रैथानेबालीको परिकार बनाउने तालिम सम्पन्न
हुम्ला, रैथाने बालीलाई मिष्ठान्न भोजन बनाएर उपभोग गर्नको लागि सीपको कमी भईरहेको बेला विभिन्न परिकार बनाउने तालिम स्थानिय महिलाले पाएका छन् । सिमकोट गाउँपालिकाको वडा नं. ८, स्याँडा वडामा रैथाने बालीको परिकार तयार गरेर स्थानीय महिलाले त्यसको प्रदर्शनी गरेका छन् । रैथाने बालीको नयाँ किसिमका परिकार तयार गरी उपभोग गर्न र बिक्री गरेर आम्दानी पनि गर्न सकिन्छ भनेर यसको प्रदर्शनी गरिएको हो ।
सिमकोट गाउँपालिका– ८ का वडाध्यक्ष कमल बुढाका अनुसार दैनिक चुलो–चौकोमा लाग्ने महिलाले रैथाने बालीको परिकार तयार पार्न तालिम दिइएको बताए । वडाका ४० जना महिलाले परिकार तयार पार्ने सीप सिक्दै परम्परागत परिकारभन्दा नयाँ–नयाँ परिकार तयार पारेका छन् ।
परिकार बनाउने सीप सिकेर उपभोग गर्ने नयाँ तरिका सिक्न पाएकोमा तालिममा सहभागि अधिकाँश महिला खुसी भएका छन् । उनले स्थानीय महिलाद्वारा यसो गर्नुको मुख्य कारण गाउँमै उत्पादन भएको रैथाने बालीबाट पनि धेरै प्रकारका परिकार तयार हुने, त्यसको उपभोग गर्नुपर्ने र यसबाट पनि आर्थिक कमाइ गर्न सकिन्छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको हो।
यसअघि रैथाने बाली कोदोको रोटी, चिनोको भात, फापरको रोटी, कागुनोको भात मात्र बनाएर उपभोग गरिन्थ्यो तर प्रदर्शनीअघि तिनै रैथाने बालीको अन्नबाट १८ भन्दा बढी परिकार तयार पारेका थिए । यसका लागि एक जना दक्ष कुकको व्यवस्था गरिएको थियो। तालिमका सहभागी स्थानीय महिलाले ढुवानी अनुदानका खाद्यान्नतर्फ बढी आकर्षित भएका स्थानीयका लागि यो परिकार तयार गरेर प्रदर्शन भएबाट धेरै कुराको शिक्षा प्राप्त भएको बताए ।
यसरी परिकार बन्ने भएपछि रैथाने बाली बिक्री हुने जानकारी स्थानीयलाई भएकाले अब यसको उत्पादन वृद्धि गर्न यो कार्य सहयोगी बनेको छ । हुम्लाबाट कोदो सहितका पाँच प्रकारका रैथाने बाली बिक्री सुरु भएको छ। यो कार्यक्रम वडाले सञ्चालन गरेको हो ।