१ पुष २०८१, सोमबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
हुम्लाको सम्भावनाले सरकार खोज्दै छ – Himalaya Raibar
Banner NewsBanner news (with photo)ताजा समाचारपर्यटनमुख्य समाचार

हुम्लाको सम्भावनाले सरकार खोज्दै छ

हरेक गाउँ होमस्टे हुन्थे होला, सयौं फिल्म र म्युजिक भिडियो सुट हुन्थे होला । आज मेरो हुम्ला आन्तरिक र बाह्य पर्यटकले खचाखच हुथ्यो होला । आज यो स्मरण लेख्दै गर्दा हामीले चुनाएका जनप्रतिनिधी सम्झन चाहन्छु र भन्न मन लाग्छ सरकार हामी हुम्लीको लागि कहाँ छौ ? कहिले हामी सम्पन्न हुने ? कहिले हामीले बाटो पाउने ? तपाईहरुको हरेक ५ वर्षमा आश देखाउने मोटर बाटोको नारा कहिले टुँगिने ?

रेशमराज रोकाया
कुरो भाद्र २९, २०७५ सालको हो, समाचार संकलनको लागि हुम्लाका म लगायत अन्य तिन जना पत्रकारको समूह हुम्लाको सिमिकोट हुँदै हिल्सा होलिकोप्टरमा विहान १० बजे भाद्र १७ गते उडान भर्यौं । हेलिकोप्टरको झ्यालबाट रमणिय दृश्य फोटो र भिडियोमा खिच्नको लागि म व्यस्त थिए भने अन्य साथीहरु पनि सोही गर्दै थिए । पन्ध्र मिनेटको उडान पछि हिल्सा अवतरण गरी खानाको लागि स्थानिय होटेलमा झोला राखी त्यहाँको समाचार संकलनमा स्थानियसँग कुराकानी गर्यौं अनि फोेटो र भिडियो खिच्नमा लाग्यौं । करिब साढे ११ बजे खाना खाएर साढे बाह्र बजे लिमीबाट चिनको सिमाना हुँदै लिमीको यात्रामा उकालो चढेका थियौं ।


बाटोमा पर्ने रंगिन हिमाल दक्षिणमा बग्ने मानसरोवर कैलाशको मुहान भएर बग्ने नदीले यसको अझ शोभा बढाएको थियो । कैयौं फोटो क्यामेराको लेन्स र भण्डारण क्षमता हुँदा सम्म लगेका थियौं । लिमी हुम्लाको सुन्दर बस्ती जाने हुनाले ४ हजार ५ सयको उचाई हाम्रो लागि कुनै कठिनाई भएको थिएन । हल्का उकालो बढ्दै जाँदा लेक लागेको महशुस भएको भएता पनि त्यो ठाउँ पुग्ने हुटहुटीले केही भएको थिएन विशेष गरेर मलाई । सँगैका पत्रकार साथीहरुलाई पनि सोही भएको होला सबैको हिँडाईको रफ्तार एउटै रहेको थियो । बाटोमा भेटिने मृग, नाउर लगायतका जनावरको बथानका बथान भेटिँदा लिमी उपत्यका र यसको आसपासको क्षेत्रमा अघोषित वन्य जन्तु आरक्षको महशुस हुने गरेको थियो । हिमतालबाट बगेर आएका साना खोलालाई देख्दा सम्म परेको फाँट देख्दा त्यहाँ ठूला ठूला पाँचतारे होटेल स्थापना गरेको भए कत्ति पर्यटकको गन्तव्यस्थल हुन्थ्यो होला भन्ने मनमा कल्पना चलिरहेको थियो । बोटविरुवा, वन्यजन्तु लगायत अन्य अनुसन्धान केन्द्र स्थापना भएको भए कस्तो खालको आयआर्जन हुन्थ्यो होला भन्ने कौतुहलताको साथमा अगाडी बढेका थियौं ।
