मानसरोवर कैलाश दर्शनको मौसम सकिँदा हुम्ला सुनसान

रेशमराज रोकाया
हुम्ला, असौज,२८
मानसरोवर कैलाश दर्शनको लागि छोटो दुरी र सुरक्षित स्थलको रुपमा हुम्ला मानिने गरिएको छ । हवाई जहाजबाट हुम्लाको सिमकोट र सिमकोटबाट नेपाल–चीनको सिमा हिल्साबाट सडकमार्ग हुम्दै दर्शन सहज गर्न हुम्ला प्रसिद्ध रहेको छ । यस वर्ष यहि स्थानबाट हुम्लाको हिल्सा हुँदै चीनमा रहेको मानसरोवर कैलाश दर्शन गर्न भारतीय तीर्थयात्रीको यात्रा सम्पन्न भएको छ ।
हुम्ला उच्च हिमाली जिल्ला भएकाले चिसो बढ्दै जानु र सडक मार्गमा हिमपात भई अवरोध हुनुको कारण यो वर्षको तिर्थयात्रा सकिएको छ । हुम्लाबाट भारतीय तीर्थयात्रीको मानसरोवर कैलाश दर्शनको तालिका सकिएको होटेल व्यवसायी रिन्जिन लामाले बताउनुभयो । काठमाण्डौँ, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर पवित्र धार्मिक तीर्थस्थल मानसरोवर जाने तीर्थयात्रीको यो वर्षका लागि यात्रा सकिएको छ । कोरोना संक्रमणपछि हुम्लामा भारतीय तीर्थयात्री ठूलो संख्यामा हुम्ला भएर दर्शन गरेकोले सदरमुकाम सिमकोट र चीनसँगको सिमानाका हिल्सामा रहेका होटल व्यवसायी यो वर्ष राम्रो आम्दानी गरेको लामाले बताउनुभयो । एक होटलले दश लाखभन्दा माथि कमाई गरेका छन् । अन्य देशका जिल्लाका विभिन्न स्थानमा घुम्नका लागि आउने एक, दुई जना फाटफुट भए पनि यात्रा र भ्रमण गर्ने गरेका छन् ।
साढे ६ हजार विदेशी पर्यटक हुम्ला प्रवेश
छिमेकी मुलुक चीनसँग नेपालको हुम्ला हिल्सा नाका गत वैशाख १८ गते खुलेपछि छ हजार चार सय सात जना विदेशी पर्यटक हुम्ला भित्रिएका छन् । जेठ महिनादेखि असोज महिनाको पहिलो हप्तासम्म नेपालगञ्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने करीब छ हजार भारतिय तीर्थयात्री पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताउनुभयो । प्रहरी नायव उपरिक्षक पोखरेलले भन्नुभयो, “अन्य देशका चार सय पचास जना सहित हुम्लामा छ हजार चार सय सात जना विदेशी पर्यटक हुम्ला पुगेका हुन् । जेठ महिनाको दोस्रो हप्ताबाट पहिलो विदेशी पर्यटकहरु हुम्ला भएर मानसरोवर दर्शनका लागि २५ जना विदेशी पर्यटक यहाँ पुगेका थिए ।” हुम्ला घुम्नका लागि अन्य देशका पर्यटक आउन सक्लान तर मानसरोवर दर्शन गर्न आउनेको यो अन्तिम रहेको छ ।
मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको रुट छोटो दुरीमा पर्ने भएकोले जेठ, असार, साउन, भदौ र असोज महिनाको पहिलो सातासम्मका दैनिक दिन सिमकोट विमानस्थलमा विदेशी तीर्थयात्रीको चाप बढ्ने गरेको थियो ।
कोरोना संक्रमण पछिकै उच्च आवागमन
छिमेकी मुलुक चीनले कोरोनापछि हिल्सा नाकालाई हुम्ली सहित भारतीय पर्यटकहरुका लागि खुला गरेपछि धार्मिक पर्यटकहरुको संख्या बृद्धि उच्च भएको पाईएको छ । जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट कर समेत उठाउँदै आएको छ । भारतीय प्रति व्यक्ति तीर्थयात्रीबाट रु ११ सय राजश्व संकलन गर्दै आएको छ भने अन्य देशका पर्यटकबाट रु १ हजार ५ सय शुल्क लिने गरेको छ ।
मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय हुम्ला पुगेका ५ हजार ९ सय, ५७ जनाबाट ६५ लाख ५२ हजार साय रुयैयाँ शुल्क हुन आउछ । भने देशका पर्यटकबाट रु ६ लाख ७५ हजार रुपैयाँ हुन आउछ । सोही मात्रामा चीन सिमासँग जोडिएको नाम्खा गाउँपालिकाले समेत कर संकलन गरेको छ ।
निजी जहाज पूर्वका जिल्लामा, हुम्ला सुनसान
पर्यटक र भारतिय तिर्थयात्रीलाई मात्र ध्यान दिई नेपालका आन्तरिक उडान गर्ने सिता, तारा र समिट ईयरले आन्तरिक यात्रीलाई भने प्राथमिकता नदिने गरेको छ । आन्तरिक यात्री दशैं, तिहार र अन्य कामले जिल्ला भित्रिने र बाहिरिने यात्रीको लागि प्राथमिकता नदिएर पूर्वतिर उडान भर्न व्यस्त देखिएका छन् । सिताले मात्रै दैनिक नेपालगञ्ज हुम्ला उडान गरिरहेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताउनुभयो । बाँकी रहेका भारतीय एक सय जना तीर्थयात्री सीता एयरले हुम्लाबाट नेपालगञ्जमा ओसारेको छ । अन्य जहाज यतिबेला यता सिजन सकिएपछि पूर्वमा उडान भरिरहेका छन् । सिता ईयरको जहाज पनि केही दिनपछि नेपालका पूर्वमा उडान भर्ने योजना रहेको बताईएको छ ।
सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले हप्ता एक पटक आफ्नो उडान तालिका अनुसार उडान भरिरहेको छ । नाफामुखी जहाजले यतिबेला पूर्वमा उडान भर्दा दशैँ तिहार सकिएपछि जिल्ला जाने यात्रु र विरामी समेत अब मर्कामा पर्ने भएका छन् ।
पर्यटक आउँदाको समय दैनिक विहानदेखि बेलुका पाँच बजेसम्म व्यस्त देखिएको सिमकोट विमानस्थल यतिबेला सुनसान देखिएको छ । जेठ, असार, साउन र भदौ महिनामा सिमकोट विमानस्थल निकै व्यस्त देखिनुका साथै नागरीकको समेत बाक्लो चहलपहल देखिएपनि असोज महिनाको दोस्रो हप्तादेखि सुनसान जस्तै देखिन थालेको छ । मानसरोवर कैलाश दर्शन यात्रा सकिएसँगै निजी जहाज पूर्वमा उडान भर्दा विमानस्थलमा चहलपहल कम देखिएको हो ।
आन्तरिक पर्यटक पनि वृद्धी
कैलाश मानसरोवरको दर्शनको लागि आन्तरिक पर्यटक सुर्खेत हुँदै कर्णाली करिडोर मार्ग भएर आउने आन्तरिक पर्यटकको संख्याप नि यो वर्ष बढेको पाईएको छ । सडक मार्ग कच्ची भएको कारण घुम्न आउने पर्यटकको संख्या उल्लेख्य नभएको भएता पनि सडकको गुणस्तर बढाउन सकिएमा नेपालको एक पर्यटकको गन्तव्य स्थलको रुपमा हुम्ला विकास हुन सक्ने पर्यटन व्यवसायीको भनाई रहेको छ ।
कच्ची सडकलाई बिस्तारै कालोपत्रे गर्न सुरु गरिएको भएता पनि ठाउँ ठाउँको हिलाम्मे बाटोले पर्यटक मात्र नभएर जिल्लावासीले समेत सास्ती भोग्दै आएका छन् । जिल्लाका विभिन्न पर्यटकिय स्थानको प्रचार प्रसार नगरिनु, यहाँको यात्रा अति नै खर्चालु हुनु र बाटोको सहजता नहुनुको कारण आन्तरिक पर्यटकले हुम्लाको भ्रमण गर्न असहज मान्ने गरेका छन् । त्यसै गरी यातायात व्यवसायीले मनपरी भाडा असुल्नुले पनि आन्तरिक पर्यटकको रोजाई नहुने यहाँका जानकारको भनाई रहेको छ ।