‘गठबन्धनको सूत्रधार मै हुँ’
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको पाँच दलीय गठबन्धको प्रमुख सूत्रधार आफू रहेको बताएका छन् । बागलुङ १ बाट प्रतिनिधिसभाको सदस्यको गठबन्धका तर्फबाट उम्मेदवारसमेत रहेका नेता केसीले मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने बताएका हुन् ।
बागलुङ बजारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता केसीले मंसिर ४ गतेको निर्वाचन प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुने बताउँदै प्रतिगमन ढलेर जाने बताए । ‘म प्रतिगमनविरुद्धमा लागेँ, त्यसैले गठबन्धन बनाउनै अग्रसर भएको थिएँ । अहिलेको हाम्रो लडाइँ प्रतिगमन र अग्रगमनबीच छ, मंसिर ४ गते प्रतिगमनलाई ढलाइन्छ,’ नेता केसीले भने ।
उनले आफूले प्रतिगमनको विरुद्ध र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको भन्दै आफूले सहजै ढंगले चुनाव जित्ने बताए । नेता केसीले संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताए ।