हुम्लाका दुई युवा उद्यमी प्रदेशमा हुम्ला चिनाउँदै
रेशमराज रोकाया
हुम्ला–कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर, सुर्खेतमा दुईजना व्यवसायीले व्यवसाय सुरु गरेका छन् । विशेष गरी हुम्लामा उत्पादन हुने अन्नबाली र स्थानिय हस्तकलाका सामानको प्रवद्धन गर्नको लागि व्यवसायी लागि परेका छन् । कर्णाली प्रदेश सरकारले औधोगिक ग्राम संचालन मार्फत हरेक स्थानिय तहमा संचालनमा रहेका उद्योगलाई प्रदेश स्तरीय रुपमा प्रोत्साहन गर्नका लागि कार्यक्रम ल्याए पछि हुम्लाका दुईजना व्यवसायीले अवसर पाएका हुन् ।
हुम्ला चंखेली गाउँपालिकाका पूर्व अध्यक्ष धनलाल चौलागाई औधौगिक ग्रामले निर्माण गरेको ३ वटा सटरमा कुटानी पिसानीको मिल सहित व्यवसायमा लागेका छन् । चौडिल कुटानी पिसानी उद्योग, लघु औद्योगिक ग्राममा ३ वटा मेसिन सहित हुम्लाका जैविक उत्पादनलाई विक्रि गरिरहेका छन् । हुम्लामा उत्पादन हुने मार्सी चामल, कागुनो, चिनो, जौ, भटमास, लट्टे सिलाम, कोदो संकलन गरी सुर्खेतमा रहेको मिलमा कुटानी गरेर विक्रि गरिरहेका छन् ।
वेरोजगार युवालाई स्वदेशमा नै उत्पादन भएका वस्तुको विक्रि तथा प्रवद्र्धन गर्न सके नेपालमा नै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पूर्व गाउँपालिका अध्यक्ष धनलाल चौलागाइको रहेको छ । हुम्लामा उत्पादन हुने हरेक अन्नबाली जैविक रहेको र सोबाट उत्पादित अन्न औषधिय गुण भएको कारण पनि यसको महत्व अझ बढी रहेको चौलागाई बताउँछन् । सरकारले अझ जैविक खानेकुराको प्रवद्र्धनको लागि सहुलियतका कार्यक्रम ल्याउन सके किसानले उत्पादन बढाउन सक्ने र आम्दानी लिन सक्ने अर्को तर्फ उपभोक्ताको स्वास्थ्यमा समेत सुधार आउने भएकोले हुम्लाका अन्नबालीको महत्व बढ्दै गएको छ ।
सरकारले ढुवानी र सडक पूर्वाधारको विकास गर्न सकेमा सहज रुपमा हुम्लामा उत्पादित वस्तु र अन्न बाली सस्तो सुलभ हुने स्थानिय व्यापारीको रहेको छ । हाल प्रति किलो १० मा सुर्खेत ल्याउनु पर्ने भएको कारण पनि अन्नबालीमा केही लागत बढ्न गएको र महँगो हुने गरेको छ । आउने वर्षमा स्थानिय बालीको विउ किसानलाई वितरण गर्ने र उत्पादित बस्तुको खरिदको लागि पहिले नै किसानसँग सम्झौता गर्ने गरी चौलागाईले नयाँ योजना किसानलाई दिने भएका छन् । किसानलाई उत्पादित वस्तुको विक्रिको सुनिश्चितता भएमा अझ बढी उत्पादन गर्नमा प्रेरणा जाग्ने चौलागाईको विश्वास रहेको छ ।
त्यसै गरी वषौं देखी स्थानिय हस्तकलाका सामान बुन्ने तालिमका प्रशिक्षक समेत रहेका अदानचुलीका सुझाव ढकाल पनि सुर्खेत व्यवसायको लागि झरेका छन् । हुम्लाको दक्षिणमा रहेको ताँजाकोट र अदानचुलीमा उत्पादन हुने अल्लो प्रशोधन त्यसबाट बन्ने कपडाबाट जुत्ता, चप्पल, कोट, दौरा–सुरुवाल, टोपी, गलबन्दी, सल र अन्य कपडाको बुनाईको मेसिन सहित औद्योगिक ग्रामको सटरमा व्यवसाय गरिरहेका छन् ।
पेशामा लागेको करिब १३ वर्ष भयो सरकारी तवरबाट पहिलो पटक सानै भए पनि सहयोग हुँदा सुर्खेतमा प्रदेश स्तरिय व्यवसाय गर्न पाएकोमा ढकाल खुसी छन् । अल्लो र गाँजको रेशाबाट बन्ने कपडा स्वस्थ र बलियो हुने भएकोले यसको प्रचार प्रसार गर्न सकेको खण्डमा हुम्लाका किसानले फाईदा लिन सक्ने देखिएको छ । व्यवसायिक रुपमा नै गाँजा र अल्लोको खेती नगरिएको भएता पनि हाल स्वःत स्फुर्त रुपमा जंगलमा उम्रने गरेको अल्लोको रेशाको खरिद ढकालले गरिरहेका छन् । उद्योगको लागि यो रेशा प्रयाप्त नभएको भएता पनि यसको प्रवद्र्धनमा स्थानिय सरकार देखी केन्द्रिय सरकारको बेलैमा ध्यान दिनु पर्ने उनको जोड रहेको छ ।
हाल अल्लो र गाँजाबाट बनेका कपडा विदेशीले मात्रै पहिरनमा मन पराउने भएको र यसको लागत पनि उच्च हुने भएकोले महँगो हुँदा स्वेदेशी ग्राहकलाई लक्षित गरी उत्पादन बढाउन सकेको खण्डमा स्वदेशमा नै रोजगारी प्रशस्त सिर्जना हुने सम्भावना देखिएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा आधुनिक मेसिनबाट बुनाई सम्वन्धी तालिम दिएका ढकालले धेरैलाई रोजगारीको लागि सीप प्रदान गरीसकेका छन् । सरकारी तवरबाट सञ्चालन हुने तालिम र अन्य उद्योगीलाई सहयोग हुने कार्यक्रमले वास्तविक उद्यमीलाई सहायता गर्न नसकेकोमा ढकालको दुखेसो छ ।
हुम्लामा उत्पादन हुने हरेक वस्तु जैविक हुने र जैविक उत्पादनमा सरकारले सहयोग गर्न सकेको खण्डमा रोजगारी सिर्जना हुने, मुद्रा नेपालमा नै रहने र किसानको उत्पादनको मुल्य पाउने भएको कारण पनि हुम्लाका दुई युवा सुर्खेतमा हुम्ला के हो, हुम्लाका उत्पादनका विशेषता के हुन् भन्ने चिनाउन लागि परेका छन् । विदेशी उत्पादन भन्दा स्वदेशी उत्पादन र उपभोग उपयोगमा उनीहरुको योगदानलाई उचित मुल्याँकन प्रदेश सरकारले गर्न सकेको खण्डमा युवामा रोजगारीको आशाको दियो बल्ने सुनिश्चितता हुने रहेको छ ।