१ कार्तिक २०८२, शुक्रबार | Email:- merohmla@gmail.com | info@newshumla.com | marketing@newshumla.com | Contact No.:- ‪+977 985-8086888‬
डाँडाबजारबाट झुल्के घाम - Himalaya Raibar
पर्यटन

डाँडाबजारबाट झुल्के घाम

हामीलाई घरबेटी राम याख्खाले साढे चार बजे सखारै बिउझाईदिए। ‘सर जाने हैन? उठ्नुस्’ भने। भाइ शिव मगर र म जर्‍याकजुरूक उठ्यौं। लुगा लगायौं र मुख धोएर रामजीको पछिपछि लाग्यौं।

हामी यो वर्षको सिजन सुरू हुँनै लाग्दा झुल्के घाम हेर्न डाँडाबजार आएका थियौं। बेलुका अबेर गरि पुगेका हामी बिहान भने यति चाँडै हिड्ने तरखरमा थियौं। एउटै बाइकमा तीन जना चढेर हामी डाँडाबजारबाट ध्वजेडाँडातर्फ लाग्यौं।

ध्वजेडाँडा डाँडाबजारबाट दक्षिणमा नजिकै देखिने थुम्को हो। ध्वजे जाने पैदल बाटो थियो। स्थानीयले गाडी कुद्ने गरि अर्को सडक पनि बनाएछन्। डाँडाको अलि तलसम्म पुगेको छ सडक। हामीले बाइक त्यहीँ राख्यौं र अध्यारोमा छामछामछुमछुम गर्दै डाँडा चढ्न थाल्यौं।

आफू हिँड्ने बाटो अध्यारो भए पनि बाटोमा कतै कतै बत्तीको व्यवस्था गरिएकोले हिँड्न अलि सहज भएको थियो। निद्रा नपुगेर अनिदो भएको शरिर थकित थियो। अघिल्लो दिन साँझमा अफ्ट्यारो बाटोमा बाइकमा आउँदा ज्यान गलेको थियो। डाँडा चढ्न कठिन लाग्यो। पैदल हिँड्ने बानी हटेछ सायद।

टुप्पोमा पुग्ने बाटो थोरै मात्र थियो। हामी माथि डाँडाको टुप्पोमा पुग्यौ। वाह! कति राम्रो मैले मुख खोलिहालेँ। डाँडाबाट दक्षिण हेर्दा तराई झलमल बलेको देखिन्थ्यो। यो दृष्य देखेपछि अघिको पुरै थकान एकै क्षणमा गायव भयो। धेरै बत्ती बलेको इटहरी हुनुपर्ने भनेर हामीले अनुमान लगायौं। अनि त्यो भन्दा पूर्व गछिया। विराटचोक र बेलबारी लहरै देखिए। पर क्षितिजमा विराटनगर पनि झलमल्ल देखियो। आँखा अघाउँदी तराईका सहरमा बलेको बत्तीको उज्यालो हेरिरह्यौं। लाग्थ्यो आकाशका ताराहरुले आज बाटो बिराएछन्। अनि धर्तीमा उदाउन आइपुगेछन् हाम्रो स्वागतमा।

यति बेलासम्म हाम्रो वरिपरि निष्पट अध्यारोनै थियो। पूर्वी क्षितिजमा भने थोरै लालिमा देखिन थाल्यो। क्षितिजको लालिमा धर्सोका रूपमा विकास हुन थाल्यो। अब हाम्रा आँखा सूर्यको प्रतिक्षामा पूर्वतर्फ सोझिन लागे। यस बेलासम्म फाट्टफुट्ट मानिसहरू पनि आउन थाले। डाँडामा हामी सबैभन्दा पहिले पुगेका थियौं। आफ्नो वरिपरि अध्यारो थियो। मान्छेको अनुहार चिन्न सकिन्नथ्यो। तर, आवाज सुनिन्थ्यो। र, मानवाकृति ठम्याउन सकिन्थ्यो।

