२४ असार २०८३, बुधबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
मेसीले भने- पेनाल्टी मिस गर्दा आफैसँग रिस उठ्यो - Himalaya Raibar
Banner Newsताजा समाचारमुख्य समाचार

मेसीले भने- पेनाल्टी मिस गर्दा आफैसँग रिस उठ्यो

फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ १६’ मा अर्जेन्टिना र इजिप्टबीचको खेल हुनुभन्दा केही दिन अघि इजिप्टका कप्तान मोहम्मद सलाहलाई सोधिएको थियो– ‘यस विश्वकपमा ‘लास्ट डान्स’ (अन्तिम प्रतिस्पर्धा) को लागि तपाईं कसलाई रोज्नुहुन्छ?’ सलाहले बिना कुनै हिचकिचाहट लिओनल मेसीको नाम लिएका थिए।

भाग्यले उनको इच्छा पुरा गरिदियो। विश्वकपको यस संस्करणको सबैभन्दा उत्कृष्ट खेलमध्ये एकमा यी दुई फुटबल लिजेन्डहरू आमनेसामने भए। खेल सुरु हुनुअघि मेसी र सलाहले एक-अर्कालाई अंकमाल गर्दा दुवैलाई थाहा थियो– यो खेल निकै विशेष र चुनौतीपूर्ण हुनेवाला छ। ३४ वर्षीय सलाह र ३९ वर्षीय मेस्सीका लागि यो खेलको हरेक पल निर्णायक थियो।

खेलको १५ औं मिनेटमै यासेर इब्राहिमले गोल गरेर इजिप्टलाई अग्रता दिलाएपछि सलाहको अनुहारमा मुस्कान देखियो। विश्वकप इतिहासकै ठूलो जितको सपना देखिरहेको इजिप्टको सामना साविक विजेता अर्जेन्टिनासँग थियो।

खेलको २१ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पायो। एटलान्टा स्टेडियममा उपस्थित हजारौँ दर्शक मेसीको गोल हेर्न आतुर थिए, तर इजिप्टका गोलकिपर मोस्ताफा शोबेरले मेस्सीको पेनाल्टी प्रहारलाई सानदार ढङ्गले बचाउ गरिदिए।

दोस्रो हाफमा अर्जेन्टिनाले गोलका लागि दबाब बढाइरहेका बेला सलाहको उत्कृष्ट काउन्टर अट्याकमा मोस्ताफा जिकोले गोल गर्दै इजिप्टलाई २-० को स्थितिमा पुर्‍याए। अर्जेन्टिनाका लागि यो निकै ठूलो धक्का थियो।

तर, अर्जेन्टिनाले हार मानेन। ७९ औं मिनेटमा क्रिस्टियन रोमेरोले मेसीको पासमा हेडमार्फत गोल गर्दै खेललाई २-१ मा झारे। त्यसको ४ मिनेटमै मेसीले एक शक्तिशाली प्रहार गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।

पेनाल्टी मिस गर्दाको रिस र छटपटीलाई मेसीले त्यो गोलमार्फत शान्त पारेका थिए।

खेल अतिरिक्त समयतर्फ जाला जस्तो देखिन्थ्यो, तर इन्जुरी समयको ९२ औं मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३-२ को अविश्वसनीय जित दिलाए। जितपछि मेसीका आँखा हर्षले भरिएका थिए।

खेलपछि मेसीले पत्रकारहरूसँग कुरा गर्दै आफ्नो भावना साटे, ‘मैले धेरै राहत महसुस गरिरहेको छु। पेनाल्टी मिस गर्दा मलाई आफैंसँग धेरै रिस उठेको थियो। मलाई लागेको थियो कि मैले टोलीलाई एउटा महत्त्वपूर्ण मोडमा धोका दिएँ। तर भाग्यले मेरो लागि अन्त्यमा केही विशेष सोचेको रहेछ र मैले बराबरी गोल गर्न सकें।’

उनले टोलीको तारिफ गर्दै थपे, ‘यस टोलीले जे गर्‍यो, त्यो अद्भुत छ। २-० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्नुले हाम्रो टोलीको चरित्र देखाउँछ। यो टोलीले कहिल्यै हार मान्दैन।’

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले मेसीको खेल भावनाको कदर गर्दै भने, ‘मैले बेन्चमा बसेका खेलाडीहरूलाई मेसLलाई एक उदाहरण र रोल मोडलको रूपमा हेर्न भनें। पेनाल्टी मिस गरेपछि पनि उनी निराश भएनन्, बरु झन् जोसका साथ बल माग्दै दौडिरहे, प्रयास गरिरहे। साँचो भन्नुपर्दा, यो देख्दा मेरा शरीरका रौँ ठाडा भए। यो नै यो टोलीको विशेषता हो।’

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Back to top button