६ पुष २०८१, शनिबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
‘एउटासँग चुनावी गठबन्धन, अर्कोसँग सरकार नैतिक हुँदैन’ – Himalaya Raibar
अन्तर्वार्ताकर्णाली प्रदेशदेशबिचारराजनीतिविचार दृष्टिकोण

‘एउटासँग चुनावी गठबन्धन, अर्कोसँग सरकार नैतिक हुँदैन’

संसद विघटनभन्दा आलोपालो ठीक भन्नु पर्‍यो

चुनावको समीक्षामा जुटेको माओवादी केन्द्रले सबै विकल्प खुला राख्ने बताएलगत्तै सत्ता गठबन्धनमा रहेका अरू दलहरू तरंगित भए । सोमबार गठबन्धनको बैठक बसेर यसलाई निरन्तरता दिने निर्णय गरेका छन् ।

माओवादी उपमहासचिव शक्ति बस्नेत पनि एउटा गठबन्धनबाट चुनाव लड्ने, अर्कोतिर बसेर सरकार बनाउने नैतिक नहुने बताउँछन् । भन्छन्, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाए हामीलाई आपत्तिको विषय हुन्न, तर बनाउनुस् भनेर अराजनीतिक कुरा पनि गर्दैनौं ।’

सत्तामा गठबन्धनलाई निरन्तरता दिंदा प्रधानमन्त्री र मुख्यमन्त्रीहरूमा आलोपालो हुने उनले बताए । राष्ट्रपतिको हकमा जुन दलले पहिलो पालोमा प्रधानमन्त्री लिन्छ, राष्ट्रपति अर्को दलले पाउनुपर्ने उपमहासचिव बस्नेतले बताए ।

प्रस्तुत छ, माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतसँग न्यूज हुम्लाका प्रधानसम्पादक रेशमराज रोकायासँग गरेको कुराकानीको सम्पादित अंश ः

२०७४ मा वाम गठबन्धन गर्नुभएको थियो, यो पटक लोकतान्त्रिक वाम गठबन्धन बनाएर निर्वाचनमा जानुभयो । कस्तो आयो परिणाम ?

समग्र निर्वाचन, गठबन्धनको परिणाम र त्यसभित्र माओवादी केन्द्रले प्राप्त गरेको नतिजालाई राखेर अहिलेको निर्वाचनलाई हेर्नुपर्छ । समग्र चुनावी परिणामको समीक्षा गर्दा पहिलो, दोस्रो र तेस्रो पार्टी उही रहे । यसरी हेर्दा जनताले ठूला पार्टीहरूलाई अस्वीकार गरेर अर्को विकल्प स्वीकार गरेको देखिंदैन । तर मूलधारका पार्टीहरू खुम्चिएर केही नयाँले स्पेस पाएका छन् ।

नयाँ आएका पार्टीलाई पनि जनताले पूरै विश्वास गरेका छैनन्, अलिकति स्पेस दिए । पुराना पार्टीलाई पूरै अविश्वास गरेनन्, अलिकति खुम्चिने अवस्था बनाए । अर्थात् पुराना पार्टीलाई मतदाताले केही सन्देश वा चुनौतीसहित अन्तिम मौका दिएका छन् । केही सुधार गरेर देश हाँक्नुस् भनेका छन् ।

गठबन्धनको परिणाम हेर्दा त्यो पनि अपेक्षित रहेन । गठबन्धन भएकाले सबभन्दा धेरै देखिनु स्वाभाविक भयो । तर योभन्दा सुविधाजनक बहुमतको अपेक्षा गरिएको थियो ।

माओवादीको परिणाम समीक्षा गर्दा केही सिट घटेको छ । समानुपातिकमा पनि केही घटेको छ । अघिल्लो पटक एमालेसँग सहकार्य गर्दा ५९ सिट लिएर ३५ जितेका थियौं । अहिले हामीले ४५ सिट लिएका थियौं, १८ जित्यौं । हाम्रो अपेक्षा ३० हाराहारी जितिन्छ भन्ने थियो ।

सिट बाँडफाँटका क्रममै गठबन्धनको भावनालाई कदर गरेर हाम्रो जित सुनिश्चित जस्तै भएका केही क्षेत्र हामीले छाड्यौं । सल्यान, उदयपुर, सोलुलगायत केही हामीले जितेकै निर्वाचन क्षेत्र छाडेका हौं । जित्ने सम्भावना भएका क्षेत्र पनि छाड्यौं । सायद त्यसो नगरेको भए अरू ५ सिटभन्दा बढी जितिन्थ्यो । यसबाहेक केही ठाउँमा हामी ज्यादै झिनो अन्तरले पराजित भएका छौं । कतिपय क्षेत्रमा आफ्नै आन्तरिक

