हुम्लामा कतै औषधी अभाव कतै चाडपर्वमा पनि स्वास्थ्य सेवा

हुम्ला, असौज, ९
अति विकट जिल्ला भनेर चिनिने हुम्लामा स्वास्थ्य सेवाको लागि कठिनाई यहाँका वासिन्दाले भोग्दै आएका छन् । सामान्य सिटामोल र पखाला लाग्दा ज्यान गुमाउनु पर्ने तितो यथार्थता हुम्लामा रहेको छ । स्वास्थ्य संस्थामा प्रयाप्त औषधी नहुँदा र उपचार सेवा नपाउँदा वर्षेनी २० औं हुम्लीवासीले ज्यान गुमाउनु पर्ने अवस्था अझै रहेको छ ।
सर्केगाड ८ का तुथा बुढा मुटु रोगी हुन्, केही दिन अगाडी दशैं मनाउन भनेर सुर्खेतबाट घर फर्किए । घरमा पुगेको १ दिन पछि उहाँलाई पखाला सुरु भयो । पखालाको औषधी नभएर उपचारमा कठिनाई भयो । २ दिन पछि उपचारको क्रममा सुर्खेत ल्याउने क्रममा असौज ७ गते बाजुराको धुलाचौरमा मृत्युवरण गर्नु परेको ताजा विकराल अवस्था अझै कायम रहेको छ । तुथा बुढा एक उदाहरण मात्रै हुन्, यस्ता ज्यान गुमाउनु पर्ने अवस्था अझै हुम्लामा कायम नै रहेको छ । स्थानिय तहले स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको उचित व्यवस्थापन नगर्दा र औषत्रीको प्रयाप्त व्यवस्था नदरिँदा यस्ता समस्या आउने गरेका छन् । स्वास्थ्यकर्मीलाई खटाएको भएता पनि स्वास्थ्य संस्थामा नबस्नु समस्या हुँदै आएको छ ।
तर हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले भने नेपालीहरुको महान पर्व दशैँ–तिहार, छट लगायतको अवसरमा विगतका वर्ष जस्तै स्वास्थ्यचौकीहरुबाट स्वास्थ्य सेवामा निरन्तरता दिने भएको छ । हरेक वर्ष स्थानियले उपचारको समस्याबाट वञ्चित नहोउन् भनेर स्वास्थ्य संस्थाबाट उपचार निरन्तरता दिने गरेको छ । खानपान र मौसमी रोगबाट चाडपर्वमा स्थानिय प्रभावित हुने समस्यालाई मध्येनजर गर्दै स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा कायम राखिएको सिमकोट गाउँपालिकाले एक सूचना जारी गरेर नै जानकारी गराएको छ ।
चार्डपर्वको समयमा नागरिकहरुको स्वास्थ्यमा देखा पर्ने स्वास्थ्य समस्यालाई मध्येजनर गरी पालिका भित्र रहेका चारवटा स्वास्थ्यचौकीबाट सार्वजनिक विदाको दिनमा समेत दैनिक स्वास्थ्य सेवा प्रवाह गरिने भएको प्रमुख प्रशासकीय अधिकृत वर्षबहादुर फडेरा (कार्की)ले बताउनुभयो । साथै पालिकाभित्रका विभिन्न वडाहरुमा रहेका आधारभूत स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य ईकाइहरुबाट आकस्मिक स्वास्थ्य सेवा प्रवाह गर्न आवश्यक जनशक्ति खटाइने भएको प्रमुख प्रशासकीय अधिकृत फडेरा (कार्की)ले बताउनुभयो ।
गाउँपालिकाभित्र रहेका वडा–२ को ठेहे स्वास्थ्यचौकी, वडा– ३ को बरगाउँ स्वास्थ्यचौकी, वडा–७ को डाडाफयाँ स्वास्थ्यचौकी र वडा–८ को स्याडा स्वास्थ्यचौकीबाट नियमित स्वास्थ्य सेवा उपलब्ध हुने भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरबहादुर भण्डारीले बताउनुभयो । दशैं, तिहार र छटको सार्वजनिक विदाको समयमा प्रमुख चार स्वास्थ्य चौकीले नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारील जानकारी दिनुभयो ।
चार्ड पर्वको समयमा नागरिकको स्वास्थ्य समस्यालाई मध्ये नजर गरेर पालिकाको निर्णय अनुसार पालिकाको बाक्लो वस्ती भएका वडाका चारवटा स्वास्थ्य चौकीबाट नियमीत सेवा सञ्चालन हुन्छ । चार्डबाडको समयमा हुने खानपानले नागरिकको स्वास्थ्यमा समस्या देखिने भएकाले त्यसको पूर्वतयारीका लागि सेवा सार्वजनिक विदा शनिबारको दिनमा समेत स्वास्थ्य चौकी खुल्ला रहन्छ ।
यो सयममा विभिन्न रोग फैलनु भन्दा अगाडि नै सजग भएर काम गर्न पनि गाउँपालिकाले अनुरोध समेत गरेको छ । स्वास्थ्यकर्मी दशैँको बेला अभाव भएको हुँदा चारवटा स्वास्थ्यचौकी नियमित खुल्ला रहने र अन्य स्वास्थ्य संस्थामा अति आवश्यक परेको खण्डमा स्वास्थ्यकर्मी खटिने भएको बताइएको छ ।