बाटोमा भेटिने जडिबुटी लगायत अन्य सुगन्धित फुलको मगमगाहट कुनै तुलना गरी साध्य छैन, वनै भरी बासनादार, शहरमा किनेको मेरो झोलाको परफ्युम भन्दा कडा बास्ना लगातार आईरहेको थियो । बाटोका पहाडमा र हिमालमा पाईने ढुँगा पनि बुट्टेदार, रंगरहित, आहा देख्दै रमाईलो, हेरिरहुँ लाग्ने, कुनै चित्रकारले कुँदेका बुट्टा भन्दा बढी आर्टेष्टिक र मनमोहक थिए । सुन्दर दृश्यको कारण कडा हिँडाईले लखतरान भएका खुट्टा नथाकेको महशुस भएको थियो । झोलामा विहान सिमिकोटबाट बनाएर लगेको रोटी थाहा सञ्चार नेटवर्कका पत्रकार अर्जुन बोहोराले खुर्सानीसँग खाँदा कत्ति मिठो भने अमृत खाए बराबर भएको थियो । बुढापाकाले भन्ने गरेको ‘भोक ठूलो कि भोजन ठूलो’ भन्ने उखान सम्झे एकपटक मैले त्यो बाटोको यात्रा भरीमा ।


अपरान्हको २ बजे लिमीकाो तिल गाउँका दुई जना आईमाई बाटोमा भेटिएका थिए । दुबैले मलाई सिमिकोटमा रहँदा चिनेका रहेछन्, कुराकानी भयो । सानो प्लास्टिकको बोतलमा भरेको जाँड खानको लागि मलाई अनुरोध भएको थियो । एक घुट्का सबैले पिएका थियौं । घरमा भएको भए बासको लागि लग्ने उहाँहरुको हार्दिकतालाई धन्यवाद दिँदै फेरी देख्दा सिधा हल्का उकालोको यात्रा अगाडी बढेको थियो । दिन क्रमशः ढल्कँदै थियो । पारिलो घामले हामीलाई बाई बाई गर्दै थियो । बाटोमा आपत विपतमा यात्रीको सहायताको लागि भनेर होला,कोही भोकै बस्न नपरोस् भनेर होला, ओढारमा सानो थैलीमा सातु, एउटा चिया पकाउने भाँडो, केही दाउरा, चिया लगायतका सामाग्री सदावहार ओहोर दोहोर गर्नेले छोडेर गएका हुने रहेछन् । भिरको खोँचमा केही पौराणिक गुम्बाले धार्मिक मन बनाउँथ्यो । कतै लाग्थ्यो कि बुद्धको घर यतै कतै होला भनेर सोँच पनि आउने गर्दथ्यो ।
करिब ६ बजे सहयात्री राजन रावत र अर्जुन बोहोरा जो पहिला पनि यो बाटो भएर लिमी हिँडेको अनुभव थियो मलाई उ..उ पर रातो डाँडा देखिने त्यसको खोँचमा लिमीको तिल गाउँ भएको मलाई देखाए । मसँग भएको जि.पि.एस् मेसिनमा ४ हजार ४ सय ४५ को उचाई देखाएको थियो । बाटो छोटिनु भन्दा मलाई अझै लम्बिएका महशुस हुने गर्दथ्यो । मलाई मेरो फोटोग्राफर साथी गोर विष्ट र देवेन्द्र शाहीले यो बाटो हिँड्नको लागि कठिन छ भनेर सिमिकोटमा सुनाएका थिए । मैले उनीहरुलाई सम्झे एकपटक । मनमा अनेकौं रंगिन सपना थिए लिमी उपत्यका पुगेर फोटो र भिडियो खिच्ने, त्यहाँको परम्परा र संस्कृती हेर्ने हुटहुटी थियो । राती झमक्क पर्न लागेको थियो । तिल गाउँको नजिक पुगेका थियौं । गाउँ पुग्दा सुनसान, चकमन्न वातावरण थियो । केहीका घरमा सोलारको