व्यवस्थापनका कारण चुकेका छौं । यसरी हेर्दा ८ देखि १० सिटसम्म तल–माथि भएको छ । जे होस्, यो अपेक्षाकृत नतिजा होइन ।

कहाँ कमि–कमजोरी रह्यो भन्ने समीक्षाकै विषय छ । यो पटक करिब ३६ लाख मतदाता नयाँ आएका थिए । उनीहरूसम्म पार्टीलाई किन पुर्‍याउन सकिएन ? चुनावी रणनीतिमा कहाँ चुक्यौं ? र, समग्र परिस्थितिका कारण राष्ट्रिय जीवनमा आएको उचारचढावलाई कसरी ह्याण्डल गर्ने भन्ने समीक्षा गरिरहेका छौं ।

सो भए तपाईंहरूकै कतिपय नेताहरूले भनेको जस्तो सत्ता गठबन्धन, त्यसमा पनि कांग्रेसको भोट ट्रान्सफर नभएका कारणले यस्तो नतिजा आएको होइन ?

एकाध ठाउँमा माओवादीले कांग्रेसलाई भोट नहालेको होला । केही बढी ठाउँमा कांग्रेसले माओवादीलाई पनि भोट नहालेको होला ।

शतप्रतिशत नै ट्रान्सफर भयो भन्ने पनि होइन । पहिले पनि सबै भोट ट्रान्सफर हुन्छ भन्ने लागेको थिएन । चुनावमा आफ्नै पार्टीका भनिएका मतदाताले त शतप्रतिशत भोट हालेका हुँदैनन् भने गठबन्धनमा त्यो अपेक्षा हामीले राख्नु पनि हुँदैन । मूल रूपमा ट्रान्सफर भएकै हो, भएन भनियो भने वस्तुगत हुँदैन ।

यो चाहिं तपाईंको व्यक्तिगत निष्कर्ष हो कि माओवादीकै ?

सबैले आ–आफ्ना बुझाइ राख्ने काम भइरहेको छ । कतिपय ठाउँमा आधा ट्रान्सफर भयो, कतै त्योभन्दा बढी वा कम भयो होला । यसरी हेर्दा जहाँ दुईवटा पार्टीको मतको २५ प्रतिशत भोट पनि गठबन्धनको उम्मेदवारले पाएको छैन त्यहाँ ट्रान्सफर भएन भन्न सकिन्छ । अन्यत्र मूल रूपमा ट्रान्सफर भएकै छ ।

अघिल्लो पटक एमालेसँग गठबन्धन गर्नुभएको थियो, यसपटक कांग्रेससँग । कुन पार्टीबाट बढी भोट ट्रान्सफर हुँदोरहेछ ?

तुलनात्मक रूपले वामपन्थी मनोविज्ञानका हिसाबले एमालेसँग कम मिहिनेत गर्नुपरेको सत्य हो । तर त्यहाँ पनि शतप्रतिशत मत ट्रान्सफर भएको होइन । हामीले ५९ उम्मेदवार उठाउँदा ३५ जना मात्र जितेको हो नि ! शतप्रतिशत भोट ट्रान्सफर भएको भए त्यो बेला पनि राम्रो नतिजा आउन सक्थ्यो ।

तपाईंकै पार्टीका नेताहरू कांग्रेसको भोट ट्रान्सफर नै भएन, अब वामपन्थी दलहरू एक भएर जानुपर्छ भन्ने मत राख्न थालेका छन् । यसलाई कसरी लिनुहुन्छ ?

कांग्रेसका कतिपय साथीहरूले भनेको सुन्छु, गैरवामपन्थी सरकार बनाउन पाए हुन्थ्यो । माओवादीका कतिपय साथीहरूलाई लाग्ला, वामपन्थी सरकार भए राम्रो हुन्छ । लाग्न पाइहाल्छ, तर मूल प्रश्न संस्थागत निर्णय के हुन्छ भन्ने हो ।

तपाईंहरूले त संस्थागत रूपमै सरकार गठनमा खुला छौं भनेर निर्णय गरिसक्नुभयो, होइन ?

