हुम्ला राष्ट्रिय सडकमा जोडिँदै

नेपाल सरकारले यस आर्थिक वर्षमा हुम्लालाई राष्ट्रिय सडकमा जोड्नको लागि बेली ब्रिज बनाउने जिम्मा दिए पछि कामले तिव्रता पाएको छ । सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाको सिमानामा रहेको खार्पुनाथ पुलमा बेलिब्रिज निर्माण पछि अब हुम्ला राष्ट्रिय सडकमा जोडिने भएको छ । नेपाली सेनाले असारको १० गते नै नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी कामले तिब्रता दिएको छ ।

कर्णाली करिडोर अन्तरगतको यो खण्डमा पुल नहुँदा चुवाँखोला उद्गम भई आउने नदीमा सवारी साधन आवत जावत गर्नको लागि समस्या हुने गरेको थियो । हिउँदको मौसममा पानीको बहाव घट्ने भएकोले सवारी साधन नदीबाट नै तर्ने गरेको भएता पनि वर्षा याममा पानीको बहाव बढ्दा समस्या हुने गरेको थियो । केही सवारी साधन नदीमा नै डुब्ने गरेको र सवारी साधन बिग्रने गरेको थियो । ब्रिज निर्माणमा नेतृत्व गरीरहेका नेपाली सेनाका सेनानी पुर बहादुर घर्तीले पुल समयमा नै निर्माण गरी स्थानियलाई सहज गराउन तर्फ नेपाली सेनाको ध्यान रहेको बताए ।
पुल नहुँदा हालको झोलुँगे पुलको पूर्वमा सुर्खेत नेपालगञ्जबाट निर्यात गरिएको सामान अनलोड गरी कामदारले पुल भारी बोकेर नै सार्नु परेको थियो । भरियाले सामान ओसार्नु पर्दा सामानको मूल्य बढ्ने र सामान भनेको बेला नपुग्ने अवस्था अझै रहेको छ । सडक मार्ग र हवाई मार्गबाट हुम्ला पुग्नु पर्ने हुम्ला नेपालको महँगो जिल्लाको रुपमा चित्रित भएको भएता पनि पुल निर्माण पछि बजार भाउमा केही सस्तो हुने आँकलन गरिएको छ ।
त्यसै गरी नेपाली सेनाले जिम्मा पाएको कर्णाली करिडोरको सडक मध्ये बोक्चे गौंडा, भि गौंडा र च्याछहरामा कम्तीमा ५ मिटर भिरलाई तल झारेर सडक मार्ग सहज गराउन तर्फ लागेको छ । यो सडक निर्माण पछि हुम्लीवासीलाई सडक मार्ग भएर सामान पैठारी गर्न र आवात जावत गर्नको लागि सहज हुने देखिएको छ । साथै सामानको मुल्यमा पनि केही सस्तो हुन गई जीवनयापनमा सहजता आउने देखिएको छ । राज्यको अन्तिम जिल्ला हुम्ला सडक सञ्जालमा जोडिए पछि हुम्लामा प्रकृती मन पराउने, जैविक खानेकुरा खान रुचाउने, लिमी लाप्चा मार्फत कैलाश मानसरोवर दर्शन गर्न आउने पर्यटकलाई पनि सहज हुने भएको छ ।
सडकको पहुँच सहजता भए पछि हुम्लीवासीको आयआर्जनमा समेत वृद्धी हुने देखिएको छ । हाल हुम्लामा आउने पर्यटक हवाईजहाज मार्फत आउनु पर्ने भएकोले पर्यटकको आवागमन न्युन रहेको भएता पनि सडक मार्ग सहज भए पछि हुम्ला पुग्ने पर्यटकको संख्यामा भारी वृद्धी हुने पर्यटन व्यवसायीको विश्वास रहेको छ ।


