यस्तो पो त यात्रा ! (तस्बिरहरू)
दसैं सकिएको दोस्रो साता मेरो यात्रा सुरू भयो। यात्राको पहिलो दिन माछापोखरी बसपार्कबाट पर्यटक बस लिएँ। आरामदायी सिट पाइयो। मेरो छेउमा विदेशी पर्यटकहरू थिए। पछि थाहा भयो इजरायलबाट आएका रहेछन्।
काठमाडौंदेखि रसुवा जिल्लाको स्याप्रुबेँसीसम्मको दूरी १२२ किलोमिटर हो। त्रिभुवन राजपथको बाटो नौबिसे हुँदै गल्छी पुगेपछि पृथ्वी राजमार्ग लाग्नुको सट्टा त्रिशुलीतिर लाग्छ बस। नुवाकोटको बिदुर अनि बेत्रावती बजार, कालिकास्थान, राम्चे हुँदै धुन्चे जान्छ। निकुञ्ज प्रवेशको लागि चेकिङ गर्ने र अनुमति पत्र दिनको लागि राहदानी लिइँदो रहेछ विदेशीको।
मैले पनि प्रवेश लिएँ रू एक सय तिरेर। कुनै समस्या पर्दा उद्धार राहतको लागि यो गरिएको भन्दै सैनिक जवानले यो लिनुको फाइदाहरू बताए।
धुन्चेमा विदेशीहरू ओर्लिए। सायद उनीहरू जाँदै थिए गोसाइँकुण्ड। यहाँबाट गोसाइँकुण्डको लागि पदयात्रा सुरू हुन्छ जुन मैले गत वर्ष सम्पन्न गरेको थिएँ। हामी चढेको बस धुन्चेपछि बाह्रघुम्ती नामको घुमाउरो बाटोमा हुइँकियो। त्रिशूली नदीको किनारैकिनारैको बाटो डरै लाग्ने थियो।
स्याप्रु पुगेपछि म निस्किएँ। साधारण जुत्तामै थिएँ। लौरो टेक्दै बजारको बीचैबीचको बाटो लागेँ। यो लौरो धरानबाट काठमाडौं जाने माइक्रोबस कुर्दा छेवैमा भेटिएको थियो। कसैले मेरो यात्राको लागि सुटुक्क छोडिदिएको उपहार जस्तो।
केही ओरालो लागेर त्रिशूली तर्नुपर्ने रहेछ। गाडी चल्ने पुल अनि धूलौटे बाटो। एक व्यक्तिलाई सोध्दा ‘रोड नछोडी जानू’ भन्ने सल्लाह पाइयो। अलि परबाट नदीका दुई शाखा देखिए। दायाँतिरको मूल नदी सायद त्रिशूली होला र बायाँको लाङटाङ खोला। यो खोला भनिए पनि विशाल नदी नै हो। दुईको संगममै स्याप्रुबेंसी पर्दछ।
लाङटाङ पदयात्राको सहयात्री हो लाङटाङ खोला। सुरूआतका केही घण्टा त नदीको छेवैमा पानीलाई छुने गरी नै हिँडिने रहेछ। नदीलाई देब्रे पारेर निरन्तर हिँडियो। तीन बजे सुरू भएको थियो हिँडाइ। बिस्तारै अन्य पदयात्रीलाई पछि पार्दै म दोमेन पुगेँ। यहाँ कुनै विद्युतीय योजनाको निर्माण भइरहेको छ। कंक्रिटका संरचना बन्दै थिए। दोमेनबाट बाटो उकालो लाग्यो। नदीसँग दूरी बढ्यो र जंगलभित्रको रमाइलोमा प्रवेश गर्न पाइयो। केहीबेरमा पहिरो भन्ने ठाउँ आयो। त्यहाँबाट अर्को गन्तव्य बाम्बु थियो बासको लागि। सूर्यास्त भइसकेको जंगलको बाटोमा केही फर्कने यात्रुहरू मात्र भेटिएको अवस्था थियो। कतै रूख ढलेको थियो बाटैमा जसको मुन्तिरबाट निहुँरिएर जानुपर्ने।
केहीबेरमा घरहरू देखिए। आखिर बाम्बु त्यही रहेछ। ठूलो ढुंगामा उचाइ लिखित थियो २०००मिटर। खुसीको सानो लहर छायो। सबभन्दा माथिको लज गएँ सरासर। कोठा सोधेँ। धेरै ग्राहक नदेखेपछि त्यहाँकी सानी साहुनीले केही अकमकाएर भनिन्, ‘बस्दै गर्नू, पछि मिलाउँला’।
