रानीखर्क पर्यटकिय स्थलको एक हब बन्न सक्ने
हुम्लाको नाम्खा गाउँपालिका क्षेत्रफलको हिसाबले देशकै ठूलो गाउँपालिका हो । प्राकृतिक सुन्दरताका हिसाबले पनि यो गाउँपालिका उत्कृष्ट छ । अजंगका पहाडका बीचमा सम्म परेर वर्षा याममा हरियो र हिउँद याममा सेतो कार्पेट प्रकृतिले ओछ्याएको जस्तो भान हुने गर्दछ ।
नाम्खा गाउँपालिकाको वडा नं. ३ को खगाल गाउँ र चाला क्षेत्रको जेष्ठ महिनादेखि चौंरीलाई गर्मी छल्नको लागि खर्क लिने चलन रहेको छ । चौंरीलाई एकाबिहानै घरबाट नाकै ठोकिने ठाडो उकालो पाटन क्षेत्रमा पालनको लागि लैजाने कार्य हरेक वर्षको नियमित काम हो । सोहीअनुसार एक दिनको कडा हिँडाइपछि रानीखर्क पुगिन्छ । रानीखर्क अर्थात् अति नै सुन्दरताले भरिएको रानी जस्तै लाग्ने गर्दछ । जो कोही जति पटक त्यस ठाउँमा पुग्ने गर्दछ, रानी जस्तै सुन्दर मनमोहक दृश्यको साथमा आफूलाई प्रस्तुत गर्ने गरेको छ ।
समुद्री सतहबाट ३ हजार ५ सय १५ मिटरको उचाइमा रहेको यो खर्कमा असोज महिनासम्म विभिन्न प्रजाती र रंग भएका चौंरीको बासस्थान रहेको छ । स्थानीय भेडाबाख्रा पालकले ढाकिने सेता काला बथानले छुट्टै आनन्द दिने गरेको छ । पश्चिममा अपि सैपालमा हिउँले सेतै ढाकेको छ । फेदीमा ३ हजार ५ सय ७८ मिटरको उचाइमा रहेको तालमा कुनै बखत हिउँले मात्र पुरिएको हुन्थ्यो । आजकल जलवायु परिवर्तनको कारणले त्यो तालमा संग्लो पानीमात्र देख्न सकिन्छ । मैदानैभरी गोठालोको पालका रंगले अझ मोहकता थपेको छ । दिउँसो सैपाल हिमालबाट खस्ने हिउँ पहिरोको गड्याङ्गगुडुङ्ग आवाजले रकस्टारले बजाएको गीतको धुनजस्तै सुन्न सकिन्छ ।
होचो हिमालनजिकै बुकी, घाँस र फूलैफूलले टम्म परेको रंगिन फाँट आँखाले नभ्याउन्जेलसम्म धित मर्ने गरी हेर्नको लागि यहाँ अति नै राम्रो मानिएको छ । यो क्षेत्र जडिबुटीको भण्डार पनि हो । बाजुरा, हुम्लाका सबै जस्तो गाउँपालिकाको बासिन्दा, पशुपालकको यो अति नै रोजाइमा रहेको ठाउँ हो । जटामसी, गुच्चीच्याउ, पदमचाल, पाँचऔंले, सेतो चिनी, यार्सागुम्बालगायत जडिबुटी यो क्षेत्रमा स्थानीयले संकलन गर्ने गरेका छन् । रानी खर्कको हरेक भागलाई छिचोल्दै बाजुरा जिल्लातिर यो हिमनदी बग्ने गरेको छ । खर्कको चारैतिरबाट निस्कने मूल, त्यसले बनाएका अनेकौं झरनाको फेदमा बस्दा एउटा साहित्यकारले कति रचना गर्थे होला ।
रानीखर्क बाजुरा बझाङ्ग र हुम्ला जिल्लाको व्यापारिक केन्द्र समेत हो । व्यापारीले घोडा र भेडाबाट ढुवानी गरिएको खाद्यान्न सामग्री यहाँ किनवेच समेत हुने गर्दछ । जडिबुटी संकलन गरी स्थानीय व्यापारीले यहाँबाट चीन र भारतमा समेत निर्यात गर्ने गरेका छन् । गाउँपालिकाले यस क्षेत्रको प्रचार प्रसार गरी आगामी दिनमा पर्यटक हबको रुपमा विकास गर्न लागिएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । करिब ६ महिना नाम्खाका वासिन्दाको रोजीरोटीको रुपमा रहेको रानीखर्कलाई सैन पनि भन्ने गरिएको छ । हालसम्म त्यति धेरै बाह्य पर्यटकलाई यस क्षेत्रमा ल्याउन नसकिएको भए पनि यहाँ आउने बाटोको विकास गरी आगामी दिनमा यसलाई विकास गरिँदै लगिने समेत लामाको भनाइ रहेको छ । आन्तरिक पर्यटकको लागि भने रानीखर्क हरेक वर्ष धानीनसक्ने खालको बहाव हुने गरेको छ ।
प्रशस्त पानीको स्रोत रहेको यस क्षेत्रमा पर्यटकले सैपाल हिमालको दृश्य, तालको दृश्य, प्राकृतिक सुन्दरताको अवलोकन गर्न सकिने सम्भावना रहेको छ । सडक र बाटोको राम्रो व्यवस्था हुन सकेमा ठूला बजेटका फिल्म, वृत्तचित्र, म्युजिक भिडियो सुटिङ्गको लागि अति नै राम्रो ठाउँ मानिएको छ । सिमकोट विमानस्थलबाट रानीखर्क पुग्नको लागि १० मिनेटको हेलिकोप्टर उडानपछि पुग्न सकिने दुरीमा रहेको छ । यसको उचित प्रचारप्रसार र प्रवर्धन गर्न सकेमा गाउँपालिकाको आयआर्जनमा समेत टेवा पुग्ने देखिएको छ ।
हेर्नुहोस् भिडियोमा रानीखर्क कस्तो छ?