पूर्वको रातो धर्कोले आकासमा आफ्नो परिधि बढाउँदै लग्यो। सबैका आँखा त्यतै तेर्सिएका भए पनि सूर्य अझै उदाउँने छाँटकाँट थिएन। रातो आकास मात्र देखिन्थ्यो। पर पर सिधा धर्कोमा। मानौं रातो समुद्रको क्षितिजको अंश देखिएको हो।

करिब आधा घन्टा पछि आकास अझ चम्किलो बन्यो। विस्तारै सूर्यको सानो अंश देखियो। हामी खुसीले चिच्यायौ ‘आयो आयो’। अब सूर्य आकार बढाउँदै, आकृति बनाउँदै बढ्न थाल्यो। हामी एकटकले हेरिरह्यौं। फोटाहरू खिच्यौं। भिडियो बनायौं। करिब आधा घण्टा घामलाई प्रष्ट नियालिरह्यौं। 

बंगालको खाडीबाट उदाएको सूर्यको छाँया पानीमा परेकोले होला उदाउँदो सूर्यको आकार पनि कस्तो कस्तो देखिन्थ्यो। सधै सूर्य आफूभन्दा माथि आकासमा देख्थ्यौ। आज आफूभन्दा मुनीबाट उदाउँदै गरेको देख्दै थियौं। नाङ्गो आँखाले कहिल्यै हेर्न नसकिने सूर्य आज निक्कै कलिलो भइरहेको थियो। मानौं भर्खर जन्मेको शिशु जस्तो। जसलाई जति हेर्‍यो हेरिरहुँ लाग्ने। पहेँलो रातो रंगको सम्मिश्रण लिएर आएको सूर्यलाई हामीले धित मरुञ्जेल नियाल्यौं। आज सूर्य हाम्रा लागि भर्खर जन्म लिएर आउँदै थियो। हाम्रा आँगनमा। हामी न्यानो सूर्यको स्वागतमा पर्खिरहेका थियौं। हलचल समेत नगरि।

जब सूर्य क्षितिजबाट आकासतर्फ लाग्यो हाम्रा आँखा पनि उत्तर तर्फ लागे। अरे वाह! उत्तरतर्फ लहरै हिमाल देखियो। उदाउँदो घामको प्रकाश परेर होला हिमालका चुचुराहरू सुनौलो भएर चम्किरहेका थिए। अब हाम्रा आँखा हिमालतिरै सोझिए। हामी हिमाललाई हेरिरह्यौं। किन किन मलाई हिमाल हेर्न अत्यन्त मनपर्छ। हिमालको विशालताले हो वा स्निग्ध सेतोपनले आकर्षित गरेको हो त्यो बुझन सकेको छुइनँ। तर हिमाल देखेपछि म आफूलाई पनि बिर्सिन्छु।

रामजीले हामीलाई हिमालका चुचुराहरू चिनाए। कञ्चनजंघा, कुम्भकर्ण र मकालु चिनियो। कुम्भकर्णलाई लिम्बुहरू फक्ताङ्लुङ भन्छन्। त्यो चुचुरोलाई पवित्र मान्छन्। र, कुम्भकर्णको फेदमा आराधना गर्छन्। उपासना गर्छन्। बुढो मानिस कुमसम्म घुँडा पुग्ने गरि थपक्क बसे जस्तो देखिने कुम्भकर्ण हिमाल चिन्न कठिन पर्दैन। अलि पश्चिम उत्तरमा देखिएका हिमाल सगरमाथा, ल्होत्से, नुप्त्से, चोयु लगायत थिए। तर कुन चुचुरो कुन चै हो हामी ठम्याउन सक्दैनथ्यौं। केवल अनुमान मात्र गर्न सक्थ्यौं। हामीले प्रदेश १ का १४ जिल्ला र मधेसको सप्तरी पनि प्रष्ट देख्यौं।

