३ असार २०८३, बुधबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
दुई वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने पुल ११ वर्षपछि तयार - Himalaya Raibar
Banner Newsताजा समाचार

दुई वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने पुल ११ वर्षपछि तयार

बारा । बाराको प्रसौनी गाउँपालिका र कलैया उपमहानगरपालिका जोड्ने बञ्जरिया खोलाको बंगेरी पुल सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका छन् ।

२ वर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुल ११ वर्षमा बल्ल सञ्चालनमा आएको हो । पुलमाथिबाट आउजाउ गर्न पाएकोमा स्थानीय भने हर्षित भएका छन् ।

कलैया उपमहानगर–७ का मनोहर अन्सारीले कलैया–प्रसौनी आउजाउ गर्ने क्रममा दैनिक खोलाको बाटो हिँड्दा धेरै समस्या भोग्नुपरेको बताए ।

‘पुल सञ्चालन नहुँदा धेरै परबाट घुमेर जानुपर्थ्यो । बर्खामा खोला बढेर आउजाउ नै बन्द हुन्थ्यो,’ अन्सारीले भने, ‘अहिले पुल सञ्चालन भएपछि धेरै सुविधा महसुस भएको छ ।’

पुल निर्माणमा ढिलाइ हुँदा सदरमुकाम कलैया आवतजावत गर्न जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका र प्रसौनी गाउँपालिकाका बासिन्दाले समस्या झेल्दै आएका थिए । पुल नहुँदा बारा–पर्सा औद्योगिक करिडोरमा काम गर्ने मजदुर तथा कर्मचारी, विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थी, स्थानीयले दैनिक असुविधा झेल्दै आएका थिए ।

प्रसौनी–७ का बासिन्दा मन्सी महतो धानुले धेरै वर्षदेखि अधुरो रहेको पुल ढिलै भए पनि सञ्चालनमा आएपछि खुसी लागेको बताए ।

‘१० वर्षदेखि अधुरो पुल अहिले बन्यो । हामी धेरै खुसी छौँ,’ धानुले भने, ‘पुल नहुँदा धेरै अप्ठ्यारो थियो ।’

जीतपुरसिमरा–१९ इनर्वासिराका असिद महमदले धेरै वर्षदेखि खोला तरेर आउजाउ गर्नुपरेको गुनासो गर्दै हाल पुल सञ्चालनमा आएपछि सहज भएको बताए ।

‘बाढी आएपछि बाटो बन्द भएर कलेज जान धेरै अप्ठ्यारो थियो । अहिले पुल सञ्चालनमा आएपछि धेरै सजिलो भएको छ,’ उनले भने ।

यसअघि लामो समयसम्म पुल निर्माणको काम अलपत्र छोडेर स्थानीयलाई सास्ती दिएको भन्दै बारा–४ का संघीय सांसद किसान श्रेष्ठले ठेकदारलाई चेतावनी दिएका थिए । उनले जेठ १५ सम्म काम सम्पन्न गर्न चेतावनी दिएपछि पुल निर्माणका बाँकी कामलाई तीव्रता दिइएको थियो ।

२०७१ सालमा सम्झौता गरेर २०७३ असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने पुल ०८२ जेठ तेस्रो साताबाट मात्रै सञ्चालनमा आएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं १९ का बहालवाला वडाध्यक्ष मुकेश चौरसिया सो पुल निर्माण कम्पनीका ठेकदार हुन् ।

५ करोड ४३ लाख रुपैयाँमा एलाइट–मोना जेभीले असार २०७१ मा ठेक्का लिएको हो । एलाइटका प्रतिनिधि अजय पौडेलले सुरुमा मोना कम्पनीले पुल निर्माणको जिम्मेवारी लिए पनि काम अलपत्र छोडेकाले बाँकी काम एलाईटले सम्पन्न गरेको बताए ।

p5 (1)

‘स्थानीयको विवाद र जग्गाको मुआब्जाको कारणले निर्माणमा ढिला भएको हो । एप्रोच सडकको काम सकिएको छ । अब खोला तटबन्धको काममात्र बाँकी छ,’ पौडेलले भने, ‘अहिले पुलमाथिबाट ओहोरदोहोर गर्न सकिन्छ ।’

पछिल्लो समय सडक डिभिजन कार्यालय हेटौंडाले सो निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेपछि सम्पर्कमा आएर काम सुरु गरेको हो ।

पुल निर्माण भएपछि प्रतिक्रिया दिँदै बारा–४ का सांसद श्रेष्ठले भने, ‘प्रसौनी–७  र कलैया–१७ जोड्ने बञ्जरिया खोलाको पुल एउटा उदाहरणीय काम हो । यसरी नै देशभरका निर्माण व्यवसायी, सरकार र स्थानीयको पहल भए अधुरो पुल निर्माण सम्पन्न गर्न सकिन्छ ।’

देशभरका अलपत्र पुलमध्ये केही ठाउँमा ठेकदारको कमजोरीले कहीँ सरकारले पैसा नतिरेर, स्थानीय जग्गा विवाद र प्राविधिक कारणले ढिला भएको उनको भनाइ छ ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Check Also
Close
Back to top button