दैलेखको ग्याँस एक वर्ष भित्र उपयोगमा ल्याउन प्रधानमन्त्रीको निर्देशन
८ असार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भेटिएको ग्याँस एक वर्षभित्रै उपयोगमा ल्याउने गरी छिटो परीक्षण उत्पादन सुरु गर्न निर्देशन दिएका छन् । त्यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने बचन पनि प्रधानमन्त्री ओलीले दिएका छन् ।
दैलेखमा भेटिएको ग्याँसका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरुसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा ड्रिल गरेर अन्वेषण गर्दा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस भएको पत्ता लागेको प्रारम्भिक प्रतिवेदन चाइना जियोलोजिकल सर्भेले उद्योग मन्त्रालयलाई दिएको थियो । यस सम्वन्धी समाचार अनलाइनखबर डटकमले गत विहीबार नै सार्वजनिक गरेको थियो ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न ग्याँस अन्वेषण कार्यको नतिजा एवं भावी कार्यदिशाबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहित मन्त्रालय र खानी विभागका अधिकारीहरुले प्रधानमन्त्री ओलीलाई आइतबार अवगत गराएका थिए ।
उद्योग मन्त्री भण्डारीले चिनियाँ प्राविधिक टोलीले ड्रिल गरेको ठाउँबाट नेपाललाई ५० वर्षसम्म पुग्ने प्राकृतिक ग्याँस रहेको पुष्टि भएको बताएका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अधिकारीहरुले दैलेखमा एक ठाउँ गरिएको ड्रिल साइटमा ११२ दशमलव १ अर्ब घनमिटरको प्राकृतिक मिथेन ग्याँसको भण्डार देखिएको र अन्य क्षेत्रमा पनि ग्याँसको भण्डार रहेको अनुमान गरिएको अवगत गराएका थिए ।
त्यसबाट उत्साहित प्रधानमन्त्री ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी मिथेन ग्याँसको परीक्षण उत्पादनमा गम्भीरतापूर्वक लाग्न निर्देशन दिएको भेटमा सहभागी एक अधिकारीले बताए । त्यसका लागि उनले आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने स्पष्ट पनि पारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।