यकता छ भन्ने थाहा हुन्छ। यसले अरूलाई मद्दत गर्ने इच्छा पनि बढाउँछ।
जब रुँदै गरेका शिशुहरूको कुरा आउँछ, तब शिशुको रुवाइले वयस्कहरूको दिमागको केही भागहरूलाई सक्रिय बनाउँछ भन्ने प्रमाणहरू भेटिएका छन्। यसले हेरचाह गर्ने जस्ता गतिविधिहरू सुरु गर्न मद्दत गर्छ।
विङ्गरहोएट्सको विश्वास छ, मानिसमा आँसुको विकास सायद यसकारण भयो होला किनभने हाम्रो बाल्यकाल धेरै लामो हुन्छ, जसमा हामी आफ्ना आमाबुबामा निर्भर रहन्छौँ।
उनका अनुसार एउटा मान्यता यो पनि छ कि बच्चाहरूको आँसुले वयस्कहरूमा आक्रामकता (एग्रेसन) कम गर्न मद्दत गर्छ। किनभने ठूलो स्वरले रुनु धेरै पीडादायी हुन्छ र यसले हामीलाई आक्रामक बनाउन सक्छ। उनी भन्छन्, ‘यसले शिशुको लागि एक प्रकारले आत्मरक्षाको रूपमा काम गर्छ।’
- कोही मानिसहरू धेरै किन रुन्छन् ?
बाइल्स्माका अनुसार, पुरुषहरू औसतमा महिनामा शून्यदेखि एक पटक रुन्छन्, जबकि महिलाहरू चारदेखि पाँच पटकसम्म रुन्छन्। यद्यपि, यो कुरा पूर्ण रूपमा सही नभएको पनि उनी बताउँछिन्।
उनी भन्छिन्, ‘महिलाहरू सामान्यतया भावनात्मक रूपमा बढी प्रतिक्रियाशील हुन्छन्। यसमा स्नायुसम्बन्धी भिन्नता, हार्मोनल भिन्नता, र व्यक्तित्वसम्बन्धी भिन्नताहरू हुन सक्छन्।’
बाइल्स्मा भन्छिन् कि महिनावारीको समयमा हुने हार्मोनल परिवर्तनले हाम्रो रुवाइलाई प्रभावित गर्छ भन्ने कुराको हालसम्म कुनै ठोस प्रमाण छैन।
तर हार्मोनले यसमा भूमिका खेल्छ भन्नेमा उनको शंका छ । किनभने पुरुष र महिलाहरूको शारीरिक संरचनामा भिन्नता हुन्छ र गर्भावस्था र बढ्दो उमेर जस्ता कुराहरूको पनि यसमा योगदान हुन्छ।
उनले आफ्नो अनुसन्धानमा पाएकी छन् कि रुवाइ न्युरोटिक (अस्थिर स्वभाव) वा एक्स्ट्रोभर्ट (बहिर्मुखी) व्यक्तित्वसँग पनि जोडिएको हुन्छ। उनी भन्छिन्, ‘न्युरोटिक स्वभाव डिप्रेसन र एन्जाइटी) सँग सम्बन्धित छ, त्यसैले सायद यही कारण हो कि हामीले यो सम्बन्ध देख्छौँ।’
‘हामीले यो पनि पायौँ कि जुन मानिसहरूमा समानुभूति बढी हुन्छ, उनीहरूमा रुने सम्भावना बढी हुन्छ। सायद यसकारण कि उनीहरू अरूलाई कठिनाइको सामना गरिरहेको देखेर प्रतिक्रिया स्वरूप रुन्छन्,’ उनी थप्छिन्।
अन्ततः रुवाइ सामाजिक रूपमा जोडिने एउटा माध्यम जस्तो देखिन्छ।
विङ्गरहोएट्स भन्छन्, ‘यस्तो लाग्छ कि रुवाइले एक प्रकारले विस्मयादिबोधक चिह्न (!) को काम गर्छ। यसले तपाईंलाई यो महसुस गराउन सक्छ : ठीक छ, यो धेरै महत्त्वपूर्ण कुरा हो।’



