हुम्लाका विद्यालयलाई कम्प्युटर सहयोग

हुम्ला – हुम्लाका विद्यालयलाई ल्यापटप र डेस्टप कम्प्युटर सहयोग गरिएको छ। सिमकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सवै तहका विद्यालयलाई प्रविधिसँग जोड्न यी सामग्री सहयोग गरेको हो।

आफ्नो गाउँपालिकाभित्रका २० वटा सबै तहका सामुदायीक विद्यालयहरुलाई कम्प्युटर सहयोग गरिएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले जानकारी दिए।
उक्त गाउँपालिकामा केही समयअघि विद्यालय समायोजन गरी बीस वटामा सीमित छन्। ल्यापटप पाउने विद्यालयमा सात वटा मावि, कक्षा आठसम्म अध्ययन हुने आधारभुत विद्यालय दुई वटा र एघार वटा कक्षा पाँचसम्म अध्ययन हुने आधारभुत विद्यालय छन्।
त्यसैगरी, सात वटा मावि र कक्षा आठसम्म अध्ययन हुने दुई वटा विद्यालयलाई डेस्कटप कम्प्युटर पनि सहयोग गरिएको छ। बढी कार्यबोझ हुने मावि र कक्षा आठसम्म अध्ययन हुने आधारभुत विद्यालयलाई डेस्कटप सहयोग गरिएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कृष्णप्रसाद आचार्यले बताए।
प्रशासकीय काम गर्न मावि र दुई वटा आधारभूत विद्यालयमा डेस्कटप कम्प्युुटर सहयोग गरिएको र यसवाट एकीकृत शैक्षिक सूचना सुधार क्यवस्थापन प्रणालीको (इमिस) तत्थ्याङ्क प्रविष्ट गर्न सहज हुने बिश्वास गरिएको छ।
त्यसैगरी, निकास रकम माग गर्न विद्यालयलाई प्रविधिसंग जोड्न, समार्ट विद्यालय बनाउन पनि यसले सहयोग पुग्ने उनले बताए। देश नै डिजिटलमय बनाउने घोषणा भएको र कर्णाली प्रदेशले पनि डिजिटल प्रदेश वानउने योजना अनुसार यी सामग्री सहयोग गरिएको उनले बताए।



