हिउँ नपर्दा विकास निर्माणको काममा तिब्रता

रेशमराज रोकाया
हुम्ला, २०८०, माघ, १५
हिउँदको महिना पौष देखी फाल्गुण सम्म हिमपात हुने हुम्लाका अधिकाँश बस्तीमा विकास निर्माणका काम हिमपातले रोकिने भएको भएता पनि यस वर्ष हुम्लामा हिमपात नहुँदा विकास निर्माणका काम रोकिएका छैनन् । हिउँदको माईनसको तापक्रम भएको भएता पनि दिउसोको समयमा विभिन्न आयोजनाका काम धमाधम भईरहेका छन् ।
सँधै हुम्लामा जाडो महिनामा चिसोको कारण देखाउँदै निर्माण बन्द हुने हिल्सा–सिमकोट सडक आयोजनाको निर्माण यस वर्ष भने जारी छ । हिमपात नहुनु र सडक निर्माणको जिम्मा पाएका निर्माण कम्पनीले सम्झौतामा उल्लेख भएको मितिभन्दा अगाडि नै निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ कामलाई तीव्रता दिइरहेका हुन् । नाम्खा गाउँपालिकाको याल्वाङ गौडा अगाडिबाट हिलिङ लेकसम्मको नौ दशमलव चार किलोमिटर सडक निर्माण जिम्मा लिएको कुशेश्वर एच.के.एम्. जनजागृत जेभीका स्थानीय प्रतिनिधि सरोज रावतले काठमाडौंबाट केरुङ नाका हुँदै तिब्बती मार्ग भएर हिल्साबाट निर्माणस्थलमा मेसिन आइपुगेपछि काम जारी रहेको बताए । निर्धारित मितिमै सम्पन्न गर्न पनि कामलाई तीव्रता दिने गरिएको बताए रावतले बताए । हिमपात नभएका कारण पनि काम गर्न सहज भएको हो । हिमपात भए पनि केही दिन काममा अवरोध हुने र कामलाई निरन्तरता दिने सोच बनाएको रावतले बताए ।

निर्माणाधिन हिल्सा सिमकोट खण्डको सडक १० मिटर चौडा निर्माण गरिनेछ । हाल याल्वाङ भीरबाट निर्माण सुरु गरेर सो क्षेत्रकै भालु खोलामा चट्टानी भीर फुटाउने कार्य भइरहेको छ । अर्को मेसिन समेत ल्याउने तयारीमा निर्माण कम्पनी लागेको छ । सडक सञ्जाल नजोडिएको कारण दोस्रो मेसिन पनि कम्पनीले केरुङ नाकाबाटै ल्याउनुपर्नेछ । ०७९ साल चैत ३० गते सम्झौता भएर निर्माण भइरहेको उक्त योजना ०८२ साल असार मसान्तसम्म सम्पन्न गर्नु पर्नेछ । भ्याटसहित १७ करोड ९८ लाख लागत लाग्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको हो ।
हिल्सा–सिमकोट सडक आयोजनाको अर्धवार्षिक प्रगति ३९ प्रतिशत मात्रै
केही सडक खण्डले काम सुचारु गरेको भएता पनि समग्र हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने काम पाएको हिल्सा सिमकोट सडक आयोजनाले आर्थिक वर्ष सुरु भएको ६ महिनामा ३९ प्रतिशत प्रगति हासिल गरेको पाइएको छ । आयोजनाले सडक स्तरोन्नति, पुल र कल्वर्ड निर्माण गरेर उक्त प्रगति हासिल गरेको हो । आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले चालु वर्षमा आयोजनाको हालसम्मको प्रगति ३९ प्रतिशत रहेको बताए ।
आयोजनाले गत वर्षभन्दा यस वर्ष प्रगति विवरणमा भने वृद्धि गरेको छ । गत वर्ष यही समयमा २० प्रतिशत मात्र प्रगति थियो । समयमा ठेक्का लाग्नु, हिमपात नहुनु, निर्माण व्यवसायीले पनि कामलाई तीव्रता दिएको कारण यो प्रगति हासिल भएको हो ।
जति प्रगति हुनुपर्ने थियो त्यो भने हुन नसकेको भन्दै अब कामलाई तीव्रता दिइने नेपालीले बताए । हिल्सा–सिमकोट सडक आयोजनाका हाल १५ वटा योजना सञ्चालनमा रहेको बताए । सबै योजना बहुवर्षीय रहेका छन् । योजनालाई सात वटा प्याकेज सिमकोटबाट उत्तरतर्फ हिल्सासम्म छन् भने आठ वडा प्याकेज सिमकोटबाट दक्षिण सलीसल्लासम्म रहेका छन् । प्याकेज योजनामा पाँच वटा पक्की पुल, तीन वटा कल्र्वट, एउटा नयाँ सडक निर्माण र ६ वटा सडकको स्तरोन्नती गरिएको छ । नाम्खा गाउँपालिका– ५ को नारा क्षेत्रको सडक स्तरोन्नति गर्नेबाहेक अन्य सबैमा हाल काम सञ्ञ्चालन भइरहेको छ । यसका लागि चालु वर्षमा ३० करोड ५० हजार बजेट विनियोजित भएको छ । विनियोजित बजेट अपुग हुने देखिएपछि सडक विभागसँग माग गरिसकिएको बताए ।
सडक अनिश्चितकालिन बन्द
हिल्सा–सिमकोट सडक आयोजनाले उक्त खण्डको च्याछरामा सडक निर्माण तीव्र पारेका कारण यातायात सेवा अवरुद्ध भएको हो । सडक निर्माण कार्य तीव्र पारिएकाले कामलाई अवरोध सिर्जना नहोस् भन्नका लागि यातायात सेवा बन्द गरिएको हो । निर्माण कार्य भईरहेको क्षेत्रमा वैकल्पिक सडक निर्माणका लागि अन्य विकल्पसमेत नभएकाले सडक बन्द गर्नुको अन्य उपाय आयोजनासँग नभएको सडक बन्द भएको हो । चारैतिर चट्टाने भिर भएको कारण वैकल्पिक सडक निर्माण गर्न सम्भव नहुँदा सडक अनिश्चितकालका लागि बन्द भएको हो ।
सडक बन्द भएपछि यातायातका साधन ठप्प भएका छन् । ओसिस इन्जिनीयरिङ एण्ड बिल्डर्सले च्याछरामा पचास जना कामदार लगाएर ग्याविन भर्ने कार्य भइरहेको र मेसिनबाट पनि काम जारी रहेको जनाएको छ । सडक बन्दा भए पछि हुम्लाको उत्तरी गाउँपालिका नाम्खा सदरमुकाम सिमकोटसँग सम्पर्क विच्छेद भएको छ । सडक अवरुद्ध हुँदा स्थानिय, विभिन्न कार्यलयमा का मगर्ने कर्मचारी, मालसामान ढुवानी, प्रवेशिका परीक्षाको तयारी कक्षा लिन आउने विद्यार्थी लगायत बढी मर्कामा परेका छन् ।



