२५ बैशाख २०८३, शुक्रबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
राष्ट्रिय खेलकुद मिति सरेको सर्‍यै - Himalaya Raibar
Banner Newsकर्णाली प्रदेशताजा समाचार

राष्ट्रिय खेलकुद मिति सरेको सर्‍यै

दसौँ राष्ट्रिय खेलकुदको निर्धारित मिति तीन पटक सर्‍यो तर फेरि कहिलेलाई तोकिने हो टुङ्गो छैन । अझ हुन्छ कि हुन्न भन्ने अन्योल पनि कायमै छ ।

नेपाली खेलकुदको सबभन्दा ठुलो प्रतियोगिता राष्ट्रिय खेलकुदमा व्यक्तिगत, समूहगत खेलका खेलाडी, प्रशिक्षक र खेलकर्मी यो महोत्सवमा समेटिन्छन् । देशभरिका खेलाडीको जमघट हुने भएकाले राष्ट्रिय खेलकुद नजिकिँदा नेपाल खेलकुदको उत्साह हेर्नलायक हुन्छ । २०३८ सालमा पहिलो पटक आयोजना भएको राष्ट्रिय खेलकुद प्रत्येक दुई वर्षमा आयोजना गर्ने प्रावधान रहेको छ । यस हिसाबले अहिलेसम्म राष्ट्रिय खेलकुदको २२ संस्करण हुनुपर्ने हो । यद्यपि निर्धारित समयमा कहिल्यै गर्न नसक्ने विद्यमान समस्याका कारण अहिले कर्णाली प्रदेशमा हुने भनिएको राष्ट्रिय खेलकुदको बल्ल १० औँ संस्करण हुँदै छ । त्यसको पनि मिति तय गर्न सकिएको छैन ।

२०७९ कात्तिक ३ गते पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदले दुई वर्षपछि कर्णालीमा भेट्ने वाचा गर्दै विश्राम लिएको थियो । त्यसबेला १० औँ राष्ट्रिय खेलकुदको मिति २०८१ मङ्सिर २ देखि ९ गतेसम्म तोकिएको थियो तर अहिलेसम्म १० औँ संस्करण हुन सकेको छैन । यसबिच तीन पटक मिति तय भएर पनि राष्ट्रिय खेलकुद सरेको सरैकै छ । पोखरामा तोकिएको मिति सुरुवातमै अलपत्र पर्‍यो । दोस्रो पटक तोकिएको चैत २३ देखि ३० गतेसम्म पनि नहुने भयो । त्यसपछि २०८२ जेठ ३ देखि १० गतेसम्म घरेलु खेलकुदको महाकुम्भ हुने भनी अर्को मिति तोकियो । त्यो पनि भएन । यसअघि मिति सर्दा अर्को मिति तोक्ने गरिन्थ्यो । अहिले नयाँ मिति पनि तोक्न सकिएको छैन ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले १० औँ राष्ट्रिय खेलकुद समयमै हुन नसक्नु दुर्भाग्य भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “राष्ट्रिय खेलकुद समयमै गर्नु पर्छ भनेर राम्रो तयारी भइसकेको थियो । लोगो र मस्कट पनि अनावरण भइसकेका थिए । विभिन्न उपसमिति गठन भइसकेका थिए । तयारीलाई तीव्रता दिन सुर्खेतको वीरेन्द्रनगरमा १० औँ राष्ट्रिय खेलकुदको मूल आयोजक समितिको सचिवालय पनि स्थापना भइसकेको थियो तर पनि हुन सकेन यो दुर्भाग्यपूर्ण हो ।”

सरकारले अन्तिम समयमा पूर्वाधार तयार नभएको, बजेट अभाव, छनोट चरण नसकिएको, मौसमको प्रतिकूलता, जेठ महिनामा सुर्खेतमा गर्मी हुने, खानेपानीको अभाव, विद्युत् आपूर्तिमा समस्या रहने, आवासको समस्या हुने, खेलाडी, प्रशिक्षक र निर्णायकको सङ्ख्या निर्धारित हुन नसकेकोलगायतका कारण देखाएर तेस्रो पटक राष्ट्रिय खेलकुदको मिति सारेको हो । राखेप सदस्यसचिवले राष्ट्रिय खेलकुद चाँडै गर्नुपर्ने तर अर्को मितिका बारेमा बैठक नभई भन्न नसक्ने बताउनुभयो ।