पछि मैले दुई जना ठिटाहरूसँग कोठा पाएँ। उनीहरूसँग राम्रो भलाकुसारी हुन थाल्यो। यात्राका गफहरू। उनीहरू त दोमेनसम्म जीपमा आएर हिँडेका रे। तर मभन्दा पछि आइपुगेका थिए। लाङटाङ खोलाकै एकदमै नजिक थियो यो लज त। चिया खाजा खाने टेबलहरू पनि खोला किनारमै पो थिए। विराट आवाजका साथ छङछङ गरिरहेको थियो खोला।
त्यहाँ अर्की एक जना महिला यात्रु रहिछिन् एकल यात्रामा निस्केकी। खाना खाने बेलामा उनी र म सामुन्ने भयौं। रङ रूप नेपाली भए पनि बोली अप्ठ्यारो खाले नेपाली थियो। जिभ्रो बटारेर बोलेजस्तो। विदेशीले बोलेजस्तै। कारण बाहिरै बसेको वा उतै जन्मेको या यस्तै केही होला कि भनेर सोधेँ। यो प्रश्न सोध्नुप्रति आफैँलाई नराम्रो पनि लाग्यो। जेसुकै होस् नसोध्नुपर्थ्यो मैले। उनले सबै कुरा नकारिन्। नेपालमै जन्मे-हुर्केको, नेपालमै बसेको भन्ने अर्थ लाग्यो।
‘अनि एकल यात्रा किन?’ सोधेँ।
यो पनि उचित प्रश्न त थिएन। तर जवाफ पो रमाइलो लाग्यो। उनको केटा साथी एक दिन अगाडि निस्किएको रहेछ एकल यात्रामा र उनी एक दिन पछि। आहा कस्तो अनौठो रहर। दुई जना भएर पनि समय फरक पारीकन एकल यात्रामा थिए उनीहरू। यस्तो गर्नुको कारण उनले भनिन्, ‘हामीलाई यस्तै गर्न मन लाग्यो।’
गजब जवाफ।
अर्को दिन बिहान मीठो रोटी खाइयो, चिया र सब्जीका साथमा। करिब छ बजे मैले बाटो तताएँ। सुरम्य पहाड। माथिबाट झरिरहेका खिरिला झरनाहरू। जङ्गल। चराहरूको आवाजसँगै लाङटाङ खोलाको मधुर ध्वनि। अझ काठे पुल भएको सहायक खोला। ढुंगामा पानी निरन्तर ठोकिएर पानीको रङ पूरै सेतो लाग्ने।
पुल भनिने ठाउँमा खोला तरियो र अब भने खोला बन्यो दाहिनेतिर। पहिरोको बिसिलो बाटो र सानो उकालो सकिएपछि रिम्चे (२४४०मि) आयो। अनि केहीबेरमा प्रसिद्ध लामा होटल (२५१५मि)।
यो ठाउँमा पनि तीन-चार ओटा होटलहरू थिए तर ठाउँकै नाम लामा होटल भइसकेको। सायद सबै होटलहरू लामाकै थिए। कुनै एकमा पसेर मैले दुइटा अण्डा र चिया खाएँ। यसो मूल्य बुझ्नलाई सोधेको उसिनेको एउटा अण्डाकै सय रुपैयाँ रहेछ।
‘हामीले नि बोकाएर ल्याउने हो। सबै गर्दा हामीलाई नै चालिस पर्छ, साठी नाफा राखेको हो,’ साहुजीले भने।
अलिक ऊर्जा लिएर म सुस्तरी बाटो लागेँ। ओझेलबाट घामको किरणमा पुगियो करिब ८:४० मा। तेर्पाया तेर्पाया नै लाग्यो बाँकी बाटो। नदीको किनारैमा अवस्थित ठाउँ थियो जसलाई नाम दिएको थियो- रिभर साइड (२७९०मि) ।
