१ पुष २०८१, सोमबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
हुम्लाको लिमी पर्यटकको पहिलो रोजाईमा (भिडियो सहित) – Himalaya Raibar
Banner Newsअर्थतन्त्रअर्थव्यवस्थाकर्णाली प्रदेशताजा समाचारदेशपर्यटनमुख्य समाचार

हुम्लाको लिमी पर्यटकको पहिलो रोजाईमा (भिडियो सहित)

हुम्ला जिल्लाका हरेक गाउँले विशिष्ट पहिचान बोकेका छन् । हरेक गाउँ ठाउँको आ–आफ्नै विशेषता र पहिचान रहेको छ । संस्कृति अध्ययन र अनुसन्धान गर्नको लागि यो जिल्ला एक असल सावित हुन सक्छ ।
दूरीको हिसाबले १ देखि आधि घण्टाको दूरीमा पर्ने हरेक गाउँको फरक पहिचान, चालचलन र संस्कृृति यहाँको विशेषता हो । यहाँ बोलिने भाषा, मनाईने चाडपर्व तथा अपनाईने संस्कृतीले आन्तरिक पर्यटकमात्र नभएर बाह्य पर्यटकलाई मन्त्रमुग्ध बनाउने गरेको छ । हुम्लीवासीलाई पनि यहाँको चालचलन र रहनसहन बुझ्नको लागि अझै वर्षौं लाग्ने अनुमान छ । हरेक वर्ष यस्ता प्राकृतिक सम्पदा, चालचलन र रहन सहन बुझ्न अनि रमाउनको लागि विदेशी पाहुनालाई न्यानो आतिथ्यता पाउनको लागि पर्यटकले कुर्ने गरेका हुन्छन् ।
फरक पहिचानसहितको खस साम्राज्यको आधार खण्ड भनेर चिनिने अनि लुकेको तिव्बतिय संस्कृतिको आकर्षण केन्द्रको रुपमा हुम्लाको लिमी उपत्यका रहेको छ । यहाँ जिल्लाको अन्य भूभाग भन्दा फरक बस्ती र चालचलन रहेको छ । यो बस्ती ४ हजार भन्दा माथिको उचाईमा रहेको छ । तत्कालिन लिमी गाउँ विकास समिति र हालको नाम्खा गाउँपालिका अन्तर्गत पर्ने लिमीमा ३ वटा गाउँ तिल, हल्जी र जाङ्ग रहेका छन् । अन्न बालीको रुपमा नाफल (उच्च हिमालमा पाक्ने गौं), जौ, कोइरा, तोरीको मुख्य खेती गरिने यी गाउँमा मुख्य खाद्य बाली हुन् ।
लिमीमा लोपोन्मुख तथा दुर्लभ वन्यजन्तुको आरक्षण स्थलको रुपमा विकास भईरहेको छ । घर आँगनमा नै यस्ता खालका वन्य जन्तु देख्न पाईन्छ । गाउँका वासिन्दाले सिकार नगर्ने हुनाले यस्ता जनावर गाउँघरमा नै चरन क्षेत्र बनाउने गरेको पाईएको छ । अन्य छिमेकी गाउँलेले यहाँको वन्य जन्तुलाई चोरी शिकार गर्ने भएकोले केही संख्या घटेकोमा स्थानिय कोलोप्साङ्ग लामा चिन्तित हुनु हुन्छ । आगामी दिनमा चोरी शिकारी गर्नेलाई गाउँले सबै मिलेर कानुनी कठघरामा उभ्याउनको लागि तयार रहेको उनको भनाई रहेको छ ।
सुन्दर हिमाली भूगोलको क्यान्भासको नमूनाको रुपमा लिमी उपत्यका रहेको छ । करिब ११ सय वर्ष अगाडिदेखी यो बस्ती लुकेको सुन्दर हिमाल भित्रको स्थान हो । परम्परागत धार्मिक वास्तुशास्त्रको अध्ययनको लागि पनि यो गाउँ प्रसिद्ध रहेको छ । अरबौं सम्पतीको गर गहना जो हुम्ला जिल्लाबाट हाल लोप भईसकेको अवस्था छ । त्यसको संरक्षण यो गाउँले गरिरहेको छ ।
सोही अवस्थालाई मध्य नजर गर्दै नाम्खा गाउँपालिकाको अग्रसरतामा यस्ता अमूल्य सम्पत्तिको संरक्षणको लागि यो वर्षदेखि महोत्सवको रुपमा मनाएर यसलाई प्रचार प्रसार र संरक्षणमा लागेको प्रमुख प्रशासकिय अधिकृत बम बहादुर सुनारले जानकारी दिए । आगामी दिनमा अझ विस्तृत योजनाको साथमा गाउँपालिकालाई विकास गरिने लक्ष्य रहेको सुनारको भनाइ रहेको छ । गाउँपालिकाको हरेक गाउँको सिरानमा रहेका ताल तलैया, सुन्दर हिमाल र चरन क्षेत्र, जडिबुटी र दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी संरक्षणमा गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष विष्णु लामाले जानकारी दिए । योजना बनाई चुस्त परिचालन गरेर पर्यटकको आकर्षणको केन्द्रबिन्दु बनाइने गरी विकास गर्ने लक्ष्य रहेको लामाको भनाइ रहेको छ । यो गाउँपालिका हुम्लाको आफैमा नमूना र पर्यटकको आकर्षक ठाउँ भएको भएता पनि अझ यसलाई व्यवस्थित बनाउनको लागि गुरुयोजना बनाई लाग्ने लामाले बताए ।