मधुरो बत्ती बलेको थियो । कोही चिनेका छैनौं, फेरी राती भएको छ, मानव बस्ती होकी होईन भन्ने छुट्याउनको लागि त्यो सुनसानले दोधार पारेको थियो । तिनै जनाले अब बोलाउने विचार गर्यौं । उत्ती साह्रो भोेटे खाम भाषा कसैलाई बोल्न नआउने । आज्यो अजी (बुबा, दिदी) भनेर बोलाउँदा कोही कसैले झ्याल पनि नखोल्ने, ढोका पनि नखोल्ने । सुन्दै नसुन्ने भन्या कोही कसैले । ल अब फसाद भयो । कहाँ बस्ने, के खाने भन्ने समस्याले पिरोल्यो सबैलाई ।गाउँ २ पटक बोलाउँदै परिक्रमा गर्यौं अहँ कोही कसैले बास दिने ढंग देखिएन । अब एउटा सार्वजनिक स्थल जस्तो देखिने तान बुन्ने ठाउँमा गयौं । झोला राख्यौं, एकछिन थकाई मारेपछि त्यहाँ पालमा केही साग सुकाएको थियो । सागलाई छेउतिर राखेर तिनै जना विना ओढ्ने र ओछ्याउने माईनस डिग्री तापक्रम भएको खुल्ला ठाउँमा सुत्ने निर्णय गर्यौं ।


एक देखी दुई घण्टा सम्म गफ गरेर समय वितायौं । समय बिताउनै गाह्रो, भोलीको विहानीको किरणको पर्खाइमा मन डुलाई राख्यौं । बुढापाकाले भन्ने गरेको अर्ति ‘कुखुरी काँ, घर जस्तो वनमा काँ’ भन्ने उक्ति मनमा आयो । सहकर्मी केही निदाए । झोलामा भएको चाउचाउ र बिस्कुट केही खाएका थियौं । रातभर जाडोले मलाई हैरान पार्यो । खप्नै सकिन, यस्तै होला भनेर साथीलाई मैले हिल्साबाट सलाई बोक्न भनेको थिएँ । गाउँमा भएका दाउराको भण्डारबाट सक्ने जति दाउरा ओसारेँ । आगो बाल्नको लागि रातभर पानी परेकोले भिजेको दाउरामा आगो बाल्नु भनेको कम्ती सास्ती थिएन । बल्ल तल्ल एक घण्टाको प्रयास पछि आगो बाल्न सफल भएँ, यो देख्दा कुनै सिपाहीले युद्ध जितेको भन्दा बढी आनन्दको पैदा मैले महशुस गरेको थिएँ । आगो ताप्न सुरु गरेँ, सहकर्मी गोरखापत्र दैनिकका सम्वाददाता राजन रावत र थाहा सञ्चारको सम्वाददाता अर्जुन बोहोरालाई बोलाएँ । आगो नजिक सबैैले खुसी साँट्यौं । केही रमाईला ठट्टा सहित भोलीको पर्खाइमा रह्यौं ।
भोलीको पर्खाईमा घडि हेर्दा हेर्दा मेरो आँखा नै दुख्ने भयो होला सायद त्यती पल्ट घडि हेरेको थिएँ । कहिलेकाहिँ काम पर्दा समय नगए हुन्थ्यो भन्ने मेरो सोचाई, तिल गाउँको त्यो चिसो र भोको रातले फरक बनाएको थियो । समय बिताउन कत्ति गाह्रो भन्या, कहिल्यै त्यती गाह्रो भएको थिएन । त्यो दिन मलाई भएको थियो । रातभर नानाथरी कल्पनाको संसारमा उडान भरेँ । अरु साथीले के गरे थाहा भएन । बल्ल तल्ल भोली विहानको किरण हल्का गाउँमा पर्न सुरु भयो । विस्तारै गाउँ जाग्न थालेको महशुस भयो । आगोको राप नजिकै धुलाम्य भुईमा पागल जस्तो सुतेका हामीलाई गाउँको एकजना तान बुन्न आउने आइमाईले देखे । केही पश्चतापको भावना पोखे । आफुले बोकेको भोटे चिया र सातु हामीलाई दिने कुनै दया देखाएनन् । विहानी नित्य कर्म पछि सहकर्मीले नजिकैको घरमा चिया र सातु खाँदै रहेछन्, मेरो मनमा कुनै आशा थिएन कि खाना पाईएला भनेर । त्यसैले म गाउँका पाखा पखेरीका तस्विर लिनमा नै बढी व्यस्त भएँ ।
