२४ असार २०८३, बुधबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
सरकारले 'हात झिकेपछि' बन्द भए ३ होल्डिङ सेन्टर, कुन सेन्टरको अवस्था के छ? - Himalaya Raibar
Banner Newsताजा समाचारमुख्य समाचार

सरकारले ‘हात झिकेपछि’ बन्द भए ३ होल्डिङ सेन्टर, कुन सेन्टरको अवस्था के छ?

सरकारले होल्डिङ सेन्टर खाली गर्न असार ८ गते सूचना जारी गरेपछि त्यहाँ बसिरहेका सुकुम्बासीहरू बिस्तारै लाखापाखा लाग्न थालेका छन्। कतिपय होल्डिङ सेन्टर रित्तिइसकेका छन् भने कतिपय सेन्टरमा रहेका सुकुम्बासी डेरा खोज्न भौंतारिरहेका छन्।

यसबीच सरकारले होल्डिङ सेन्टरमा दिइँदै आएको खाना बन्द गरेर सुकुम्बासीहरूलाई बाहिर निस्कन बाध्य पारेको थियो।

काठमाडौंका नदी/खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि २६ सयभन्दा बढी सुकुम्बासी परिवार दर्ता हुन आएका थिए। तीमध्ये झन्डै चार सय परिवार विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका थिए।

सरकारको पछिल्लो सूचनापछि कुन होल्डिङ सेन्टरको अवस्था के छ भनेर हामीले सबै ठाउँमा बुझेका छौं।

बनेपा होल्डिङ सेन्टर

काभ्रेको बनेपास्थित होल्डिङ सेन्टर अहिले पूर्ण रूपमा सुनसान छ। यहाँ ४५ सुकुम्बासी परिवारका १५० जनाभन्दा बढीलाई राखिएको थियो। ती सबैले होल्डिङ सेन्टर छाडिसकेका छन्।

सरकारले सोमबार दिउँसोबाट खानपिन बन्द गरेर तत्काल सेन्टर खाली गर्न भनेको थियो। केही सुकुम्बासी परिवार त्यसलगत्तै सेन्टरबाट निस्किए भने कतै जाने टुंगो नलागेकाहरू त्यो रात भोकभोकै बसे।

बनेपा होल्डिङ सेन्टरका सिंहबहादुर मोक्तान सोमबार बेलुका खाना खान नपाएपछि मंगलबार होल्डिङ सेन्टर छाडेको बताउँछन्। त्यहाँका कर्मचारीले पटक पटक आउँदै सेन्टर खाली गर्न दबाब दिएपछि सबैले आ-आफ्नो बन्दोबस्त गर्न बाध्य भएको उनको भनाइ छ।

‘त्यहाँ अब कोही बाँकी छैनन्। बरू सडकमै सुत्ने तर यसरी अपमान सहेर नबस्ने भनेर हामी हिँड्यौं,’ उनले भने, ‘कोही कता कोही कता जानुभयो। म पनि आफन्तकहाँ आइपुगेँ।’

उनले थपे, ‘खाना नै नदिने भएपछि बालबच्चा भोकभोकै राखेर त्यहाँ के बसिरहनू?’

भक्तपुरको खरिपाटी होल्डिङ सेन्टर

भक्तपुरको चाँगुनारायण नगरपालिका-६ खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको होल्डिङ सेन्टरमा ९९ सय परिवारका २०७ जना थिए। अब ५०-६० जना मात्र बाँकी छन्।

यहाँका सुकुम्बासी पनि सरकारले खाना खुवाउन बन्द गरेपछि आ-आफ्नो बाटो लागेका हुन्।

‘सोमबार बेलुका र मंगलबार बिहान खाना नै खुवाइएन,’ त्यहाँ बसिरहेकी बबिता मोक्तानले भनिन्, ‘जाने ठाउँ भएकाहरू निस्केर हिँडे, नभएकाहरू दिनभर विरोध गरेर बसिरह्यौं।’

सेन्टरमै बसेर विरोध गरिरहँदा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका दुई जना कर्मचारी आएका थिए। उनीहरूले विद्युत प्राधिकरणलाई मानवीय नाताले मंगलबार बेलुका र बुधबार बिहान खाना खुवाउन आग्रह गरेको उनी बताउँछिन्।

त्यस्तो आग्रहपछि दुई छाक खाना खुवाइयो। तर बुधबार साँझबाट फेरि खाना बन्द हुने भनिएको उनी बताउँछिन्।

‘खाना नखुवाएपछि आज पनि धेरै मानिसले सेन्टर छाडेका छन्,’ उनले भनिन्, ‘बाँकी बचेकाहरू अब के गर्ने भन्ने अन्यौलमा छन्।’

इचंगु अपार्टमेन्ट

काठमाडौंको नागार्जुन नगरपालिका-१ इंचगुस्थित अपार्टमेन्टमा ३७ परिवारलाई राखिएको थियो।

सरकारले यहाँ पनि खाना बन्द गरिदिएको छ। पहिले चौबीसै घन्टा पानी आउनेमा अहिले त्यो पनि कटौती गरिएको उनीहरू बताउँछन्। बिहान एक-एक बाल्टिन मात्र पानी भर्न दिइन्छ।

