टेलिकम हुम्लाद्धारा ईसिम वितरण
रेशमराज रोकाया
हुम्ला, पौष ७
नेपाल टेलिकम हुम्ला शाखाले ईसिम वितरण सुरु गरेको छ । टेलिकमले यस अघि भौतिक सिम प्रदान गर्ने गरेको भएता पनि हाल ईसिम प्रदान गरेको छ । ईसिम प्रयोगकर्ताले भने ईसिम प्रयोग हुने मोबाईल फोन हुनु पर्दछ । हाल ईसिम प्रयोग हुने मोबाईलहरु एप्पल ब्राण्डका सबैजसो फोनमा प्रयोग हुने गरेको छ । त्यसै गरी हाल चलन चल्तिमा रहेको एन्ड्रोईड फोनमा समेत सञ्चालन गर्न सकिने भएको छ ।
विहिबार हुम्ला शाखाको लागि परिक्षणको रुपमा प्रयोग गरिएको २ थान ईसिम सफल रुपमा परिक्षण भएको छ । अब ईसिम प्रयोग गर्न चाहने ग्राहकले नेपाल टेलिकमको हुम्ला शाखामा सम्पर्क राख्न सक्नेछन् । ईसिम प्रयोग गर्नको लागि आफुले प्रयोग गरेको नम्बर सहित नागरिकताको प्रमाणपत्रको फोटोकपी सहित कार्यालयमा उपस्थित भएको खण्डमा २ देखी ५ मिनेट भित्र ईसिम प्राप्त गर्न सकिने नेपाल टेलिकम हुम्ला शाखाले जनाएको छ ।
जसको लागि प्रयोगकर्ताको मोबाईल डिभाईसमा इआईडि (EID- Unique Identification Number) सुविधा हुन आवश्यक हुन्छ । तपाईको मोबाईलमा युआईडि छ कि छैन भनेर *#06# थिचेर थाहा पाउन सकिन्छ । पहिले चलाएको सिम र मोबाईल नम्बरमा सजिलैसँग ईसिम कन्भर्ट गर्न सकिने भएको कारण पनि यसको प्रयोगकर्ता बढ्न सक्ने नेपाल टेलिकम हुम्ला शाखाका कर्मचारी गोरा महतले बताउनु भयो ।
यस अघि ईसिम अष्ट्रिया, क्यानडा, क्रुअसया, जर्मनी, हंगेरी, भारत, स्पेन र अमेरिकमा ईसिम प्रयोगमा आईसकेको छ । नेपालमा भने भरखर सञ्चालनमा आएको कारण पनि ग्राहक ईसिमको बारेमा अनभिग्य रहेका छन् । विस्तारै ग्राहकले यसको प्रयोगमा सहजता पाउने नेपाल टेलिकमको ठहर रहेको छ ।
ईसिमबाट धेरै कुराको फाईदा लिन सकिन्छ । मोबाईलल फोन हराएको खण्डमा पाउने मान्छेले फोन अन गरेर भौतिक सिम फाल्न सक्छ । फालेको खण्डमा पनि मोबाईलमा नेटवर्कको कारणले फोन आउने र फोन कुन लोकेशनमा रहेको छ भन्ने सजिलै थाहा पाउन सक्दछ । फोनमा सिम राख्ने, निकाल्ने जस्ता झण्झण्ट हुँदैन । विभिन्न देशमा घुमफिर गर्ने व्यक्तिको लागि सिम राख्ने र निकाल्ने जस्ता झण्झटबाट मुक्त हुने भएको छन् । जुन देशमा गयो उही देशको ईसिम एकपटक प्रयोग गरेको खण्डमा सोही देशको ईसिम आफै एक्टिभ हुने भएको कारण ईसिमको लोकप्रियता बढेको छ । भौतिक सिम जस्तै सबै सुविधा ईसिमबाट प्राप्त गर्न सकिन्छ ।
के हो ईसिम ?
ईसिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक सिम हो। इ-सिमको पूरा रूप इम्बेडेड सबस्क्राइबर आइडेन्टिटी मोड्युल हो। बोलिचालीको भाषामा यसलाई इलेक्ट्रिक सिम पनि भन्न सकिन्छ। ईसिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिकरुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन।
तर यसका लागि ईसिम सपोर्ट गर्ने उपकरणको आवश्यक हुन्छ। यसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ।
ईसिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन। मोबाइल सेटबाहेक ईसिमलाई अन्य डिभाइस तथा स्मार्टवाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसहरूमा समेत प्रयोग गर्न सकिन्छ।
कस्तो सेटमा ईसिम चल्दछ ?
अहिले बजारमा उपलब्ध मोबाइल सेटमा धेरैमा तीन वटा सिमकार्ड चल्छन्। इ-सिममा भने ग्राहकले आफ्नो उपकरणअनुसार २० वटासम्म नेटवर्क (सिमसरह) चलाउन सकिनेछ। तर एकपटकमा एउटा मात्रै नेटवर्कसँग कनेक्ट हुन्छ। त्यस्तै यसका लागि फोनमा यो फिचर हुन आवश्यक हुन्छ।
यस्तो सुविधाले कुनै व्यक्ति विदेश जाँदैछ भने विदेशको नेटवर्क सेवा लिएरै पुरानो नेटवर्क पनि राखिराख्न सक्छ। त्यसलाई हटाउन वा अहिलेजस्तो सिम निकाल्नुपर्ने झन्झट बेहोर्नु पर्दैन। विदेशमा उतैको इ-सिम लिएर सहजै विदेशी नेटवर्कसँग कनेक्ट हुन सकिन्छ। आवश्यकता अनुसार नेटवर्कबाट डिस्कनेक्ट वा मोबाइलबाट उक्त इ-सिम हटाउन पनि सकिने नेपाल टेलिकम कर्मचारी महतले जानकारी दिए।
अहिले कम्पनीहरूले इ-सिम लाग्ने मोबाइल सेट उत्पादन गर्न थालिसकेका छन्। एप्पलले चार वर्षअघि नै आइफोन-एक्सएस मोडलबाट इ-सिम फिचर ल्याएको थियो।
अनलाइन इ-सिम स्टोर ‘होलाफ्लाई’ ले इ-सिम चल्ने विभिन्न फोनहरूको सूची तयार पारेको छ। आइफोन- एक्सएसहित आइफोन-११, आइफोन-एसई (२०२०), आइफोन-१२, आइफोन-१३ र आइफोन १४ का साथै सामसङ ग्यालेक्सी फोल्ड, ग्यालेक्सी फोल्ड- ३, ग्यालेक्सी जेड फ्लिप, ग्यालेक्सी एस-२०, एस-२१, एस- २२, नोट-२० लगायत मोडलमा इ-सिम चल्छ।
यसबाहेक हुवावे पी-४०, पी-४० प्रो, मेट-४० प्रो, मोटोरोला आरएजेडआर-२०१९, आरएजेडआर- फाइभ जी, ओप्पो फाइन्ड- ३ प्रो, रेनो-५ ए, रेनो-६ प्रो फाइच जी, फाइन्ड एक्स-५, एक्स-५ प्रो र ए-५५ एसमा पनि इ-सिम लाग्छ।
गुगल पिक्सेल-३, पिक्सेल-३ ए, पिक्सेल-४, पिक्सेल-४ ए, पिक्सेल-५, पिक्सेल-६, पिक्सेल-६ ए र पिक्सेल-६ प्रोमा पनि इ-सिम चलाउन सकिन्छ।
नेपाल टेलिकमले मोबाइलका लागि मात्र नभएर स्मार्टवाचहरूका लागि इ-सिम ल्याउने तयारी गरिरहेको नेपाल टेलिकमका प्रवक्ता अधिकारी बताउँछन्। इ-सिम चलाउन सकिने स्मार्टवाचहरू नेपाली बजारमा पाइन्छ। कतिपय विकसित मुलुकमा ल्यापटपमा पनि इ-सिम फिचर आइसकेको छ।