हुम्लाका हुम्लाका किसान बालीनाली भित्र्याउनमा व्यस्त, आम्दानीमा कमी

रेशमराज रोकाया
हुम्ला, असौज, ३०
हुम्लाका सबैजसो भागका किसान कार्तिके बाली भित्र्याउनमा व्यस्त रहेका छन् । जिल्लाभर दुई बाली मात्र पाक्ने हुम्लाका किसान अहिले विभिन्न प्राँगारिक बाली नाली घर भित्र्याउनमा भ्याई नभ्याई गरिरहेका छन् । गाउँमा रहेका विभिन्न प्राँगारिक बालीहरु यति खेर पाकी सकेका छन् । पाकेका बालीनालीलाई भित्र्याएर पशुवस्तुको घर भित्र्याउनमा पनि चटारो रहँदै आएको छ ।
बडादशैं मनाईसके पछि पशुवस्तुलाई हिउँदमा चाहिने घाँस काट्ने र थन्क्याउने काम पनि यहि मौसममा गर्ने गरेका छन् । मनसुन सकिए लगत मौसम सफा भएसँगै बाली भित्र्याउने चटारोले हुम्लाका किसानलाई छोएको छ । आलु खन्ने, कोदो, चिनो, टिप्ने, फापर चुट्ने, काउनी माड्ने, ओखर र स्याउ लगायतका फलफुललाई टिप्ने लगायतका काममा हुम्लाका किसान व्यस्त रहने गरेका छन् ।
यो मौसममा बालीनाली भित्र्याउन सकिएन र घाँस संकलन गर्न सकिएन भने हुम्लाका किसानलाई पशुवस्तु हिउँदमा हिउँ पर्ने हुनाले पाल्नको लागि गाह्रो हुने गरेको छ । हिउँले सबै जसो चरन क्षेत्र ढाक्ने र पशुवस्तुलाई घाँस हालेर घरमा नै पाल्नु पर्ने भएको कारण किसान व्यस्त हुने गरेका छन् । कार्तिकको विचबाट हुम्लाका अधिकाँश भुभागमा हिउँ जम्ने हुनाले चिसो समेत ह्वात्तै बढ्ने गरेको छ । हिउँदको बेला लेकका पाल्न लगेका पशुवस्तु घरमा नै पाल्न सुरु गर्ने गरिन्छ ।
एकै घरका भेडा बाख्रा १ सय देखी ५ सय सम्म पाल्ने व्यवसायिक किसानलाई भने अझ बढी व्यस्तता रहेने गरेको छ । यो बेलामा घाँस काटेर थन्क्याउन नसकेमा भेडा बाख्रा भोकै मर्ने र ठूलो क्षती व्यहोर्नु पर्ने अवस्था हुने गरेको छ । आफुसँग १ सय ५० भेडा बाख्रा रहेको र हाल घाँस कम्तीमा पनि १० हजार भन्दा बढी पुला घाँस काट्न नसके आफुलाई समस्या हुने आँकलन किसान सर्केगाड ८ का जनबहादुर ऐडीले बताए । यस पछि घाँस पनि चिसोले सुक्ने हुनाले नकाटी नहुने भनाई ऐडीको रहेको छ ।
प्राँगारिक बालीको मुल्य नहुँदा किसानको आम्दानीमा ह्रास
हुम्ला जिल्लाका हरेक भुभागमा प्राँगारिक खेती किसानले गर्ने गरेका छन् । किसानले उत्पादन गर्ने आलु, गहुँ, धान, चिनो, मकै, कोदो, फापर, मार्से लगायतका बालरी प्राँगारिक मात्र नभएर उच्च उचाईमा फल्ने हुनाले औषधिय गुण हुने गरेको छ । औषधिय गुण भएका बालीनालीको विश्वमा अति नै उच्च मूल्य हुने गरेको भएता पनि यातायातको उचित व्यवस्थापन र बजार नपाउँदा यहाँका बालीनाली कुहिने गरेको छ । स्थानियलाई आफु खाएर बाँकी रहेको अन्न बाली बेच्नको लागि नजिक रहेको गाउँपालिका केन्द्रमा लगेमा कोही कसैले नकिन्ने र शहरी भागमा लिनको लागि किसानलाई महँगो पर्ने हुनालो किसानको अन्य खेर गईरहेको छ ।
उत्पादित अन्न बालीलाई स्थानिय सरकारले पनि किनबेचमा केही पहल नगरिँदा किसानलाई आम्दानीमा कमी आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुँला शाखाले हुम्लाको नाम्खा, सिमकोट र सर्केगाड गाउँपालिकाबाट सिमि र चिनो खरिद गर्ने गरेको भएता पनि यो प्रयाप्त नभएको किसानको गुनासो रहेको छ । गत वर्ष किसानले केही मात्रामा सिमि र चिनो बेचाईबाट आम्दानी गरेको भएता पनि यो वर्ष लिमिटेडले सबै जसो गाउँपालिकामा खरिद गर्ने व्यवस्था गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, हुम्ला शाखाका वरिष्ठ सहायक कैलाश ऐडीले बताए । गएको आर्थिक वर्षमा प्रशोधन गरेर समेत किसानलाई राहत दिएकोमा यो वर्ष यसको दायरा अझ बढाउने ऐडीको भनाई रहेको छ ।
हुम्लाको अति नै स्वादिष्ट स्याउ भने व्यापाले खरिद गरी शहरमा विक्री गर्ने गरेको भएता पनि यो वर्ष जिल्ला बाहिर निकाशी गर्ने गरी स्याउ नफलेको किसानको भनाई रहेको छ । किसानको बारीमा फलेका स्याउ स्थानिय स्तरमा विक्री हुने र गाडीमा नै लोड गरी विक्री गर्ने उत्पादन नभएको सर्केगाड ८, फुचाका किसान धनराज बुढाले बताए । केही मात्रामा स्याउ उत्पादन भएको तर सडक नहुँदा बजार सम्म लिन नसकिएको बुढाको रहेको छ । जिल्लाका ७ वटै गाउँपालिकाबाट व्यापारीले गत वर्ष स्याउ खरिद गरेका भएको भएता पनि यो वर्ष भने व्यापारीले संकलन गर्ने अवस्थाको स्याउ नफल्दा किसानलाई आम्दानी कम हुन गएको छ ।