जेनजी आन्दोलनमा हराएका थुक्तेन एक महिनादेखि बेपत्ता

हुम्ला स्थायी घर भएका हाल काठमाडौँको तीनचुलीमा बस्दै आउनुभएका लामा अझै सम्पर्कमा नआएको परिवारले जनाएका छन् ।
२४ वर्षका लामा नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्ष अगाडिदेखि काठमाडौँको तीनचुलीमा भतिजोसँगै कोठा लिएर बस्दै आउनुभएको थियो तर आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको उहाँका बुवा टैछिरिङ लामाले बताउनुभयो । बुवा लामाका अनुसार भदौ २३ गतेको आन्दोलनमा सहभागी भएर थुक्तेन सकुशल कोठा फिर्ता हुनुभएको थियो ।
होटेलमा काम गर्ने लामा २४ गते बिहानी सिफ्टको काम सकाएर दिउँसो २ बजे कोठा आएर आन्दोलनमा निस्कनु भएको थियो । बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केको र त्यसपछि भने बेपत्ता हुनुभएको बुवाको भनाई छ ।
जेनजी आन्दोलनमा निस्केर बेपत्ता भएको छोराको खोजी गरिदिन बुवा लामाले आग्रह गर्नुभएको छ । उहाँले अब सास पाउने सम्भावना छैन लास भएपनि पाउन पाए हुने बताउनुभयो । उहाँका दुई छोरामध्ये बेपत्ता भएको कान्छा छोरा हुन् । बेपत्ता लामाका बारेमा जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौँ प्रहरीलाई पनि जानकारी गराइएको छ ।