१ कार्तिक २०८२, शुक्रबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
माओवादीले आनाकानी गर्दा निर्मला बनिन् मन्त्री - Himalaya Raibar
Banner Newsताजा समाचारमुख्य समाचारराजनीति

माओवादीले आनाकानी गर्दा निर्मला बनिन् मन्त्री

२५ पुस, विराटनगर । सोमबार दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ निर्धारित समय (दिउँसो २ बजे) भन्दा एक घण्टा ढिलो भयो । शपथ ढिलो हुनुको कारण थियो– सत्ता साझेदार माओवादी केन्द्रको बैठक ।

शीर्ष नेताहरुबीच आइतबार साँझ मात्र प्रदेश १ को मुख्यमन्त्री ५ वर्ष नै एमालेले लिने सहमति भएको थियो । तर मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने भन्दै माओवादी नेताहरु असन्तुष्ट बने । दल नेता इन्द्र आङ्बोले संसदीय दलको बैठक बोलाए ।

सत्ता साझेदार दलकै बैठक बसेपछि मुख्यमन्त्री कार्कीले शपथ कार्यक्रम रोकेर पर्खिए । एमाले नेताहरुका अनुसार आफ्नो दल एमालेसँगै माओवादी र राप्रपाबाट एक एक मन्त्री नियुक्त गर्ने तयारी गरेका मुख्यमन्त्री कार्कीले प्रदेशसभामा एक सिट मात्र भएको जनता समाजवादी पार्टी (जसपा)लाई राज्यमन्त्री छुट्याएका थिए ।जसपा प्रदेशसभा सदस्य निर्मला लिम्बूले भने राज्यमन्त्रीको सपथ लिन आनाकानी गरिरहेकी थिइन् । जब माओवादी केन्द्रका संसदीय दलले तत्काल सरकारमा सहभागी नहुने निर्णय गर्‍यो, एमालेले लिम्बुलाई मन्त्रीकै अफर गर्‍यो ।

किनकी माओवादीले फरक निर्णय गरेको अवस्थामा प्रदेशसभाको बहुमत सुुरक्षित गर्न निर्मलाको समर्थन अनिवार्य हुन्थ्यो । ‘माओवादी केन्द्र सरकारमा सहभागी भएको भए उहाँलाई (निर्मला लिम्बू) राज्यमन्त्री दिने हाम्रो तयारी थियो,’ एमालेका एक सांसदले भने, ‘माओवादी नआएपछि मन्त्री प्रस्ताव गर्यौं ।’

स्रोतका अनुसार एमालेलाई अप्ठ्यारो पार्न भन्दै माओवादी नेताहरुले सोमबार दिउँसो निर्मलालाई प्रदेशसभा सचिवालयमा बोलाएका थिए । माओवादी संसदीय दलको बैठक चलिरहेका बेला दिउँसो साढे १ बजे दलका नेता आङ्बोले बैठक रोकेर लिम्बूसँग छलफल गरेका थिए । जसपा आफ्नो पक्षमा हुँदा आलो–पालाको बार्गेनिङ गर्न थप सजिलो हुने माओवादी केन्द्रको बुझाइ थियो ।

आङ्बोले भेटे लगतै पासा पल्टियो । राज्यमन्त्री मात्र दिन तयार भएको एमालेले मन्त्री अफर गर्‍यो । निर्मला तत्काल प्रदेश प्रमुखको कार्यालयमा पुगिन् र विना विभागीय मन्त्रीको शपथ लिइन् ।

उनीसँगै एमालेबाट तिलकुमार मेन्याङ्बो र राप्रपाबाट भक्ति सिटौला पनि बिना विभागीय मन्त्री बनेका छन् । ताप्लेजुङको प्रदेश सभा १ बाट चुनाव जितेका मेन्याङ्बोले एमालेमा संसदीय दलमा दाबी गरेका थिए ।

२०५६ सालमै ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकका उनलाई कार्कीले फकाए र आफू संसदीय दलको नेता बन्ने क्रममा प्रस्तावक राखे । दलको नेतामा सहयोग गरेका मेन्याङ्बोलाई कार्कीले मन्त्री नियुक्तिमा प्राथमिकता दिएका छन् ।

एमालेका अर्का सांसद बुद्धिकुमार राजभण्डारीको शपथ भने माओवादी सरकारमा नआएका कारण रोकिएको नेताहरु बताउँछन् । ‘माओवादी सरकारमा आएको भए बुद्धिकुमारले पनि शपथग्रहण गर्ने सम्भावना थियो,’ एमालेका एक प्रदेशसभा सदस्य भन्छन्, ‘माओवादी केन्द्र नआएपछि उहाँको शपथ रोकियो ।’

आलोपालो नभएसम्म सरकारमा जाँदैनौं : आङ्बो

मन्त्रीको नाम नपठाएको माओवादी केन्द्रका नेताहरुले शपथ ग्रहणमा पनि नजाने बताएका थिए । तर अन्तिम समयमा संसदीय दलका नेता आङ्बो पुगे ।

शपथ ग्रहणमा पुग्नुअघि उनले पार्टीको संसदीय दलको बैठकबाट सरकारमा सहभागिताका लागि केन्द्रीय नेतृत्वले गरेको निर्णय पुनरावलोकन गर्दै मुख्यमन्त्री आलोपालो हुनुपर्ने निर्णय गराएका थिए ।

स्रोतका अनुसार केही प्रदेशसभा सदस्यले सरकारमा सहभागी हुनुपर्ने बताएका थिए । तर १३ सदस्यीय संसदीय दलबाट आङ्बोले आलोपालो निर्णय नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गराएका छन् । सरकारमा नभए पनि समर्थन भने यथावत राख्ने बताए ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ । एमाले एक्लैको ४० सिट छ भने अर्को सत्तारुढ दल राप्रपाको ६ सिट र जसपाको एक गर्दा ठीक्क बहुमत पुग्छ ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button