चीन जोड्ने विद्युत् प्रसारण लाइन पनि बनाउँछौं : ऊर्जामन्त्री खड्का

बेइजिङ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले चीनसँग जोडिने रसुवागढी–चिलिमे–जिलोङ–केरुङ २२० केभी प्रसारण लाइन निर्माणको तयारी भइरहेको बताएका छन् ।
चीनको चच्याङ प्रान्तको निङ्पोमा जारी साङ्हाई सहयोग संगठन (एससीओ) को पाँचौं ऊर्जामन्त्रीस्तरीय बैठकमा उनले नेपालको ऊर्जा क्षेत्रको उपलब्धिबारे चर्चा गरे । भारत र बंगलादेशसँग विद्युत् व्यापार भइरहेको र चीनसँग प्रसारण लाइन निर्माण गरिने विषयमा पनि उनले चर्चा गरे ।
‘भारत र बंगलादेशसँग विद्युत् निर्यातको सम्झौता भएको छ,’ उनले भने, ‘चीनसँग रसुवागढी–चिलिमे–जिलोङ–केरुङ २२० केभी प्रसारण लाइन निर्माणको तयारी भइरहेको छ ।’ भारतसँग १३२ केभी तथा त्यसभन्दा कम भोल्टेजका प्रसारण लाइनसँगै ४०० केभी ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन सञ्चालनमा रहेको उनको भनाइ छ । भारतको बाटो हुँदै बंगलादेशतर्फ विद्युत् निर्यातको ऐतिहासिक सम्झौता भएको पनि उनले जनाए ।
ऊर्जा सुरक्षालाई आधुनिक जीवनको आधारभूत आवश्यकताका रूपमा चर्चा गर्दै उनले क्षेत्रीय सहकार्य, लगानी र नीतिगत नवप्रवर्तनको खाँचो औंल्याए । ‘ऊर्जा आजका लागि विकल्प होइन, जीवनका लागि अक्सिजन जत्तिकै आवश्यक विषय हो,’ उनले भने । नेपालले पछिल्लो पाँच वर्षमा विद्युत् उत्पादन दोब्बर बनाएको, करिब ९९ प्रतिशत जनतामा विद्युत् पहुँचमा पुर्याएको र ९५ प्रतिशतभन्दा बढी विद्युत् उत्पादन नवीकरणीय ऊर्जाको स्रोतबाट गरिरहेको खड्काको भनाइ छ ।
ऊर्जा क्षेत्रको सुरक्षित, समावेशी र हरित भविष्यका लागि क्षेत्रीय नीतिगत समन्वय, प्रसारण पूर्वाधारमा क्षेत्रीय लगानी तथा साझेदारी र पारदर्शी मूल्य निर्धारण र हरित वित्त प्रणालीद्वारा ऊर्जा बजारको विकास अपरिहार्य रहेकामा उनले ध्यानाकर्षण गराए । नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसमध्ये १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य लिएको मन्त्री खड्काले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन, सबैका लागि स्वच्छ ऊर्जा र विद्युतीय यातायात तथा उद्योग प्रणालीको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैबीच ऊर्जामन्त्री खड्काले ‘इन्टिग्रेट इनोभेसन फर इनर्जी फ्युचर’ विषयक सत्रलाई सम्बोधन गर्दै साङ्हाई सहयोग संगठनका सदस्य राष्ट्रहरूबीच ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, नवप्रवर्तन, ऊर्जा सुरक्षाको प्रवर्द्धन तथा क्षेत्रीय सहयोगका विविध पक्षहरूमा जोड दिए । नेपालको ऊर्जा उत्पादन क्षमताको उल्लेख गर्दै विद्युत् उत्पादन लक्ष्य र निर्यात लक्ष्यबारे उनले चर्चा गरे ।
विद्युत् व्यापारमा नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सहकार्यको उपलब्धिबारे चर्चा गर्दै मन्त्री खड्काले साङ्हाई संगठनअन्तर्गतको उपभोक्ता बजार, स्रोत सम्भावनालाई ध्यानमा राखी नवप्रवर्तन, लगानी प्रवर्द्धन र ऊर्जा व्यापारका लागि क्षेत्रीय ढाँचा निर्माण गर्नुपर्नेमा जोड दिए । डायलग पार्टनरका रूपमा नेपालले संगठनको ऊर्जा सहकार्यमा निरन्तर योगदान गर्ने र ऊर्जा क्षेत्रको आपसी सहकार्यमा अग्रसर रहने पनि प्रस्ट्याए ।
चीनको राष्ट्रिय ऊर्जा प्रशासन र चच्याङ प्रान्त सरकारको संयुक्त आयोजनामा ‘नवप्रवर्तन र एकीकरण, गतिशील भविष्य’ विषयक संगठनका ऊर्जामन्त्रीहरूको बैठक बसेको हो । सम्बन्धित एससीओ देशका ऊर्जा विभागका प्रमुख, सम्बन्धित प्रतिनिधि र चीनका राजदूतले बैठकमा भाग लिएका थिए । उक्त अवसरमा ऊर्जा रूपान्तरण र दिगो विकासलाई प्रवर्द्धन गर्ने विभिन्न देशको गहन सफल अनुभव आदानप्रदान गरे ।
चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार बैठकमा २५ वटा परियोजनामा हस्ताक्षर भएको छ । यस वर्षको एससीओ शिखर सम्मेलनसँगै आयोजना गरिएको यो नै ऊर्जा क्षेत्रको सबैभन्दा उच्चस्तरको बैठक हो ।