२ कार्तिक २०८२, शनिबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
९ वर्ष विदेशपछि गाउँ फर्किएर कृषि, मासिक ९० हजार आम्दानी - Himalaya Raibar
कृषि

९ वर्ष विदेशपछि गाउँ फर्किएर कृषि, मासिक ९० हजार आम्दानी

बिहानदेखि बेलुकीसम्म गाईभैंसीको स्याहारसुसार गर्नु सिन्धुपाल्चोकका कुमार आचार्यको दैनिकी हो।

बिहान ५ बजेदेखि साँझ नपरूञ्जेलसम्म उनी गाईभैंसीको गोबर, भकारो, सोत्तर र खोलेपानी घाँसको बन्दोबस्तमै व्यस्त हुन्छन्। नौ वर्षमा चारभन्दा बढी देश चहारेर वैदेशिक रोजगारमा हन्डर खाएपछि उनी अहिले कृषि पशुपालनमा आकर्षित भएका हुन्।

‘मिश्रित कृषि पशुपालन तथा एग्रिकल्चर फार्म’ बाट आधुनिक कृषि प्रणालीलाई अवलम्बन गरेका आचार्यको गोठमा चारवटा भैंसी र सातवटा गाई छन्।

पशुपालनबाहेक उनले झन्डै ४० रोपनी जग्गामा गोलभेँडा खेती गरिरहेका छन्। पाँचवटा टनेलमा गोलभेँडा खेती गरिरहरेका आचार्यले १० रोपनी जग्गामा अदुवा र बेसार खेतीसमेत गरेका छन्।

मलेसिया, कतार, साउदी, भारतको तातो घाममा आचार्यले पसिना बगाए। अहिले स्वदेशमै पसिना बगाइरहेका छन्। विदेशमा कमाएको केही पैसाले कृषिमा लागेका आचार्यले झन्डै ३० रोपनी जग्गामा फूल, कागती, आँप, लिची खेती पनि गरेका छन्।

कृषिका विभिन्न आयामहरूसँग जुधिरहेका आचार्य अब बाँकी जीवन सुखसाथ कृषि पेसामै बिताउने बताउँछन्।

‘अब बाँकी जीवन स्वदेशमै बिताउँछु। आफ्नै गाउँको माटोमा पसिना बगाउँछु,’ उनले भने। कृषि सुकिलो मुकिलो नभए पनि आत्मनिर्भर पेसा रहेको उनी बताउँछन्।

मान्छेले झट्ट कृषि पेसा नरोज्ने आचार्यको बुझाइ छ।

‘मान्छेले झट्ट कृषि पेसा रोज्दैनन्। प्रायः धेरै सुकिलो मुकिलो भएरै हिँड्न मन पराउँछन्। तर कृषिमा सधैंभरि सुकिलो मुकिलो भएर हिँड्ने छुट छैन। कृषिमा त गोबर, भकारो, माटोसँग रमाउन सक्नुपर्छ,’ उनले भने।

उनी आफ्नै गाउँको चिसो हावा र माटोसँग खेल्दा जति आनन्द विदेशमा काम गर्दा नआएको बताउँछन्।

संघर्ष गर्ने उमेरको आधाआधी जीवन विदेशमा बिताएका आचार्य नेपाली युवालाई खाडी मुलुक नजान सुझाउँछन्।

‘नेपालमै आयस्रोतका धेरै आयाम छन्। नेपाली युवा काम गर्ने वातावरण छैन भन्दै विदेश हुँइकिन्छन्। त्यहाँ पनि कामै गर्ने हो, पसिनै बगाउने हो। त्यो पसिना नेपालमै बगाए राम्रो हुन्थ्यो,’ उनले भने।

आचार्य ११ वटा गाईभैंसीको झन्डै सय लिटर दूध मोटरसाइकलमा हालेर बजारसम्म पुर्‍याउँछन्। गाईवस्तुको खानपान र औषधिबाहेक पनि आचार्यको हातमा मासिक ९० हजार रूपैयाँ पर्छ।

‘गरे जे पनि हुने रहेछ। विदेशमा ३० हजार कमाउन रात दिन नभनी काम गर्नुपर्थ्यो। तर म अहिले घरै बसीबसी ९० हजार कमाउँछु,’ उनले भने, ‘विदेशमा ३० हजार कमाउन अठार–अठार घण्टा काम गरियो। आज ती दिन सम्झँदा आङै सिरिंग हुन्छ।’

युवालाई कृषिमा प्रोत्साहन गर्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर बन्ने उनी बताउँछन्।

‘नेपालबाट दैनिक सयौं नेपाली विदेश जान्छन्। त्यसलाई रोकेर कृषिमा युवालाई प्रोत्साहन गर्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर हुन्छ,’ उनले भने।

आचार्यले नेपालमै नयाँ र नौला प्रयोगमा रहेको सिताके च्याउको समेत व्यावसायिक खेती गरिरहेका छन्। २०७५ सालमा पाँच सय मुढाबाट व्यावसायिक च्याउखेती सुरू गरेका उनले अहिले १५ सय मुढामा गरिरहेका छन्।

च्याउखेतीको बजार राम्रो रहेको तर उत्पादन ढिला भएको उनले बताए।

‘बजारमा सिताके च्याउको माग अत्यधिक छ। तर उत्पादन ढिला भइरहेको छ। यसले पनि हामीले बजार माग सम्बोधन गर्न सकिरहेका छैनौं,’ उनले भने।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button