करिब पन्ध्र मिनेटमा फलामे पुल तरियो र खोलाको अर्कोतिर पुगियो। पानीको आवाजले मन पुलकित भयो। त्यसमाथि पुलभरि अनेक बौद्ध लिपिअङ्कित लुङ्दरहरू। स-सानो एउटा उकालो आयो। थकित हुनेगरी चढेपछि सानो घाँसेचौर आयो। हिमालहरूको मुहार देख्न पाइने ठाउँ। वरिपरि अग्ला पहाडहरू अनि अलि पर हिमाल। बाटो फराकिलो। केहीबेर त्यहाँबाट पनि हिँडेपछि अझ ठूलो पुलबाट खोलालाई फेरि तरियो र केही भिरालो गेग्रेन बाटो कटेपछि पुगियो घोडातबेला (३००८मि)। घोडाहरू त थिएनन् तर नाम यही। खानाको बन्दोबस्त गर्न लगाएँ। स्वादिलो खाना खाइयो। हुनलाई आलु-बन्दाको तरकारी, पातलो दाल र साधारण चामलको भात हो, तर हिँडाइले र त्यो वातावरणले होला जिभ्रोलाई भने मिठास दिने।
अगाडि हिमालहरू र विशाल पहाडहरूको दृश्य कायमै थियो त्यसमाथि बाटो पनि एकदम सहज खालको। न त उकालो न त ओरालो। अलिअलि उचाइ लिइरहेको बाटो। वरिपरि हरियाली कायमै थियो। हरियाली मात्रै होइन ‘रातोयाली’ भने हुने, कुनै जातको फल लागेका राता रूखहरू टन्नै देखिन्थे। यसरी क्रमशः हिँडाइ जारी राखेर म थाङ्स्याप (३२०५मि) पुगेँ। केही क्षण बिसाएँ। पाइपबाट पानी पिएँ।
यसपछि अर्को स्टेशन गुम्बा डाँडा अथवा लाङटाङ गुम्बा। त्यहाँ बिसाउनै नपाई एक साहुनीले सोधिन्। ‘कहाँसम्म जाने?’
मैले आफूलाई अझ कति टाढा छ भन्ने जानकारी नभए पनि भनिदिएँ, ‘क्यान्जीङसम्म पुगिएला कि?’
‘लौ सेवकथनको जुस खाऊ, इनर्जी आउँछ’ भनेर उनले उकासिन्।
नयाँ चिजको स्वाद लिइहालूँ भनेर मैले मगाएँ।
सुन्तला रङको चिसो रस ल्याइदिइन्। एकदमै स्वादको लाग्यो यो।
म लाङटाङ गाउँ (३४२०मि) पुग्दा दिउँसोको पौने २ बजेको थियो। यहाँको बजारकै बीचबाट बाटो थियो। घरहरू अलि बाक्ला। यहाँनेर २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पको दुःखद घटनाको सानो स्मरण गर्नैपर्छ।
हाल बनेको बस्ती नयाँ हो। पुराना संरचनाहरू हिमपहिरोमा पुरिएको थियो। २४३ जनाले ज्यान गुमाएका थिए। लाङटाङ लिरुङको दक्षिणी मोहडाबाट आएको हिमपहिरोले गाँवै सखाप पारेको थियो। खासमा लाङटाङ गुम्बा र यो गाउँ पूरै जोडिएको थियो रे पहिला। अहिले यी दुई बीचमा उराठलाग्दो पहिरो छ।
म पाइला चाल्दै थिएँ फेरि एक साहुनीले सोधिहालिन्। बाटोमा आगन्तुकलाई रोकिहाल्न यता सबै लागिपरेका हुँदा रहेछन्। अरू चार यात्रुलाई पनि उनले रोकिसकेकी रहिछन्। तिनीहरूले खाना खाइसकेपछि बिस्तारै जाने सल्लाह भयो। सानो कुराकानी भयो केटाहरूसँग। रमाइलो साटियो। उनीहरू युवावयका जोशिला थिए। सायद उपत्यकाबाटै आएका।
मलाई त्यहीँ चिया पनि खुवाइयो (जसको पैसा पनि लिइएन। अन्यथा सय वा डेढ सय थियो होला मूल्य)। तर ढिलो भने गरियो। करिब एक घण्टा गफगाफ वा विश्राममा बित्यो। एक जना भाइ पनि थियो जसले अर्को यात्रुको झोला बोक्यो। दुई किलो आलु पनि लानु रहेछ सानी साहुनीलाई। त्यो आलुको सानो झोला मैले बोक्ने भएँ र मेरो झोला उनले बोकिन्। धरानको भन्नासाथ फेरि आफ्नो ब्वाइफ्रेन्ड पनि धरानकै भएको नाता गाँसिसकेकी थिइन्। आफ्नो होटलको कार्ड दिइन् जसको पुच्छरमा ‘पाहुना बनी आऊ, साथी बनी जाऊ’ लेखिएको थियो। जे होस् करिब तीन बजेतिर सात जना बाटो लाग्यौं।