धपक्क बलेका जस्ता लाग्ने हिमालका चुचुराहरूबाट फाट्टफुट्ट बादलहरु आकास तिर उड्न लागे। यस्तो लाग्थ्यो मानौं हिमाल बलिरहेको छ र बादलहरू धुँवा बनेर उँभो आकास भेट्न हतारिदैछन्। समुद्रबाट हिमाल भेट्न हतारिएका बादलका टुक्राहरु यतिबेला हिमाल भन्दा पनि माथि आकासको यात्रामा हतारिदै थिए। हिमाल भेट्न समुद्रबाट हतारिदै आएका बादलहरू जब हिमालमा ठोक्किन्छन् अनि कतै हिँऊ बनेर बर्षिन्छन्। कतै वर्षा बनेर वर्सिन्छन्। त्यसपछि पनि बादलबाट पानी बनेकाहरू हतारमै हुन्छन् समुद्रमा पुग्न।

समुद्रबाट समुद्रसम्मको बादल र पानीको यो यात्रा अरबौ वर्षदेखि अनवरत चलिरहेको होला। ठ्याक्कै हामी मानिसहरुको जस्तै। जहिल्यै हतार। जहिल्यै कमाउने भोक। जोड्ने, थुपार्ने लालसा। जसरी हिमाल र हिमालको फेदमा झरेका बादलका अंशहरुको हतारो यात्रा समुद्रमा गएर विलिन हुन्छ। हाम्रो यात्रा पनि अनन्तमा गएर विलिन हुनैपर्छ। हतार गरेर हामी कहीँ कतै अन्त नपुग्ने रहेछौं।

अब हामी डाँडाबजारतर्फ ओरालो लाग्यौ। ध्वजेबाट गज्जवको सुन्दरता हेरिरहेका थियौं। डाँडाको टुप्पोबाट एउटै ठाउँमा कतै नहल्लिई सूर्योदय, हिमाल र तराई हेर्न यो जत्तिको रमणीय स्थान शायद कतै होला।

मैले इलामको श्रीअन्तु र सलकपुर, दार्जिलिङको टाइगरहिलबाट पनि सूर्योदय हेरेको छु तर एउटै ठाउँबाट यत्तिका धेरै कुराहरुको दृष्यावलोकन अन्तबाट गर्न पाईदैन। पोखराको सराङकोट र भक्तपुरको नगरकोटबाट सूर्योदय, हिमाल र शहर देखिन्छ। तर, त्यो सूर्योदय समुद्रबाट उदाएको नभई डाँडाको टुप्पोबाट उदाएको देखिन्छ।

डाँडाबजार धनकुटा जिल्लाको दक्षिण पूर्वमा पर्ने एउटा सुन्दर गाँउ हो। डाँडामाथि लहरै र थपक्क बसेको छ बजार। लिम्बु र याख्खाको अलि बढी बसोबास छ। अधिकांश स्थानीयहरु करिब बाह्रै महिना सब्जी खेती गर्छन्। धरान पुग्ने अधिकांश पहाडको सब्जी यतैबाट झर्छन्। उत्तर दक्षिण लमतन्न बसेको छ बजार। बजारको घरहरू भर्खर आधुनिक शैलीका बन्न थालेका छन्। अधिकांश घरहरू पुरानै र स्थानीय ग्रामीण शैलीका छन्। ती घरहरूमा होमस्टेको व्यवस्था गरिएको छ।

लिम्बु, याख्खा, बाहुन र मगरहरूले होमस्टे सञ्चालन गरेका छन्। स्थानीयको आतिथ्यता आत्मीय र न्यानो छ। हामी पनि राम याख्खा र मनिता मादेनको घरमा बस्यौं। मनिता रामकी श्रीमती हुन्। लिम्बु समुदायमा बिहे गरेर गए पनि महिलाहरू जीवनभरि माइतिको थर लेख्न स्वतन्त्र हुन्छन्। मनिताको माइती मादेन (लिम्बु) रहेछन्। दुबैजना मिलेर भान्सामा परिकार पकाउँछन्। र, पाहुनाको सत्कार गर्छन्।