केही समय पछि साथीको बोलावटले स्थानिय महिला जो काठमाण्डौंबाट भरखर दुई दिन अगाडी मात्रै आएको बताउनु हुन्थ्यो, उहाँको न्यानो आतिथ्यताको साथमा चिया खाईरहेको दृश्य साँच्चै होकी सपना हो मलाई छुट्याउन कठिन भयो । वास्तविक नै रहेछ, म पनि सरिक भएँ । त्यहाँ भएकी महिलासँग कुराकानी गर्दै जाँदा गाउँमा भएको चलन अनुसार घरको कुनै सदस्य किन नहोस्, राती सात बजे भन्दा जो कोही आएमा ओढारमा बास बस्नु पर्ने रहेछ । कारण के हो भनेर सोध्दा भुत प्रेतको कारण गाउँका वासिन्दा डराउने रहेछन् । चिया पछि खाना तयार हुँदै थियो । भोकले होला भात र सागको झोल अति नै मिठो थियो । मन मनै जसले खाना पकाई हामीलाई दिनु भयो उहाँलाई अभिव्यक्त गरिनसक्नु मेरो हृदयता पलाएको थियो । केही घण्टा कुराकानी पछि हाम्रो खाएको खानको समेत पैसा लिन मानिनन् । बल्ल तल्ल केही पैसा जवरजस्त दिन सफल भयौं । हिजो बाटोमा अघि हिँडेका साथीहरु हामीसँग भेट भयो । कुराकानी भयो, हिजो रातीको दुःख उहाँहरुलाई केही पनि भनेनौं । यो सार्वजनिक कसैले नगर्ने हामी तिनमा सहमति भएको थियो । सिमिकोटमा पुगे पछि अरु साथीले समाचारको रुपमा प्रकाशन गरेपछि मलाई पनि त्यो रातको यादमो केही लेख्न मन मात्र लागेको हो । यो मेरो व्यक्तिगत ब्लगमा मात्र दर्ज गर्ने निर्णय गरेको हुँ । मेरो लेखाईले कुनै सम्प्रदाय, बस्ती र चलचलनमा आँच नआओस् भन्ने म चाहन्छु ।
त्यो रातको सम्झनाले मलाई बाल्यकालमा गाली गरी गरी खाना खानको लागि भनेको आमा बुबाको याद खुब आयो । बाल्यकाल र मिठा मिठा परिकार खाएको ति दिनमा पनि मिठो नमानेको दिनको याद आयो । लिमी बसाईमा धेरै राम्रा कुराको अवलोकन र बुझ्न पाउँदा त्यो विर्सेको छु । त्यहाँको आथित्यताको कारण सबै दुःख हराए जब हल्जी गाउँ पुगे पछि । लिमी महोत्सवको रौनक र चालचलन देख्न पाए पछि सबै कालान्तरमा हराए । सबै गतिविधिले मन चंगा भएको थियो । त्यहाँ जिल्लाका केही चिने जानेका कर्मचारी, हल्जीका केही स्थानिय मित्रसँग वर्षौं भेट भएको थिएन भेट्ने मौका पाईयो । लिमी महोत्सव उद्घाटनमा कर्णाली प्रदेशका मूख्य मन्त्री महेन्द्र बहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल, पर्यटन