बसाइँ सराइले लिमी गाउँ रित्तिँदै

हुम्ला– हुम्लाको उत्तरी चीन सिमाको नाम्खा गाउँपालिका–६ को लिमी उपत्यकाका ३ गाउँ तिल, हल्जी र जाङ्गका बासिन्दा गाउँ छाड्न थालेका छन् । चीनसँग सीमा जोडिएको यो क्षेत्र भौगोलिक विकटता, कम उब्जनी हुने जग्गा, सेवा सुविधाको कमी, रोजगारीको अभाव र आधारभूत स्वास्थ्य, शिक्षाको अभावका कारण स्थानीय वर्षेनी गाउँ छोड्दै शहरतर्फ पलायन भइरहेका छन् । लिमी उपत्यकामा तीन मुख्य बस्ती हल्जी, तील र जाङ्ग पर्छन् ।
यीमध्ये सबैभन्दा बढी घरधुरी हल्जीमा बाँकी छन् भने तील र जाङ प्राय: सुनसान बन्दै गएका छन् । ६ महिना हिमपातले अन्य बस्तीभन्दा सम्पर्कविहीन हुने ३ गाउँका बस्तीमा हाल स्थानीय भेट्नै गाह्रो हुने गरेको छ । पर्यटकीय हिसाबले हुम्लाको चर्चित यो उपत्यकाका अधिकांश स्थानीय राजधानी र विदेशमा घर निर्माण गरी बसोबास गर्ने होडबाजीकै कारण पनि गाउँ खाली हुँदै गएको छ ।
बिरामी हुँदा बाटोको राम्रो सुविधा नहुँदा ५ देखि ७ लाख तिरेर हेलिकोप्टर चाटर्ड गरी उपचार गर्नुपर्ने, पढ्नका लागि कक्षा ५ सम्मका आधारभूत विद्यालय मात्र रहेको, पायक पर्ने उच्च शिक्षा हासिल गर्ने विद्यालयको कमी हुनु, रोजगारीका लागि चीनको पुराङ काउन्टीलगायत अन्य ठाउँमा जानु पर्नेलगायतका समस्याले यहाँका स्थानीय पलायन हुन थालेका हुन् ।
नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार अहिले लिमीका तीन गाउँमा जम्मा १०५ घरधुरी मात्रै बाँकी छन् । हल्जीमा ८२, तीलमा २१ र जाङ्गमा जम्मा दुई घरधुरी छन् । ‘केही वर्षअघि मानिसको चहलपहल बाक्लो थियो, अहिले गाउँ सुनसान छ । सबैजना शहरको सुख र सुविधाको खोजीमा पलायन भएका छन्,’ उनले भने । अब तीन गाउँमध्ये जाङ्ग गाउँमा २ घरधुरीले सम्पूर्ण गाउँको हेरचाह गर्नुपर्ने बाध्यता रहेको छ ।
बसाइ सराइले अहिले लिमी उपत्यकाका पौराणिक गुम्बा, ऐतिहासिक चालचलनसमेत हराउँदै गएका छन् । सयौं वर्ष पुरानो इतिहास बोकेको जाङ्ग गाउँ अहिले दुई घरधुरीका चार जना वृद्ध–वृद्धामात्रै बसोबास गर्ने ठाउँ बनेको छ । स्थानीय कार्साङ लामाका अनुसार एक दशकअघि गाउँमा सबै बासिन्दा बसोबास गर्ने हुनाले रितिस्थिति, चालचलन सबै जिवित राख्न सकिन्थ्यो । गाउँका चाडपर्व धुमधामका साथ मनाइन्थ्यो । तर अहिले गाउँ रित्तिएको छ । २०५५ सालतिर जाङ गाउँमा १५ घरधुरी थिए ।