कसरी पुग्ने लिमी ?
नेपालगञ्ज र सुर्खेतबाट हवाईजहाजबाट सदरमुकाम सिमिकोटको लागि हवाई उडानको भर पर्नुपर्ने हुन्छ । सिमिकोट देखी उत्तरतिर करिब ३ दिन नेपालीको लागि भने विदेशीका लागि ५ दिनको क्याम्प पार गरेर नाम्खाको वडा नं. २ मा रहेको सल्ली खोला हुँदै जान सकिन्छ भने चीन सिमानामा रहेको हिल्साबाट तिल गाउँबाट पनि जान सकिन्छ । हिल्सा क्षेत्रबाट जानको लागि मुचुबाट गाडिको यात्रा गर्न सकिन्छ भने सल्लीबाट जानको लागि पनि रिजर्व गाडी लिन सकिन्छ । तर प्राकृतिक सुन्दरता नियाल्नेका लागि पैदल नै उत्तम मानिन्छ । बाटोमा भेटिने खोलानालामा पुलको यथोचित बन्दोबस्त नभएको कारण गाडीको यात्रा त्यती राम्रो मानिँदैन । पैदल यात्रामा त्यहाँको वन्यजन्तु, पशुपंछी र जडिबुटी अनि प्राकृतिक सुन्दरता नियाल्नको लागि राम्रो मानिन्छ ।
लगभग १५ देखि २० दिनको समय राखेर लिमी उपत्यका घुम्नको लागि राम्रो मानिन्छ । लिमी पुग्नको लागि पैदल यात्रामा खान र बस्नको लागि बन्दोवस्तीको सामान स्थानीय भरियाको सहारा लिनु पर्ने हुन्छ । ठाउँ ठाउँमा सल्ली खोला सम्म होटेल भएको भएता पनि सल्ली भन्दा माथि चढ्नको लागि खान र बस्नको आफै प्रवन्ध गर्दा राम्रो हुन्छ । बस्ती नभएको कारण लिमीसम्म पुग्नको लागि कठिन भूगोलका कारण बेलैमा लिमी पुग्न नसकिने भएकोले एक बासको लागि खाना र बस्नको लागि व्यवस्था गरिँदा राम्रो हुन्छ ।

