प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उल्लंघन गरेका छन्, कारबाही हुनुपर्छ- ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रधानमन्त्री बालेन शाहले ट्राफिक नियम उल्लंघन गरेको दाबी गर्दै तत्काल कारबाही हुनुपर्ने माग गेका छन्।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जबाफ दिने क्रममा उनले प्रधानमन्त्री शाह र गृहमन्त्री सुधन गुरूङले सिटबेल्ट समेत नलगाई गाडी चलाएर ट्राफिक नियम उल्लंघन गर्दा पनि कारबाही नभएको भन्दै असन्तुष्टि व्यक्त समेत व्यक्त गरे।
नेता शाहीले उक्त ट्राफिक उल्लंघनको घटनाबारे पत्रकारहरूले पनि समाचार नबनाएको गुनासो समेत गरे।
सम्पत्ति शुद्धिकरणको डरले सञ्चार माध्यमहरूले पनि प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङले ट्राफिक नियम उलंघन गर्दा पनि समाचार नबनाएको उनको जिकिर थियो।
नेता शाहीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक नियम उल्लंघन गर्दा कारबाही गरेको दृष्टान्त पेस गर्दै प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङलाई भने उक्त कारबाही नगरेर सरकारले विभेद गरेको पनि बताए।
उनले भने, ‘सरकारले आफ्नो र पराई भनेर छुट्टयाउनु भएन। जस्तै सवारी साधनमा कारबाही गरियो नि त। मुख्यमन्त्री पनि कारबाहीमा परे भने गृहमन्त्री किन नपर्ने? उहाँले पनि त गाडीमा सिटबेल्ट नलगाई चलाएको भिडिओ हालिएको छ नि। प्रधानमन्त्री स्वयमले सिटबेल्ट नलगाई गाडी चलाएको भिडिओ त सार्वजनिक छ त। यस विषयमा नेपालको कुनै मिडियाले लेख्न सक्यो त? किनभने सम्पत्ति शुद्धीकरणको सबैलाई डर छ जस्तो छ। तर हामीलाई छैन। हामी खुलमखुला छानबिन गर्नुस् भनिराखेका छौं। कारबाही गर्नुपर्दछ। त्यो राम्रो कुरा हो। तर प्रधानमन्त्री र गृहमन्त्रीलाई चाहिँ किन कारबाही नगर्ने? यस्तो गर्दै गइयो भने हिजोको सरकार र आजको सरकारबीच केही फरक हुँदैन है।’