१० औँ राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै गत आर्थिक सत्रमा ६० करोड रुपियाँ विनियोजन गरिएको थियो । सरकारले यस पटक पनि राष्ट्रिय खेलकुदका लागि ५४ करोड रुपियाँ विनियोजन गरेको छ । यसै गरी १० औँ राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै सरकारले वीरेन्द्रनगर–८ मा प्रदेश सरकारको एक अर्ब ५९ करोड रुपियाँ लागतमा अत्याधुनिक रङ्गशाला निर्माण आयोजना अघि बढाएको थियो । जसको निर्माण कार्य करिब पूरा भइसकेको छ । कर्णालीमा अन्य भौतिक पूर्वाधार पनि निर्माण भएका छन् ।

यद्यपि विभिन्न बहाना देखाएर राष्ट्रिय खेलकुद नगरेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ असन्तुष्ट बन्नुभएको छ । “खेलकुदमा राजनीति गर्न हुँदैन भनिन्छ तर राजनीतिले नै यो परिस्थिति आएको छ भन्ने मेरो बुझाइ छ । लगातार राष्ट्रिय खेलकुद सरेपछि खेलाडीको मनस्थितिमा ठुलो असर परेको छ,” उहाँ भन्नुहुन्छ । अध्यक्ष श्रेष्ठ १० औँ राष्ट्रिय खेलकुदकै कारण राखेपको पछिल्ला चार बोर्ड बैठकमा पनि आमन्त्रितका रूपमा सहभागी हुनुभएको थियो ।

“राष्ट्रिय खेलकुद देशभरकै खेलाडीका लागि आफ्नो प्रतिभा, क्षमता र खुबी देखाउने ठुलो मञ्च हो । राष्ट्रिय खेलकुदबाट नयाँ खेलाडीको उदय भएको दृष्टान्त छ । पुराना खेलाडी आफ्नो छाप र गौरव अझ बढाउने अपेक्षामा हुन्छन् । त्यसैले लगातार राष्ट्रिय खेलकुदको मिति सर्दा खेलाडीको मनोबल गिर्दै जान्छ । पुराना खेलाडी त नेपाली खेलकुदको स्थितिदेखि निराश नै छन् । नयाँ खेलाडीले पनि खेलकुदमा लागेर के नै हुन्छ भन्ने धारणा बनाउन बेर छैन,” सागमा दोहोरो स्वर्णधारी दीपक भन्नुहुन्छ ।

अध्यक्ष श्रेष्ठले राष्ट्रिय खेलकुद, साग र एसियाली खेलकुदका लागि क्वालिटी र लयमा रहेका खेलाडी चयन गर्ने ठुलो अवसर हो भन्दै अब केही महिनामै राष्ट्रिय खेलकुदको नयाँ मिति तोकेर आयोजना पनि हुने अपेक्षा आफूले गरेको बताउनुभयो । जापानको आइची–नागोयामा हुने एसियाली खेलकुद हुन अब १६ महिना मात्र बाँकी छ । त्यसैले पनि राष्ट्रिय खेलकुद चाँडै गर्न अत्यावश्यक छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका कारण नभई सङ्घीय सरकारका कारण बारम्बार राष्ट्रिय खेलकुद स्थगित भइरहेको बताउनुभयो । यद्यपि अब यसै वर्षभित्र राष्ट्रिय खेलकुद हुने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ । “सङ्घीय सरकार र प्रदेश सरकारले राष्ट्रिय खेलकुदका लागि उत्तिकै महत्वका साथ बजेट छुट्याएका छन् । अहिले सबै बजेटको छलफलमै केन्द्रित छन् । अब यो कार्यान्वयन हुने क्रममा जान्छ । त्यसैले अब चाँडै मिति तोकिनेमा विश्वस्त छु र यस पटक राष्ट्रिय खेलकुद नहुनुपर्ने कुनै कारण देख्दिन ।”

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button