२४ असार २०८३, बुधबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र - Himalaya Raibar
Banner Newsकर्णाली प्रदेशताजा समाचारदेशमुख्य समाचार

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना हुन बाँकी छ ।

जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा इन्दिरा कँडेलले भने, “कर्णालीमा मौसम मापन केन्द्र ७१ वटा सञ्चालनमा छन् । जलमापन केन्द्र ३१ सञ्चालनमा छन् । दुई वटा हेर्नका लागि जनशक्ति नहुँदा काम हुन सकेको छैन ।”

त्यस्तै, दैलेख र सुर्खेतको सिमानास्थित गुँरासेमा मौसम राडान केन्द्र लामो समयदेखि बन्द रहेका कँडेलले जानकारी दिए । उनका अनुसार चट्याङले क्षति पुर्याएपछि दुई वर्षदेखि ती केन्द्र प्रयोगमा आउन सकेका छैनन् ।

कर्णाली, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको मौसमसम्बन्धी जानकारी दिने उद्देश्यले यी राडार स्थापना गरिएको थियो । हाल ती राडारमा जडान गर्ने उपकरण विदेशबाट खरिद भए पनि जडान गर्ने जनशक्ति नेपालमा नभएकाले समस्या भएको भन्दै आगामी वर्ष जडान गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको डा कँडेलले जानकारी दिए।

मौसम मापन केन्द्रको अभावले स्थानीयस्तरको मौसमीय अवस्था यथार्थ रूपमा विश्लेषण गर्न कठिन हुने गरेको उनले बताए।

“स्थानीय तहमा केन्द्र नहुँदा त्यहाँको वास्तविक वर्षा, तापक्रम वा अन्य मौसमीय अवस्थाको तथ्याङ्क उपलब्ध हुँदैन”, उनले भने, “यसले बाढी, पहिरो, अतिवृष्टि तथा अन्य प्राकृतिक विपद्को पूर्वानुमान र समयमै पूर्वसूचना प्रवाहमा प्रत्यक्ष असर पार्छ ।”

कर्णाली प्रदेश सरकारले मौसम पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ । प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले मौसम मापन केन्द्र नभएका स्थानीय तहमा आवश्यक उपकरण व्यवस्थापनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Back to top button