मन्त्री, जिल्लाका उच्च पदस्थ कर्मचारी लगायतको उपस्थिती रहेको थियो । फर्कने दिनमा नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामा, वडाध्यक्ष पाल्जोर लामाले हेलिकोप्टरमा नै आएर हामिलाई विदाई गरेका थिए । हेलिकोप्टर क्याप्टेन ईरिकसँग मैले र सहयात्रीको अनुरोध पछि लिमीको उत्तरी हिमताल, हिमनदी, वन्यजन्तु, लिमी लाप्चाबाट देखिने मानसरोवर कैलाशको दर्शन गरी सिमिकोट पुगेका थियौं ।
वास्तवमा हुम्लाको लिमी उपत्यका एक पटक सबैले पुग्नु पर्ने ठाउँ रहेछ । सुन्दर दृश्य, प्रकृती पनि कत्ति फुर्सदमा बनाएको ठाउँ जस्तो लाग्छ । जति बस्यो बस्न मन लाग्ने, जति हेर्यो हेर्न मन लाग्ने, जति रचना गर्यो रचना गर्न मन लाग्ने ठाउँ, साँच्चै स्वर्ग हेर्न कहिँ जानु छ भने लिमी पुगे हुन्छ । भरखरै मात्र प्रचण्ड नेतृत्वको सरकारले केही नयाा निती तथा कार्यक्रम त ल्याएको छ, विभिन्न कारणले त्यसले हुम्लालाई छुन्छ कि नाई भन्ने कुराको चिन्ता र चासो मेरो छ । विद्युतिकरण र बाटो अहिले हुम्लाको अति नै अपरिहार्य भईरहेको छ । यसलाई चाँडै सरकारले हुम्ला जस्ता हाल ७७औं जिल्लाको रुपमा परेको जिल्लालाई पनि समेटिनु पर्दछ भन्ने हो ।
अन्तमा जति दुःख पाए पनि त्यो दुःख भौगोलिक कठिनाई र नेपाल सरकारको उपेक्षाको परिणामलाई दोष दिन चाहन्छु । सायद त्यस्ता सुन्दर क्याराभानको यात्राको लागि सहज सडक निर्माण भएको भए आज हजारौं हैन लाखौं पर्यटकको रोजाई हने गर्दथ्यो । जहाँ गाउँ सबै होमस्टेमा परिणत हुन्थे होला, सयौं फिल्म र म्युजिक भिडियो सुट हुन्थे होला । आज मेरो हुम्ला आन्तरिक र बाह्य पर्यटकले खचाखच हुथ्यो होला । आज यो स्मरण लेख्दै गर्दा हामीले चुनाएका जनप्रतिनिधी सम्झन चाहन्छु र भन्न मन लाग्छ सरकार हामी हुम्लीको लागि कहाँ छौ ? कहिले हामी सम्पन्न हुने ? कहिले हामीले बाटो पाउने ? कहिले हामीले सुविधा सम्पन्न औषधालय पाउने ? कहिले सहज यात्रा गर्नको लागि हवाईजहाज र चिल्लो सडकमा गाडी चढ्न कहिले पाउने ? उपचार नपाई ज्यान गुमाउन कहिले छुट्छ सरकार ? यहाँको सुन लुकाएर नुन खोज्न कहिले हामी रोकिने ? हामीले उच्च शिक्षा र गुणस्तरिय शिक्षा प्रदान गरिने शिक्षालय कहिले पाउने सरकार ? आज सरकार खोजीरहेको छु म । तपाईहरुको हरेक ५ वर्षमा आश देखाउने मोटर बाटोको नारा कहिले टुँगिने ?  अब बाटो पुग्यो, उद्योग कलकारखाना र रोजगारीको लागि हुम्ली जनता एक हुन पर्छ भन्ने दिन तपाईको भाषणमा कहिले हुन्छ नेताज्यूहरु अनि मेरो सरकार ?

 

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button