‘प्रचण्डले दिएको आश्वासन झल्झली सम्झिरहेको छु’
यस पटकको निर्वाचनमा तीन र एक स्वतन्त्रसहित ४ सिट लिएर संघीय संसदमा प्रवेश गरेको छ, नागरिक उन्मुक्ति पार्टी । यस पार्टीका संस्थापक हुन्, रेशम चौधरी । पार्टीका संरक्षक रहेका चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा संघमा प्रत्यक्षतर्फ तीन सिट र प्रदेशमा आठ सिट ल्याएको छ । पार्टीले समानुपातिकतर्फ अझै थ्रेस होल्ड कटाउन सकेन । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ यस पार्टीले २ लाख ७२ हजार मत प्राप्त गरेको छ ।
मंसिर ४ गते भएको निर्वाचनमा उनकी पत्नी एवं पार्टी अध्यक्ष रञ्जना श्रेष्ठ कैलाली निर्वाचन क्षेत्र नं १ बाट ३० हजार ४०४ मतसहित निर्वाचित भइन् ।
२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा संलग्न भएको अभियोगमा जेल सजाय भोगिरहेका रेशमको पार्टी निर्वाचन परिणाम आएसँगै सरकारलाई समर्थन त गर्यो तर सरकारमा गएन । संघीय सरकारमा किन गएन भनेर यसबेला जनचासोको विषय छ । तर प्रदेश सरकारमा भने जाने तरखरमा छ ।
यही विकसित राजनीतिक घटनाक्रम र सरकार गठनलगायत समसामयिक विषयमा ल्लीबजार कारागारमा रहेका रेशम चौधरीसँग गरेको संवाद :
जेलको समयलाई कसरी प्रयोग गर्दै हुनुहुन्छ ?
मलाई सब ठीक छ । चुनावको तनाव हटेको छ । म आजभोलि नयाँ किताबको प्रकाशनको तयारीमा छु । साथै राजनैतिक विषयमा पनि पार्टीभित्र व्यापक छलफल भइरहेको छ । भेटघाटमा रहन्छु । साहित्य पनि लेखिरहेको छु ।
चुनावमा नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशमा उल्लेख्य जनप्रतिनिधि जिताएको छ, यसलाई कुन रूपमा लिनुभएको छ ?
परिवर्तन चाहने जनताले हामीलाई मत दिएर जिताउनुभएको छ । यो भनेको जनताको अदालतमा हामीले न्याय पाएसरह हो । हामीलाई जनताले न्याय दिइसकेका छन्, तर राज्य अझै हामीलाई अपराधी करार गरिरहेको छ ।
लोकतन्त्रमा जनमत नै विधिको शासन हो भन्छन्, तर यहाँ शासकहरू मतलाई कुल्चेर थारूमाथि दमनको निशाना कायमै राखिरहेका छन् । हामीले जनमतलाई उत्साहको रूपमा लिएका छौं ।
सरकारमा जान तपाईंको माग र मुद्दा के के छन् ?
मेरो मुख्य माग त टीकापुर घटना राजनीतिक हो, यसलाई त्यही रूपमा टुंग्याउनुपर्छ भन्ने हो । टीकापुरका राजबन्दीहरू जेलमा छन् । उनीहरूको सबै लुटिएको छ, सम्मानजनक रिहाइ र क्षतिपूर्तिसहित राज्यले छाड्नुपर्छ ।
लाल आयोगको प्रतिवेदन किन लुकाएर राखेको भनेर सरकारसँग माग गर्दछु । जनताको नजरमा मलाई किन दोषी देखाएर लाल आयोग लुकाएको भनेर प्रश्न गर्न चाहन्छु । लाल आयोगको प्रतिवेदन कहिले हो सार्वजनिक गर्ने ?
नागरिक उन्मुक्ति पार्टीको अबको योजना के छ ?
हामीले जनताको मन जित्दै गएका छौं, मतमार्फत । पहिलो पटक २०७४ सालमा पनि शानदार मतका साथ म आफैं त्यसबेला राजपाबाट विजयी भएँ । भर्खरै मंसिर ४ को चुनावबाट पनि जनताले ढकियाभरी भोट दिएर जिताए । यसकारण हामी अब मतमार्फत जनताको मन जित्न चाहन्छौं, देशैभरि ।
म शान्ति चाहने मान्छे हो । बुलेट होइन ब्यालेटबाट मन जित्न तयार हौं भनेर भन्दै हिंड्ने मान्छे । तर राज्यले एउटा कमैयाको छोरा हो भनेर परिबन्दमा पारेपछि सबै थारू समुदाय जागेका छौं ।
देशभर शान्ति, चेतना र सजगताले काम लिने योजनामा छौं । तर, राज्य र शासकले दबाउन खोजे जनताको दैलोमा जान्छौं, उनीहरूले हामीलाई जे न्याय दिन्छन्, त्यही लागू गर्छौं ।