खाना र पानी नै बन्द भएपछि इचंगु अपार्टमेन्टबाट पनि आधाभन्दा बढी सरिसकेका छन्।

इचंगुमा बसिरहेकी ३० वर्षीया रविना थापा भूसाल सरकारले अमानवीय ढंगमा होल्डिङ सेन्टर छाड्न बाध्य पारेको बताउँछिन्।

‘जसको खाना पकाउने भाँडाकुँडा छन्, उनीहरूले नभएकालाई खुवाउन सहयोग पुर्‍याइरहेका छन्,’ उनले भनिन्।

उनका अनुसार सरकारले सुकुम्बासी परिवारलाई एकमुष्ठ २५ हजार रूपैयाँ दिने भने पनि यहाँ बस्नेहरू सबैको खातामा पैसा आइसकेको छैन। पैसा पाउनेहरूले होल्डिङ सेन्टर छाडेर गएको र नपाउनेहरू कुर्न बाध्य भएको उनको भनाइ छ।

‘अहिले केही व्यक्तिहरू आएर होल्डिङ सेन्टर खाली गराउन बल प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको सुनिरहेका छौं,’ भूसालले भनिन्।

कीर्तिपुर होल्डिङ सेन्टर

कीर्तिपुरको होल्डिङ सेन्टरमा ६८ परिवारलाई राखिएको छ। यहाँ बुधबार साँझसम्मको अवस्था सामान्य छ। केही व्यक्तिले बाहिर कोठा त खोज्न थालेका छन् तर सेन्टर छाडेर गइसकेका छैनन्।

उनीहरूलाई अहिले पनि शान्ति सेवा आश्रमले खाना खुवाइरहेकै छ। बालबालिका र बच्चाहरू भएका कतिपय परिवारले आफै खाना पकाएर पनि खाइरहेका छन्।

यहाँ पनि सूचना टाँसेर सेन्टर खाली गर्न भनिएको २६ वर्षीया गृभानिका थापा मगरले जानकारी दिइन्।

‘असार ८ गते सूचना आएदेखि नै यहाँ बस्नेहरू कोठा खोज्न हिँडिरहेका छन्। पाउने एक-दुई परिवार बाहिर गएका छन्, बाँकी सबै यहीँ छन्,’ उनले भनिन्, ‘हामी पनि कोठा खोजिरहेका छौं। तर कतै पाएका छैनौं।’

भक्तपुरको बोडे होल्डिङ सेन्टर

भक्तपुरको बोडेस्थित कृषि केन्द्र होल्डिङ सेन्टरमा २४ सुकुम्बासी परिवार आश्रित थिए। उनीहरू सबै बाहिर सरिसकेकाले अहिले यो सेन्टर बन्द भइसकेको छ।

सरकारले खाना खुवाउन छाडेपछि मंगलबार नै सबैले सेन्टर छाडेको त्यहाँ बस्नेहरू बताउँछन्।

उनीहरूमध्ये कोही आफन्तकहाँ बस्न गएका छन् भने कतिपयले डेरा पनि खोजेका छन्।

नगरकोट होल्डिङ सेन्टर

नगरकोटको खानेपानी तालिम केन्द्रस्थित होल्डिङ सेन्टरमा २१ परिवार थिए। ती सबैले छाडेर गएपछि अहिले यो सेन्टर पनि बन्द भइसकेको छ।

उनीहरूलाई सोमबार दिउँसोबाटै खानपिन बन्द गरिएको थियो। त्यसपछि बालबच्चा भएकाहरू निस्केर गएको त्यहाँ बसेकी ३९ वर्षीया गंगा बिक बताउँछिन्।

यहाँका सुकुम्बासीलाई बागमती सभ्यता समितिले बसमा कोटेश्वर ल्याएर छाडिदिएको थियो। त्यहाँबाट सबै आफ्नो बाटो लागे। धेरैजसो आफन्तकहाँ गएको पाइन्छ।

होटलमा बस्ने सुकुम्बासीहरू

सरकारले केही विस्थापित सुकुम्बासी परिवारलाई बालाजु, नयाँबसपार्क, माछापोखरी लगायत ठाउँका होटलमा पनि राखेको थियो। यसरी होटलमा राखिएकाहरू २०० जनाभन्दा बढी थिए।

सरकारले उनीहरूका लागि असार १९ गतेसम्मको खर्च मात्र बेहोर्ने भनेको छ। त्यसयताको खर्च उनीहरूले आफै बेहोर्नुपर्छ।

‘असार १९ गतेभन्दा पछिको खर्च बागमती सभ्यताले नतिर्ने सूचना दिइसकेको छ,’ बालाजुको होटलमा बसिरहेका सुवास राईले भने।

उनका अनुसार यस्तो सूचनापछि कतिपय सुकुम्बासी आफै छाडेर गए भने कतिपय अझै होटलमै छन्। केही होटलले मानवता देखाउँदै एक-दुई दिनको पैसा नलिने भनेको छ।

‘होटलले केही दिन बस्न छुट दिएपछि अहिले यहाँका सुकुमबासी डेरा खोज्न व्यस्त छन्,’ राईले भने।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Back to top button