रामले पक्की नयाँ घर बनाएका छन्। ती घरमा दुई कोठा होमस्टेका लागि छुट्याएका छन्। एउटा कोठा एटेज सहित। पुरानो घरलाई पनि सजावट गरेर होमस्टेका लागि प्रयोग गर्न हामीले सुझायौं। उनले पुरानो घरलाई पनि संरक्षण गरेर राखेका छन्।
होमस्टेमा स्थानीय परिकार पाईन्छ। जनजातिहरूमा लोकल रक्सी, तोङ्वा र लोकल बंगुरको मासु स्वादिलो पाइन्छ। लोकल कुखुरा र ढिडो खान इच्छा हुनेले पहिल्यै खबर गरिरहनुपर्छ।

यहाँ आएर हेर्ने सूर्योदय र हिमाल अनि तराई मात्र छैनन्। अन्य धेरै आकर्षणहरु पनि छन्। डाँडामा सिद्ध गुफा छ। कैलाश डाँडा छ। कैलाश डाँडाबाट सूर्यास्त हेर्न सकिन्छ। कोशीको पानीमा टक पारेर डुब्दै गरेको सूर्यास्तको दृष्य पनि मनोरम हुन्छ। ध्वजेडाँडामा भर्खरै स्थापना गरिएको जैतुन पार्क छ।

बजार पूर्व ओरालो अलि तल सम्म परेर बसेको टार छ। लाप्चेटार भन्छन् स्थानीय। लाप्चेटारमा एशियाकै ठूलो मानिएको बरको रूख छ। फेदमा करिब ७० फुटको गोलाई छ। यो रूखले तीन रोपनी ओगटेको छ। लाप्चेटारमा सब्जी सहित अमिलो मेल र नास्पातीका उत्पादन प्रसस्त हुन्छ।

बजारमा मगरहरु हुर्रा नाच्छन्। लिम्बुहरु च्याब्रुङ बजाउँदै धान नाच्छन् र पालम गाउँछन्। तर ती संस्कृति हेर्न उनीहरुको चाड पारेर आउनुपर्ने हुन्छ। पाहुनाको अनुरोधमा पनि ती संस्कृति हेर्न पाईन्छ। तर अगाडि नै खबर गर्नुपर्ने हुन्छ।

डाँडाबजार पुग्नु पहिले ओख्रे भन्ने सानो गाउँ आउँछ। त्यहाँ दृष्यावलोकनका लागि टावर निर्माण गरिएको छ। द्वन्द्वकालमा माओवादीले गणतन्त्र रेडियोको टावर डोकोमा बोकेर यहाँ ल्याउथे र रेडियो सञ्चालन गर्थे। त्यसैको सम्झनामा यहाँ टावर बनाइएको हो। डाँडाबजारबाट सात किलोमिटर पूर्व राजारानी भन्ने सुन्दर र सानो उपत्यका छ। यहाँ राजारानी ताल र एउटा झरना छ।

महेन्द्र राजमार्गमा पर्ने इटहरीबाट भेडेटार ३४ किलो मिटरमा पर्छ। भेडेटारबाट डाँडाबजार सिधै पूर्व १४ किलो मिटर। पहिलेको बाटोलाई स्तरोन्नती गरेर चौडा बनाइँदैछ। यो बेला सडक चौडा बनिदै गरेकोले सवारी साधन गुडाउन अलि गाह्रो हुनसक्छ। तर जुनसुकै सवारी साधन पनि पुग्छन्  यो मौसम डाँडाबजार घुम्न, रमाउन र सूर्योदय हेर्न अनि छुट्टि बिताउन उत्कृष्ट गन्तब्य हुनसक्छ।

Himalaya News Desk

Himalaya Raibar is a Popular Online Nepali News Portal. Himalaya Raibar Nepali News Portal by Laxmi Multimedia.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button