छलफलका क्रममा सबै खालका विषय आउँछ, तर त्यो हाम्रो पार्टीको धारणा होइन । अहिले हामी गठबन्धनमा छौं र चुनावको समीक्षा गर्न छलफलमा जुटेका छौं । यो बेला अर्को अप्सन ओपन हुँदैन । त्यो इमोरल हुन्छ ।

गठबन्धनमा समीक्षा गरेपछि एउटा निष्कर्षमा पुगौंला । अथवा कांग्रेसले नै गैरवामपन्थी सरकार बनाउँछु भन्यो भने इट्स फाइन भन्ने होला । तर मलाई लाग्दैन कांग्रेसले अहिले त्यसो भन्छ । माओवादीले पनि अहिले त्यस्तो सोचेको छैन ।

उसो भए अहिलेसम्म माओवादी केन्द्र यही गठबन्धनको निरन्तरताको पक्षमा छ ?

हामी गठबन्धनको तर्फबाट चुनावमा गयौं र करिब बहुमतकै हाराहारीमा छौं । यो अवस्थामा गठबन्धनले नै सरकार बनाउँछ । बहुमतमा रहेको गठबन्धन छाडेर अल्पमतमा रहेको पार्टी वा समूहलाई सरकार बनाउनुस् भन्ने होइन नि !

सरकार बनाएर कसरी चलाउने भन्ने न्यूनतम साझा नीति, कार्यक्रम होला, तदनुकूलका कार्य विभाजन होला । राजनीतिक क्षेत्रमा पावर शेयरिङ भन्ने टर्म बढी प्रयोग हुन्छ, तर हामी कार्य विभाजन भनौं । यो सबै एउटा निष्कर्षमा पुगेपछि बल्ल गठबन्धन नयाँ स्टेपमा अगाडि बढ्छ । अहिले हामी त्यही प्रक्रियामा छौं । चुनावको समीक्षा सुरु भएको छ । त्यसपछि न्यूनतम साझा कार्यक्रम र कार्य विभाजनमा छलफल हुन्छ । यो बेला अरू अप्सन ओपन हुँदैन ।

चुनाव एउटा विश्वविद्यालय पनि हो । पार्टीका हजारौं नेता, कार्यकर्ता फिल्डमा पुगेर आएका छन् । प्रत्येक मतदातासँग संवाद भएको छ । हामीले जे सुन्यौं, जे भन्यौं, त्यसलाई इमानदारीपूर्वक समीक्षा गरेर अगाडि बढ्ने भनेका छौं । हाम्रा कार्यक्रम, संगठन, समर्पण र निष्ठासहितका कोणबाट हामी समीक्षा गर्छौं ।

थोरबहुत छलफल भएकै होला । यही गठबन्धनलाई निरन्तरता दिन कस्ता कस्ता विकल्प आएका छन् ?

हामी समीक्षाको चरणमा छौं । त्यसपछि न्यूनतम साझा कार्यक्रम अनि कार्यविभाजन आउला ।

तपाईंहरूका पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्ने चाहना लुकाउनुभएको छैन, प्रधानमन्त्रीमा सबभन्दा ठूलो दल कांग्रेसको दाबी पनि अस्वाभाविक नहोला !

तपाईंले भनेको ढंगले मात्रै पनि सोच्दैनौं । हिजो कर्णाली प्रदेशमा मुख्यमन्त्री लिंदा कांग्रेस ठूलो दल थिएन, गठबन्धनको हिस्सेदार थियो । बागमतीमा एकीकृत समाजवादी पनि ठूलो दल भएकाले मुख्यमन्त्री लिएको होइन । अन्य प्रदेशहरूमा पनि यो लागू हुन्थ्यो ।

तर हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड स्वयंले भन्नुभएको छ– प्रधानमन्त्री हुनु वा नहुनुले गठबन्धन रहने वा नरहने भन्ने तय हुँदैन । बाँकी हामी सरसल्लाहमा गर्छौं ।

उसो भए प्रधानमन्त्रीमा माओवादीको दाबी रहन्छ ?

