समस्या नै समस्या झेलेर बसोबास गर्दै लिमीवासी
हुम्लाको उत्तरी चीन सिमामा रहेको बस्ती नाम्खा गाउँपालिकाका वासिन्दाले सरकारले मात्र नभएर यहाँको प्रकृती र भुगोलले ठगेको महशुस गर्ने गरेका छन् । विकट र तिब्बती टेक्टोनिक प्लेटको पठार र टाढाको बस्ती भएको हुनाले सरकारको पहुँच नपुग्ने मात्रै होईन पाईएको सुविधा पनि उच्च हिमपात र वर्षाको कारण समस्या भोग्नु परेको कारण यहाँका वासिन्दा पिडित हुने गरेका छन् ।
राज्यले बनाईदिएको कच्ची सडकलाई हिउँदको महिना हिउँले छोप्ने र वर्षा याममा खोला ठूलो बढेर गाडी नै नतर्ने अवस्थाको कारण यहाँको वासिन्दा हिउँद र वर्षा याम दुवै मौसममा सुविधा लिन पाएका छैनन् । गाउँका वासिन्दा सडक सुविधा लिनको लागि गाउँ भन्दा करिब ३ घण्टा टाढाको तुग्लिङ्ग खोलामा पुल नहुँदा ४ महिना मात्र पहुँच हुने सडकमा साना बोलेरो जिप र अन्य सवारी साधन पार नहुन सक्नु दुर्भाग्य रहेको छ । नदीको बहाब बढे पछि सामान ओसार पसार गर्नको लागि मात्र नभएर यहाँका वासिन्दालाई आवत जावत गर्नमा समेत समस्या हुँदै आएको छ । नदीको बहावले विगतका वर्षका दशौं संख्यामा वासिन्दालाई बगाएको स्मरण गर्दै लिमीका सोना तामाङ्ग दुःख व्यक्त गर्दछन् ।
यहाँ रहेको तुग्लिङ्ग खोलामा मोटरेबल पुलको आवश्यकता रहेको राज्यका विभिन्न निकायमा गुनासो गरेको भएता पनि कुनै पनि निकायले यसको उचित सम्बोधन गर्न नसकेको स्थानियको भनाई रहेको छ । मोटरेबल पुल नहुँदा यहाँका स्थानियले मात्रै होईन आन्तरिक तथा बाह्य पर्यटकले समेत शास्त ीभोग्दै आईरहेका छन् । कैलाश मानसरोवर लिमकिो लाप्चाबाट दर्शन गर्न आउने भारतिय लगायत अन्य देशका पर्यटकलाई आवत जावत गर्नको लागि समस्या हुने गरेको छ । त्यसै गरी हुम्लाका आन्तरिक पर्यटकले पनि यहि मार्ग भएर कैलाश मानसरोवर दर्शन गर्नको लागि आउने गरेको र समस्या भोग्नु परेको नाम्खा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष पाल्जोर तामाङ्गले बताए ।
लिमी उपत्यका भ्रमण गर्ने र कैलाश मानसरोवर दर्शन गर्नको लागि साँघुरो बाटोमा बोलेरो जिपबाट मात्र सम्भव हुने गरेको भएता पनि पुल नहुँदा जिप नै तर्न नसक्ने अवस्था हुने गरेको वडाध्यक्ष तामाङ्गले बताए । यहाँका वासिन्दाको दैनिक उपभोग्य सामान र निर्माणका सामान सदरमुकाम सिमकोट र चीनको ताक्लाकोटबाट लाप्चा नाकाबाट ल्याउनु पर्ने भएकोले खोलामा सामान ओसारपसारमा समस्या हुने गरेको छ । यहाँको खेतबारीमा नाफल र आलु बाहेक केही पनि उत्पादन नहुने, त्यो उत्पादन १ देखी २ महिना मात्र उपभोगको लागि पुग्ने भएको कारण पनि दैनिक उपभोग्यका सामान सदरमुकाम सिमकोट र चीनको ताक्लाकोटबाट आयात गर्नु पर्ने बाध्यता यहाँको वासिन्दाको रहेको छ । हाल त्यहाँ रहेको झोलुङ्गे पुलबाट सामान ओसार्नु पर्ने भएकोले अझ सामानमा लगानी बढी गर्नु पर्ने अवस्था रहेको छ ।
समस्या नै समस्यासँग जुध्दै जीवनयापन यहाँका वासिन्दाले गर्नु परेको स्थानियको भनाई रहेको छ । पुलको समस्या मात्र नभएर उब्जनी कम हुनु, ४ देखी ५ महिना मात्र खेतीपातीको लागि प्रकृतीले दिनु अन्य महिना उच्च हिमपातको कारण जमिन हिउँले छोपीएर राज्यको विभिन्न निकायसँग सम्पर्क विच्छेदमा रहनु लिमीवासीको लागि तितो अनुभव रहेको लिमीका स्थानियले बताए ।
टेलिफोन घामको भरमा
नेपाल टेलिकमको एक मात्र फोर जि रिपिटर टावर २ वर्ष अघि देखी सञ्चालनमा रहेको भएता पनि यहाँको मोबाईल टावर घामको भरमा चल्ने गरेको छ । सोलार पावरबाट यहाँको टावर काम गर्ने भएकोले घाम राम्रोसँग नलाग्ने दिन सम्पर्कभन्दा बाहिर यहाँका वासिन्दा रहने गरेका छन् । अब हिउँदको महिना आयो झन घाम कम लाग्ने दिन, छोटो दिन सुरु भयो, आफन्त लगायत अन्य कामको लागि फोन सम्पर्कमा समस्या आउने यहाँको वासिन्दाको अनुभव छ । ‘केही जरुरी काम पर्यो भने, विरामी भईयो भने खबर गर्नको लागि कुनै पनि उपाय छैन’ वडाध्यक्ष पाल्जोर तामाङ्गले बताए ।
टेलिफोन सम्पर्क गर्नको लागि घाम नै कुर्नु पर्ने बाध्यता रहेको छ । लिमीको हल्जी, जाँङ, तिल गाउँलाई लक्षित गरेर जडान भएको नेपाल टेलिकमको टावर पानी परेपछि सौर्य ऊर्जाले काम नगर्ने हुँदा सो क्षेत्र सञ्चारविहीन हुने गरेको छ ।
लगातार वर्षा हुँदा तिल गाउँ नजिक डाँडोमा राखिएको नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि लिमीका जनताले सञ्चार सेवाका लागि सास्ती भोग्नु परेको वडाध्यक्ष तामाङको भनाइ छ । लिमेली जनताको दुःख पीडा सरकारले कहिल्यै नसुनेको यहाँको स्थानियले बताए । राज्यले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न आवश्यक रहेको छ । लिमी भौगोलिक दुरीले अति नै टाढा हुनु, यहाँको भुगोल पनि ठूलो हुनुले विकास निर्माणको लागि थप बजेटको आवश्यकता पर्ने गरेको छ ।