कुन महिना घुम्न उपयुक्त ?
लिमी उपत्यकामा हिउँदमा अत्यधिक हिउँ पर्ने र वर्षा याममा अत्यधिक वर्षा हुने भएकोले यहाँ घुम्नको लागि मौसमको अति नै ध्यान पु¥याउनु पर्ने हुन्छ । हिउँदमा धेरै जाडो हुने हुनाले स्थानीयबाहेक पर्यटकले घुम्न त्यति राम्रो मानिँदैन । वर्षा याममा हुस्सु र कुहिरोले टाढा सम्मको रमणिय दृश्य राम्रो नदेखिने हुनाले पनि त्यति उपयुक्त मानिँदैन । भाद्र महिनाको १५ देखी कार्तिकको पहिलो हप्ता यहाँ घुम्नको लागि उपयुक्त समय हो । यो बेलामा हुस्सु पनि नलाग्ने र वर्षा पनि कम हुने हुनाले दृश्यावलोकनको लागि राम्रो मानिन्छ । जाडो पनि त्यति नबढ्ने हुनाले यहाँ घुम्न राम्रो समय मानिन्छ ।
विशेषगरी वन्यजन्तु पनि आँखा अगाडै नै देख्नको लागि उपयुक्त समय हो । प्राकृतिक सुन्दरता र उत्तरमा रहेका हिमताल, नदिनाला, जंगली वन्यजन्तुको आवास, आहार विहारको सुन्दरता राम्रैसँग हेर्न सकिन्छ । चीनको कैलाश मानसरोवर लिमीको लाप्चाबाट दृश्यावलोकन गर्नको लागि पनि यो मौसम उपयुक्त छ । संस्कृति र चालचलन हेर्नको लागि भने पर्यटकले अन्य समयमा पनि जान सक्छन् भने विशेष गरेर प्राकृतिक सुन्दरता र वन्य जन्तु अवलोकनको लागि भने भाद्रदेखि कार्तिक पहिलो हप्ताको समय अति नै उपयुक्त रहेको छ । लिमी उपत्यका जानको लागि विदेशीले भने नेपाली दूतावासबाट अनुमति लिन आवश्यक हुन्छ भने नेपाली पर्यटकले भने स्वतः भ्रमण गर्न सक्दछन् ।

खर्च र बन्दोवस्ती
जिल्लाभित्रका पर्यटकलाई पनि यहाँ पुग्न राम्रै खर्चको व्यवस्था मिलाउन आवश्यक हुन्छ । जिल्ला बाहिर र विदेशी पर्यटकका लागि भने अझ यो बढ्ने गर्दछ । जिल्ला भित्रिनको लागि भने हवाई यातायातको साधन प्रयोग गर्नुपर्दा अझ खर्च बढी नै लाग्ने गर्दछ । विदेशी पर्यटकले हवाई कम्पनीको लागि भाडा डलरमा तिर्नुपर्ने हुन्छ भने नेपालीले भने हाल ७ हजारदेखि ८ हजारको भाडा तिरेमा हुम्लाको सिमिकोट पुग्न सकिन्छ । लिमी जानको लागि बाटोको होटेलमा प्रति छाक नेपाली रुपैयाँ २ सयमा खाना र बस्नको सुविधा पाउने गर्दछन् भने होटेल नभएको ठाउँमा भने आफै बन्दोवस्त गर्नु पर्ने अवस्था छ । स्थानिय भरियाले प्रतिदिन १ हजार ५ सयका दरले लिमी जाने गरेका छन् ।
भरिया आवश्यक भएमा सिमिकोटबाट नै बन्दोवस्त गर्नु पर्ने अवस्था छ । सिमिकोटमा भने राम्रै सुविधायुक्त होटेलमा बास बस्न पाईन्छ । विदेशी पर्यटकले भने हरेक क्याम्पमा क्याम्पिङ्गको व्यवस्था रहेको छ भने स्थानिय सरकारले लगाएको कर तिर्न आवश्यक हुन्छ । स्थानिय पर्यटकले प्रति व्यक्ति ३० हजार भन्दा माथिको खर्चमा भ्रमण गर्न सक्छन् भने जिल्ला बाहिरका यात्रीको लागि भने ६० देखी १ लाखसम्म खर्चको जोहो गर्नु पर्ने हुन्छ ।