हिजो कर्णाली प्रदेशमा कांग्रेस मुख्यमन्त्री बन्न हुने, अहिले माओवादीले प्रधानमन्त्रीमा इन्ट्रेस्ट राख्न नहुने ? हामी (तेस्रो दल)ले प्रधानमन्त्रीमा दाबी गर्नु नै अपराध हुने भन्ने त हुँदैन नि ! हिजो गठबन्धन निर्माणकै क्रममा पनि कतिपय विषयहरूमा छलफल भएको होला, त्यसको कार्यान्वयन गर्ने होला । अहिले पनि कसरी जाने भनेर छलफल गरेर टुंग्याउने होला ।

यत्ति हो, एउटा पार्टी नेतृत्वलाई गठबन्धनका अन्य पार्टीले निशर्त, निर्विकल्प स्वीकार गर्दैनन् । किनकि यो गठबन्धन हो । एउटै पार्टीभित्र त निर्विकल्प नेतृत्व मानेको छैन, कांग्रेसभित्रै मानेको छैन । सामान्य रूपमा हेर्दा एउटा पार्टी चुनावमा गयो, फर्किएर आयो । त्यहाँ लिडरसिपको विषयमा धेरै बार्गेनिङ नहुनुपर्ने हो । तर त्यस्तो हुँदैन । आकांक्षीहरू हुन्छन्, आकांक्षा राख्न पनि पाइयो । त्यसलाई निरुपण गर्ने निश्चित विधि हुन्छन्, त्यस अनुसार टुंगिन्छ । गठबन्धनभित्र पार्टीमा भन्दा अलि फरक विधि होलान् । छलफलको विधि होला । त्यसरी नै अगाडि बढ्छौं । तर को प्रधानमन्त्री हुने वा नहुने भन्नेले गठबन्धन हुने र नहुने भन्ने निर्धारण गर्दैन, प्रभावित गर्दैन ।

तपाईंहरूले सुरु गरेको एउटा अभ्यास छ– आलोपालो । अब पनि त्यही अभ्यास गर्ने हो ?

सामान्यतया हाम्रो गठबन्धनको प्रकृति जस्तो छ, त्यसले त्यो (आलोपालो) माग त गर्छ नै । किनकि हामीले हिजो पनि त्यो अभ्यास गर्‍यौं । यो धेरै अन्यथा हो जस्तो पनि लाग्दैन ।

तर, यो नै प्रमुख होइन । चुनावको समीक्षा र न्यूनमत साझा कार्यक्रमले समग्र प्रक्रियालाई निर्धारण गर्छ । समीक्षाका निष्कर्षहरूलाई कार्यान्वयन गर्नको लागि कार्य विभाजन चाहिने हो ।

को पहिलो प्रधानमन्त्री हुने भन्ने बहस त छ नि ?

मैले भनें त– गठबन्धन खुम्चिएको छ । मूल धारका राजनीतिक पार्टीहरू अलिकति खुम्चिएका छन् । यो परिस्थितिलाई हामीले कसरी विश्लेषण गर्ने ? गठबन्धनको अपेक्षित परिणाम पनि आएको छैन । सुविधाजनक बहुमतको अपेक्षा थियो, अपेक्षित परिणाम आएन । यसको कसरी समीक्षा गर्ने ? यो परिस्थितिलाई कसरी मूल्यांकन गर्ने ? पार्टी–पार्टीमा जाँदा कांग्रेस पनि सुन्थें, अलि बढी नै अपेक्षा थियो । उहाँहरूलाई पनि पार्टी अलि खुम्चियो भन्ने लागिराखेको होला । माओवादीको पनि अपेक्षा बढी थियो । हामीले पनि समीक्षा खोजिराखेका छौं । गठबन्धन र पार्टीहरूको कोणबाट समीक्षा होला नि !

त्यसपछि न्यूनमत साझा कार्यक्रम होला, अनि त्यो (शक्ति बाँडफाँटमा) एउटा टुंगोमा पुग्छौं ।

चुनावी समीक्षा गर्दा २०६४ मा पहिलो दल बनेको माओवादी निरन्तर ओरालो लागेको छ । र, तपाईंले नै भन्नुभयो, मतदाताले पुराना दलहरूलाई सुध्रिने मौकासहित नयाँ पार्टीलाई पनि स्पेस दिए । नयाँ पार्टीको सबभन्दा नजिक माओवादी छ । यो भनेको त माओवादी तुरुन्तै सुध्रिएन भने संकट पर्छ, होइन ?

माओवादीको मात्रै होइन, सबैको हकमा त्यो लागू हुन्छ । अरू पार्टीको अवस्था हेर्दा पनि त्यो देखिन्छ । अघिल्लो पटक १२१ सिट जितेको पार्टीको पनि मत घटेको छ । त्यसैले संकटको नजिक को छ भन्नेले मात्रै पनि धेरै अर्थ राख्दो रहेनछ ।

त्यसैले सबैको हकमा लागू हुन्छ, हाम्रो हकमा झन् लागू हुन्छ । र, हामी विचार, राजनीति, संगठन, कार्यक्रम, कार्यशैली सबै पक्षको समीक्षा गर्ने कोसिस गर्दैछौं ।

प्रारम्भिक बुझाइ कस्तो छ ?

यो पटक थपिएका ३६ लाख मतदातामध्ये अधिकांशले पहिलोपटक भोट हाल्दैथिए । त्यो पंक्तिसँग संवाद गर्न हामी चुक्यौं कि भन्ने अनुभूति भएको छ ।

दोस्रो, कोरोना र पछिल्लो अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव नेपालको आर्थिक जीवनमा परेको थियो । आम जनताले त्यसरी बुझेनन्, हामीले बुझाउन पनि सकेनौं । पार्टीका नेताहरू, त्यसमा पनि सरकारमा भएका नेताका कारण यस्तो भन्ने बुझाइ रह्यो । सामान्य दृष्टिकोणले हेर्दा स्वाभाविक पनि हो किनकि विभिन्न देशमा यस्तै कारण सत्ता नै उलटफेर भएको हामीले देखेका छौं । त्यसरी हेर्दा यो पाँच वर्ष माओवादी सरकारमै रह्यो । त्यसो हुँदा माओवादीले अलि बढी भोग्नु पर्‍यो ।

तेस्रो, हाम्रो सांगठनिक जीवनलाई पनि हेर्नुपर्छ । हामी समयसापेक्ष एजेन्डा र कार्यक्रम बनाउन कहाँ चुक्यौं भनेर समीक्षा गर्ने कोसिस गर्दैछौं ।

चुनाव एउटा विश्वविद्यालय पनि हो । पार्टीका हजारौं नेता, कार्यकर्ता फिल्डमा पुगेर आएका छन् । प्रत्येक मतदातासँग संवाद भएको छ । हामीले जे सुन्यौं, जे भन्यौं, त्यसलाई इमानदारीपूर्वक समीक्षा गरेर अगाडि बढ्ने भनेका छौं । हाम्रा कार्यक्रम, संगठन, समर्पण र निष्ठासहितका कोणबाट हामी समीक्षा गर्छौं ।

शान्ति प्रक्रियामा आएपछिको १६/१७ वर्षमा माओवादीले धेरै समीक्षा गर्‍यो, कमजोरी स्वीकार गर्‍यो । तर फेरि त्यही गल्ती दोहोर्‍याइरह्यो, सत्ताबाट टाढा रहन सकेन भन्ने छ नि ?

माओवादीका लागि सत्ता, कुर्सीको मोह मात्रै होइन । माओवादीलाई राजनीतिक व्यवस्थाको संरक्षण गर्ने दायित्वबोध राम्रोसँग छ । माओवादीले धेरैलाई प्रधानमन्त्री बनायो । त्यो बेला माओवादी आफैं पनि प्रधानमन्त्री हुनसक्ने अवस्था थियो । २०७४ को निर्वाचनलगत्तै पाँच वर्ष माओवादीको नेतृत्वमा सरकार चलाउने प्रस्ताव नआएको होइन, तर हामीले अस्वीकार गर्‍यौं ।

किनकि माओवादी यो व्यवस्था र परिवर्तनका लागि लडेको पार्टी हो । त्यस कारण यो परिवर्तनप्रति सबभन्दा बढी लगाव माओवादीको छ । जब उपलब्धिमाथि प्रश्न उठ्न थाल्छ, पार्टी कहाँनेर हुन्छ ? अपमानित हुन्छ कि सम्मानित ? पार्टीगत हिसाबले लाभ हुन्छ कि नोक्सान ? सबै बिर्सिएर व्यवस्था जोगाउन लाग्यौं । त्यही भएर कहिले एमालेलाई प्रधानमन्त्री दिएर, कहिले कांग्रेसलाई बनाएर हामीले त्याग गरेका छौं ।

अघिल्लो पटक स्थिरता र समृद्धिको पवित्र उद्देश्यसहित ओलीजीलाई प्रधानमन्त्री मानेका थियौं । अढाइ वर्षले नपुग्ने भए पाँचै वर्ष प्रधानमन्त्री हुनुहोस् भनेका हौं । तर प्रतिनिधिसभा विघटनपछि, व्यवस्थामाथि संकट देख्न थालेपछि मन्त्री पद छाडेर आएका हौं । यसलाई सत्तामोह भन्न मिल्दैन नि !