अहिले तिनको याद मात्र बाँकी छ, घरमा ताल्चा र घाँस उम्रेको छ, खेतमा बुट्यान भरिएको छ । बसाइँ सराइको असर तिल गाउँमा पनि उस्तै छ । केही वर्षअघि ६० घरधुरी रहेको तिलमा अहिले २१ मात्र बाँकी छन् । हल्जी गाउँ भने अझै केही सक्रिय देखिन्छ । यहाँ हाल ८२ घरधुरी यथावत् छन् । त्यहाँ पनि धेरै घरका सदस्य वर्षको केही समय मात्र गाउँमा रहन्छन् । हिउँदमा चिसो छल्न जिल्ला वा देशबाहिर जाने र गर्मीयाममा फर्किने चलन अझै बाँकी छ ।
‘पहिले हिउँदमा गएर वर्षात् लागेपछि फर्किन्थ्यौं, अहिले फर्किन छोडेका छन्’ स्थानीय छिरिङ तुण्डुप लामा भन्छ्, ‘सडक, बिजुली, स्वास्थ्य र शिक्षाको पहुँच नहुँदा बस्नै गाह्रो भएको हो ।’ लिमी नेपालका सबैभन्दा उच्च बस्तीमध्ये पर्छ । समुद्री सतहदेखि करिव ३८ हजारदेखि चार हजार मिटर उचाइमा बस्ती छन् । तर, यहाँ अस्पताल छैन, गुणस्तरीय शिक्षा दिने विद्यालय छैन, सडक वर्षको आधा समय हिउँले बन्द हुन्छ । बिरामी परे हेलिकोप्टरबाहेक अन्य विकल्प छैन ।
स्थानीय कार्साङ लामा भन्छन्, ‘हामीकहाँ स्वास्थ्य, शिक्षा र यातायातको पहुँच नहुँदा बाँच्नै कठिन छ । त्यसैले सबै शहर झरेका हुन् ।’ नाम्खा गाउँपालिकाले चार वर्षदेखि तिमी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी स्थायी रूपमा खटाएको छ । हल्जी र तौलमा अहिले वर्षभरी स्वास्थ्य सेवा उपलब्ध गराइन्छ तर, दुर्गम र जनशक्तिको कमीले सेवा प्रभावकारी हुन सकेको छैन ।
सरकारी संयन्त्र नै सदरमुकाम फर्कन बाध्य
बसाइँ सराइका कारण लिमी क्षेत्रमा सीमा सुरक्षामा समेत प्रत्यक्ष असर परेको स्थानीय बताउँछन् । चीनसँग सिमाना जोडिएको लाप्चा क्षेत्रमा हाल कुनै पनि सुरक्षा संयन्त्र छैन । सिमकोटदेखि करिव १०५ किलोमिटर दूरीमा सुरक्षा निकायको स्थायी उपस्थिति छैन । हाल जाङ र हल्जीबीच नेपाल प्रहरीको सानो चेकपोष्ट छ तर जनशक्ति र पूर्वाधारको अभावमा यसको प्रभाव न्यून छ ।
‘लिमीबासी आफैंले सिमाना हेरिरहेका छन्,’ वडाध्यक्ष तामाङ भन्छन्, ‘गाईगोठ र खर्क जान छोडेपछि सीमामा मानवीय उपस्थिति घटेको छ, जसले सुरक्षा चुनौती बढाएको छ ।’ हिउँदको समयमा अत्यधिक चिसो हुने भएकाले सुनखानी प्रहरी चौकीसमेत सिमकोटमै केन्द्रित हुने गर्छ । जेठतिर हिउँ पग्लिएपछि मात्रै प्रहरी फिर्ता पठाइन्छ ।
विशेषज्ञहरूका अनुसार आर्थिक अवसर, शिक्षा, स्वास्थ्य र यातायात पूर्वाधारको सुदृढ विकास नगर्ने हो भने हिमाली क्षेत्रका गाउँहरू क्रमश: उजाड हुँदै जाने निश्चित छ । स्थानीयको भनाइमा सरकारले स्थानीय उत्पादन, पर्यटन र सीमा व्यापारलाई प्रोत्साहन दिएरमात्रै बसाइँ सराइको प्रवृतिलाई रोक्न सकिन्छ ।