२७ पुष २०८१, शनिबार | Email:- [email protected] | [email protected] | [email protected] | Contact No.:- ‪+977 985-8086888‬
हजारौंले गरे हुम्लाबाट कैलाश दर्शन – Himalaya Raibar
Banner NewsBanner news (with photo)कर्णाली प्रदेशताजा समाचारदेश

हजारौंले गरे हुम्लाबाट कैलाश दर्शन

हुम्ला, नेपाली भुभाग नाम्खा गाउँपालिका– ६ को लाप्चाबाट यसवर्ष मानसरोवर कैलाशको दुरदर्शन गर्ने बाह्र र आन्तरिक पर्यटकहरुको सङ्ख्या एक हजार भन्दा बढी रहेको छ । लाप्चा क्षेत्र सडक सञ्जालसँग जोडिनु र लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने जानकारी बाहिर आएसँगै लाप्चा पुग्ने पर्यटकहरुको सङ्ख्या बृद्धि भएको हो।

लिमीको ताक्चीमा सञ्चालनमा रहेको लिमी रिसोर्टका सञ्चालन कुन्चोक तामाङले यसवर्ष बैशाख महिनायता नेपाली भूभाग लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्ने बाह्रय तथा आन्तरिक पर्यटकहरुको संख्या एक हजार ३७ पुगेको बताए ।

लाप्चा पुगेर मानसरोवर कैलाशको दुरदर्शन गर्ने मध्य ३ सय १२ र बाँकी ७ सय ३७ आन्तरिक पर्यटकहरु रहेका छन् ।

गतवर्ष भन्दा तीन सय बढी लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गरेका हुन्। हुम्लावासी मात्र नभएर नेपालीहरु र सरकारी सेवाका उच्च पदस्त ब्यक्तिहरुको पनि रोजाइसमेत हुन थालेको उनको भनाइ छ। पोखरा र काठमाडौंबाट मोटर साइकलमा आएका आठ जनाले पनि लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गरेका थिए। लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्ने पर्यटकहरुका लागि ताक्चीमा रिसोर्ट सञ्चालन गरिएको छ।

लाप्चाबाट देखिने दृश्य
पाँच हजार मिटर अग्लो स्थान लाप्चाबाट आँखाकै अगाडि तल मानसरोवर ताल र त्यसैको पृष्ठभूमिमा कैलाश पर्वत देखिन्छ । लाप्चाबाट पच्चीसदेखि तीस किलोमिटर दुरीमा मानसरोवर छ भने सत्तरी किलो मिटर दुरीमा कैलाश पर्वत। त्यहाँ पुगेर मानसरोर कैलाशको दुरदर्शन गर्दा रमाइलो वातावरण सिर्जना हुने बताउँछन् पर्यटकहरु। अरु बेलाको मौसममा लाप्चा जाँदा मानसरोवर कैलाशको दर्शन गर्न सकिने निश्चित हुँदैन ।बादल लाग्ने सम्भावना बढी भएको कारण यस्तो बेला मानसरोवर कैलाशको दर्शन नगरेरै फिर्ता हुनुको विकल्प हुँदैन ।

अन्य समयमा लाप्चा पुगेको पर्यटकहरुले चारदेखि छ घण्टा कुरेर पनि दर्शन गर्न नपाएर फर्केका घटना पनि छन्। यति बेला भने टन्टलापुर घाम लाग्ने र मौसम सफा हुने गरेको कारण मानसरोवर कैलाशको दर्शन मज्जाले गर्न सकिन्छ । यतिबेला लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गर्ने संख्या बढी छ। दशैको बिदाको सदुपयोग गरेर धेरै आन्तरिक पर्यटकहरु लाप्चा पुगेका थिए।

कसरी पुग्ने लाप्चा
हुम्लाको सदरमुकाम सिमकोटसम्म नेपालगञ्जबाट हजाईजहाजमा जानुपर्छ। त्यसपछि स्थानीय यातायातका साधनमा जान सकिन्छ। यसको विकल्प पनि छैन। हिँडेर जान नसकिने हाेइन तर हिँडेर जाँदा कम्तीमा पनि लाप्चा पुग्न पाँचदेखि छ दिन लाग्छ। त्यसैले सिमकोटबाट गाडीमा जानु नै उपयुक्त हुन्छ । यसरी जाँदा एक दिनमा सिमकोटबाट तुम्लिङ वा ताक्ची पुगिन्छ । त्यो रात त्यतै बस्नु पर्छ । पछिल्लो दिन बिहानै साढे तीन घण्टा गाडीमा यात्रा गरिसकेपछि लाप्चा पुगिन्छ । जति बेला साढे आठ देखि नौ बजेको भए राम्रो । घाम लागेको भए पनि हावा लाग्यो भने चिसो हुन्छ । त्यसैले कपडा बाक्लै लिनु उपयुक्त हुन्छ । घाम लागेको बेला दर्शन गर्न निक्कै मजा आउँछ । करिब दुई चार घण्टाको अवलोकन पछि लाप्चाबाट फिर्ता हुन सकिन्छ । त्यो दिन ताक्ची वा तुम्लिङमा वास वस्नु उपयुक्त हुन्छ । हुन त कोही सिमकोट फिर्ता पनि हुने गर्छन् । तर त्यो दिन त्यसै बसेर लिमी हल्जी गाउँको एक हजार दुई सय वर्ष पुरानो गुम्वा दर्शन गर्न पनि सकिन्छ । त्योसँगै हिमाली क्षेत्रको लिमी उपत्यकाको पनि अवलोकन गर्न सकिन्छ ।

कम खर्चमा लाप्चा पुगिँदै
२ वर्ष अगाडिसम्म सिमकोटबाट लाप्चा जाँदा दैनिक ४० देखि ५० हजार रुपियाँ गाडी भाडा लाग्ने गर्थ्यो। अहिले त्यो अवस्था छैन । गाडीको संख्या बढेसँगै भाडा पनि घटेकोछ । लाप्चा जाँदा दैनिक २२ हजारसम्ममा गाडी रिजर्भ गर्न सकिन्छ । सात जनाको संख्या भए झन राम्रो । त्यसले गर्दा कम खर्चमा पनि लाप्चा पुग्न सकिन्छ । होटेलहरु पनि खासै महंगो छैनन् । दुई छाक खाना र एक रात सुतेको नेपाली पर्यटकलाई एक हजार ९ सय रुपियाँ होटेलले लिने गरेका छन् ।

बासको छैन समस्या
पहिलो लाप्चा जाँदा सबै आफैले ब्यवस्था गरेर जाने गर्नुपर्थ्यो तर अहिले त्यो अवस्था रहेन । पहिलो लाप्चा जान वासको समस्या हुने गर्थ्यो तर अहिले तुम्लिङमा होमस्टे र ताक्चीमा रिसार्ट सञ्चालनमा आएको कारण बास पनि आरामदायी नै हुने गर्छ । तीन दिनमा लाप्चाको यात्रा गर्न उपयुक्त हुन्छ । लाप्चा जाँदा मानसरोवर कैलाशको मात्र दुरदर्शन गर्न सकिने होइन, थप जंगली जनावरहरु पनि देख्न सकिन्छ । चौरीका खर्कमा दुध, दही, छुर्पी, चिज लगायतका परिकार पनि खान पाइन्छ । चौरीको बथानसँग मनाउने अवसर पनि मिल्छ ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button