तापक्रम र अन्य बन्दोबस्ती
बाटोमा खासै जाडो नहुने भएको भएता पनि विहान बेलुका बाक्लो कपडाको सहायता आवश्यक हुन्छ । राती ओढ्नको लागि भने न्यानो कपडा आवश्यक हुन्छ । तापक्रम यो समयमा ११ डिग्री देखी १५ डिग्री सम्म रहने गर्दछ । दिउँसो न्यानो हुने हुनाले सामान्य कपडा भए पुग्दछ । पानी भने अत्यधिक चिसो हुने गर्दछ । आफूलाई आवश्यक पर्ने औषधी, नियमित उपयोग गर्ने औषधी भने गजेडा बोक्नु पर्ने हुन्छ ।
लेक लाग्ने पर्यटकले भने केही ख्याल पु-याउनु पर्ने हुन्छ । ४ हजार भन्दा बढीको उचाईमा भएको कारण यात्रुलाई लेक लाग्ने सम्भावना बढी नै हुन्छ भने स्थानीय अर्गानिक खानाको स्वादमा रमाउन चाहनेको लागि यो ठाउँ अति नै उत्तम मानिएको छ ।

छुटाउन नहुने
लिमी उपत्यकामा प्राचिनकालका बहुमुल्य मुर्ति भएका गुम्बा नै गुम्बाको उपत्यका हो । महँगा मुर्ति, पौराणिक वास्तुकला यहाँको मुख्य विशेषता हो । पुराना गरगहना, यहाँको गुम्बामा कुँदिएका पौराणिक कलाकृती लगायतका वस्तु अति नै लोभ लाग्दा छन् । लवाईखवाई, रहनसहन र प्राकृतिक दृश्यावलोकन अति नै सुन्दर छ । त्यहाँको वासिन्दाले लगाउने कपडा, गरगहना अति नै पौणाणिक र वैज्ञानिक रहेको छ । जसलाई नछुटाएर हेर्न लायकको छ । एउटै व्यक्तिले लगाउने कपडा २ करोड बराबरको मूल्य अहिले रहेको छ । हिरा, सुन र चाँदीको मिश्रणले यस्ता कपडाको मूल्य बढाएको छ ।
वन्यजन्तुको आवास र प्रत्यक्ष अवलोकन हेर्न लायकको छ । परम्परागत चौंरीपालन र त्यसमा प्रयोग हुने सामग्री, कृषिजन्य वस्तुको उत्पादन र त्यसको उपभोगको अवस्थाको बारेमा छुटाउन नमिल्ने भित्र पर्ने गर्दछन् । ११ औं शताब्दीको हल्जी गुम्बा र गाउँमा रहेका साना ठूला गुम्बा अर्का आकर्षणको केन्द्र विन्दु हुन् । हुम्लामात्र नभएर कर्णाली प्रदेशका धनी गुम्बाको रुपमा हल्जी गुम्बालाई चिनिएको छ । हरेक वर्ष यहाँको प्राकृतिक सुन्दरता र वस्तुस्थितीको बारेमा भिडियो डकुमेन्ट्री बन्ने गरेका छन् । फिल्म र म्युजिक भिडियोमा राख्न लायकको सुन्दर बस्ती र प्राकृतिक सुन्दरताको कुनै बयानै गर्न नसकिने अवस्था रहेको छ ।
जान गाह्रो तर फर्कनको लागि पर्यटकले नमान्ने अवस्थाको सुन्दरता पाउन सकिन्छ । पृथ्वी नारायण शाहको पालामा बनेका वि.सं. १९४५ सालमा निर्मित माना पाथी, ढक तराजु लगायतका सामग्री अझै संरक्षणमा रहेका छन् । स्थानिय स्तरमा नापतौलमा प्रयोग हुने सामाग्री, पूजाआजा र अन्य बन्दोबस्तीमा प्रयोग हुने पुराना सामग्री यहाँ हेर्न नबिर्सने सामाग्रीहरू हुन् । पुराना करोडौं मूल्यको कोईचिनको बख्खु अर्को विशेषता हो । यो बख्खु (महिला र पुरुषको वस्त्र) हाल संरक्षणका लागि मात्र राखेको पाईएको छ ।

https://www.youtube.com/watch?v=3ayZw-MiI3o&t=167s

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button