२४ असार २०८३, बुधबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
कर्णाली दुर्घटना : दुईको मृत्यु पुष्टि, तीन अझै बेपत्ता - Himalaya Raibar
Banner Newsकर्णाली प्रदेशताजा समाचारदेशमुख्य समाचार

कर्णाली दुर्घटना : दुईको मृत्यु पुष्टि, तीन अझै बेपत्ता

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका –७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा भएको फोर्स गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

दुर्घटनामा बेपत्ता भएका कालिकोट पचालझरना गाउँपालिका –६ का मेखे तिरुवाको शव पाँच दिनपछि कैलालीमा फेला परेसँगै मृतकको संख्या दुई पुगेको हो । कैलालीको मोहन्याल गाउँपालिका –६ स्थित सोन्टा क्षेत्रमा कर्णाली नदीमा फेला परेको शव मेखे तिरुवाको भएको पुष्टि भएसँगै मृतकको संख्या दुई पुगेको छ ।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक मिरा खड्काले कर्णाली नदीमा फेला परेको शवलाई बर्दगोरिया अस्पतालको शव गृहमा राखेको बताउनुभयो । उहाँले शव गृहमा पुगेर मृतक मेखे तिरुवाका छोरा रवीन्द्र तिरुवाले शव आफ्ना पिता भएको  पुष्टि गरी  सनाखत गरेको बताउनुभयो ।

यसअघि पाचलझरना गाउँपालिका वडा ९ का जोखे तिरुवाको शव दुर्घटना भएको स्थानमै कणाली नदीको तिरमा फेला परेको थियो । उक्त शवलाई सनाखत तथा कानुनी प्रक्रिया पूरागरी शव आफन्तलाई बुझाइएको थियो । कालिकोट जिल्ला असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब पाँचसय मिटर तल कर्णाली नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा बेपत्ता चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी र यात्रु सिर्जना खड्काको खोजी कार्य अझै जारी रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुष्पराज रोकायाले १९ गते बिज्ञप्ति जारी गर्दै दुर्घटनास्थलमा भेटिएका मोवाइललगायत अन्य प्रमाणका आधारमा पाँच जना यात्रु रहेको भए पनि अन्य यात्रु भए नभएको एकिन हुन नसकेको उल्लेख गर्नुभएको थियो ।

घटनाको छैठौँ दिनसम्म दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीयवासीको संयुक्त टोलीले निरन्तर खोज तथा उद्धार कार्य गर्दैआएका छन् ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Back to top button