व्यवस्था जोगाउनुपर्छ, सरकारमा जानुपर्छ, प्रधानमन्त्री बन्नुपर्छ भन्दाभन्दै पार्टीमा चाहिं संकट पर्दै जाला !

सरकारमा गएर संगठन सानो र प्रतिपक्षमा बसेर ठूलो हुने भन्ने हुँदैन । त्यसो हुने भए नेपाल मजदुर किसान पार्टी सबभन्दा ठूलो पार्टी हुनुपर्ने हो । त्यसैले यो निरपेक्ष कुरा होइन, ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने कुरा नै हो ।

फेरि, सरकार विना माओवादी टिक्दैन भन्ने भ्रम पनि नरहोस् । जसरी पनि सरकारमा बस्नुपर्छ भन्ने होइन । सरकार बन्ने परिस्थिति हुँदाहुँदै प्रतिपक्षमा बसेर मात्रै संगठन बन्छ भन्ने मनोदशाबाट मुक्त हुनुपर्छ । यसलाई सापेक्षिक ढंगले बुझ्छौं । परिस्थितिले जे माग गर्छ, हामी त्यसका लागि तयार छौं ।

अहिले तपाईंहरूले जुन म्यान्डेट पाउनुभएको छ त्यो प्रतिपक्षमा बस्ने मात्रै होइन भन्न खोज्नुभएको हो ?

प्रतिपक्षमा बसेर सरकार कसको बनाइदिने त ?

कांग्रेस र एमाले मिलेर पनि सरकार बनाउन सक्छन् नि ?

चुनावी गठबन्धन त त्यसका लागि होइन नि ! (कांग्रेस र एमाले मिलेर सरकार) बनाए हामीलाई आपत्तिको विषय हुन्न । कांग्रेस र एमालेलाई त्यस्तो सहज हुन्छ भने हामी धन्यवाद भनेर प्रतिपक्षमा बस्छौं । तर बनाउनुस् भनेर अराजनीतिक कुरा पनि गर्दैनौं । किनभने एउटा गठबन्धनबाट चुनाव लड्ने, अर्कोतिर बसेर सरकार बनाउनु नैतिक हुँदैन ।

गठबन्धनकै सरकार बन्दा चाहिं ‘पावर शेयरिङ’ कसरी हुन्छ ?

गठबन्धनका सबै दललाई मिलाएर लिनुपर्छ, निःशर्त रूपमा एउटा दललाई अरूले सघाउने भन्ने हुँदैन । कसले के लिने भन्ने कार्यविभाजन छलफलका विषय हुन् ।

कसले के लिने नभए पनि प्रधानमन्त्रीमा आलोपालो, जुन दलले प्रधानमन्त्री लिन्छ, त्यो दलले राष्ट्रपति नलिने जस्ता सैद्धान्तिक आधार त होला नि ?

मोटामोटी कुरा त त्यही हो ।

प्रदेशको मुख्यमन्त्रीहरूमा पनि आलोपालो गर्ने हो ?

हुनसक्छ । सबै पार्टीलाई चित्त बुझाउनुपर्‍यो । तर यो सबै छलफलपछि मात्रै टुंगिने विषय हुन् ।

सबैको चित्त बुझाउन मन्त्रीमा आलोपालो, मुख्यमन्त्रीमा आलोपालो, प्रधानमन्त्रीमा आलोपालो गर्दै जाँदा व्यवस्थामाथि जनताको भरोसा टुट्ने अवस्था आउँदैन ?

सत्य भन्ने कुरा सापेक्षिक हुन्छ । सही के हो भन्ने कुरा तुलना गरेर भन्नुपर्ने हुन्छ । एउटै पार्टीको बहुमत भइदिए, पाँचै वर्ष एउटै पार्टीले सरकार चलाउन पाइदिए राम्रो हुन्थ्यो । तर भएन । त्यसैले गठबन्धनको भए पनि सरकार चलाउनु पर्‍यो ।

संसद नै विघटन हुनुभन्दा आलोपालो भए पनि ठीक भन्नु पर्‍यो । हरेक वर्ष चुनाव भइरहनु भन्दा कम्तीमा व्यवस्था जोगिन्छ भने यसलाई पनि स्वीकार गर्नु पर्‍यो नि !

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button