५ चैत्र २०८२, बिहीबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
चामल खुवाउन ‘हेली चार्टर’ - Himalaya Raibar
Banner Newsकर्णाली प्रदेशताजा समाचारदेश

चामल खुवाउन ‘हेली चार्टर’

जनतालाई चामल वितरण गर्न हेलिकोप्टर चार्टर गरिएको छ। हुम्लामा खाद्य संस्थानले हिउँ पर्नुअघि जनताका घरघरमा चामल झार्न हेली चार्टर गरी चामल उपलब्ध गराएको हो।

चामल अभाव नहोस् भनेर सुर्खेतबाट गाडीमा हुम्लाको सार्केघाट गाउँपालिकाको सालतडीमा स्टोर गरेर त्यहाँबाट हेलिकोप्टरले ढुवानी गर्ने गरेको छ। हेली चार्टर गरेर चामल हुम्ला सदरमुकाम सिमकोट पुगेसँगै विभिन्न पालिकाबाट चामल लिन आउने गर्छन्, जसका कारण हिउँ पर्नुअघि जनताका घरघरमा चामल पुगिसक्ने बताइएको छ।

हुम्लामा चामल अभाव हुन थालेसँगै सिम्रिक एयरको हेलिकोप्टरबाट चामल लग्न थालिएको हो। सिमकोट गाउँपालिकाभर र अन्य पालिकामा सिमकोटबाट सडकमार्फत चामल वितरणका लागि खाद्य संस्थानले सडक नहुँदा हेलिकोप्टरमार्फत चामल लगेको हो।

सिमकोट गाउँपालिका अन्य पालिकामा सिमकोटबाट वितरण गर्ने गरी हेलिकोप्टर चार्टर गरेर चामल ओसार्ने गरिएको व्यवसायी विजय लामाले बताए। सार्केघाट गाउँपालिकाको सालतडीबाट दैनिक २३ पटकसम्म हेलीले चामल सिमकोटसम्म बोक्ने गरेको छ।

सालतडीबाट हुम्ला सिमकोटसम्म सडक सञ्जाल जोड्न १२ सय मिटर बाँकी छ। भिरालो र हिँड्ने बाटो जोखिमपूर्ण भएकाले हेलीका लागि दूरी नजिक हो। हेलीबाट सिमकोटका आठवटा वडासहित हुम्लाका विभिन्न गाउँपालिकामा खाद्य संस्थानमा चामल पुग्ने गर्दछ।

हुम्लामा हिमपात हुनुअघि कम्तीमा तीन महिनाका लागि चामल खाद्य संस्थानमार्फत स्थानीयले घरघरमा लगिसक्नुपर्ने स्थानीय नन्दकुमार सिंहले बताए। ‘यसपालि हिउँ खासै पर्न सकेको छैन’, स्थानीय सिंहले भने, ‘हिमपात हुनुअघि चामललगायतका अत्यावश्यक खानेकुरा घरमा राखिसक्नुपर्छ।’

राष्ट्रिय सडक सञ्जाल सुर्खेत, दैलेख हुँदै कालिकोट, बाजुरा, हुम्ला सदरमुकामनजिक पुगेको छ। हुम्ला सदरमुकामबाट सडक खनिए पनि कडा चटान फोड्ने काम भइरहेको छ। जोड्न बाँकी १२ सय मिटर भाग निर्माण भए हुम्ला सदरमुकाम गाडी पुग्छ। ट्र्याक खोल्न अझ ६ महिनादेखि एक वर्ष लाग्ने बताइएको छ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button