यति नै खेर त्यहाँ आयो हेलिकप्टर। दुई फन्का लाएर बस्यो। लेक लागेको कुनै विदेशीलाई लिन आएको रे। त्यसको फोटो भिडिओ खिच्न थाल्यौं हामी। गति घटाइयो, गफ बढाइयो। सुस्त सुस्त पाइला चालियो।
बाटोभरि बौद्धधर्म जनाउने मानेहरू। अनि समथर खालको बाटो। पर सेतो हिमालमा सूर्यास्तको मनोरम दृश्य। बाटोमा एउटा ढुंगोलाई साहुनीले ढोगिन् त्यो हात्तीको सुँडजस्तो थियो। उनले हात्तीको आकृति भएको यहाँदेखि त्यहाँसम्म हो भनेर देखाइन्। हामीले पनि ढोगिदियौं। बाटोको एउटा सानो पसलमा चियापान पनि भयो र केही मिनेट बिसाइयो पनि।
एउटा गुम्बा खोला र फुस्रा डाँडाहरू भएको ठाउँमा पुगियो। सानो विद्युत परियोजना रहेछ। जसमा पानी ल्याउने नालालाई पनि कपासले बेह्रिएको थियो। नत्र पानी जम्न सक्थ्यो र बिजुली निकाल्न गाह्रो। त्यो पावर हाउस नाघेर अलिकति उकासिएको ढिस्कुरो उक्लियौं। टुप्पोमा पुग्दा मनै फुरूङ्ग। ओहो यहाँ पो लुकिबसेको रहेछ क्यान्जिङ अथवा क्यान्जिङ गोम्पा (३८००मि) भनिने सानो सानो बस्ती। नीला जस्तापाताले छाएका, झ्यालैझ्याल भएका थुप्रै घरहरू। जाँदै गर्दा कतैबाट पनि नदेखिएको त्यो बस्ती अकस्मात् झुल्किँदा मनै हरर भएर आयो।
भान्छा कोठामा सुरू भयो जोशिला युवाको नाचगान। मलाई आत्मीय सम्मानसाथ बोलाए अनि उनीहरूको नशालु नाचहरू हेर्न थालियो। सानो गिटार लिएर ‘लेकाली चोयाको डोको……… आँखैमा गाजलु लपक्कै………..’ को भाकामा छमछमी नाच्न थाले फूर्तिला भाइ।
अरू साथीहरू जोसिँदै गाउन थाले। वातावरणै रमाइलो बनिहाल्यो।
अब यिनै चार जना मेरा साथी बने। सल्लाह भयो भोलिपल्टको योजना। नजिकै दुई डाँडाहरू थिए। दुईभन्दा नि तीन भने हुने। पहिलो र दोस्रो गाँसिएका डाँडा क्यान्जिङ री तल्लो र माथ्लो। क्यान्जिङ रीको उचाइ इन्टरनेटमा कतै ४७७३ र कतै ४६०० उचाइ दिइएको पाएँ, अलिक टाढा चेर्को रि छ। यसको उचाइ पनि कतै ४९८४ र कतै ५०८० लेखिएको पाइन्छ। यसको भने ज्यान खैरो फुस्रो तर टुप्पो सेताम्मे थियो। हाम्रो योजना क्यान्जिन री चढ्ने बन्यो।
बिहान कसैले ढोका ढक्यायो। उनी थिए अर्का पर्यटक, जो चार भाइसँग परिचित थिए, मसँग परिचय नभइसकेको। चार भाइलाई उठाउन खोजेका रहेछन्। मैले पनि क्यान्जिङ री त जाने तर खाजा खाएर भनेँ। उनीहरू बाटो लागे। बिहानको ५:२५ तिरको अन्धकार फाट्दै गरेको बेला हाम्रो टोली उकालो लाग्यो। उनीहरूको बीचमा थिएँ म। बाटो अस्पष्ट। कहिले दायाँको तेर्सो, कहिले बायाँ, कहिले काँडेदार बुट्यानलाई पक्रेर उकालो। किनकि अँध्यारोले पदछापहरू देखिएको थिएन। हिँडाइ उनीहरूसँग नमिल्दो भयो। अलिक कुद्ने केटाहरू त माथि पुगेर पर्खिन थाल्थे। बिसाएर एक घुट्को पानी दिएँ। खाँदै गफ गर्दै हिँडियो। एक ठाउँमा उनीहरू गएको भन्दा सोझो तर ठाडो उकालो भेटेर मैले उछिनेँ। त्यो उछिन्याइ त कस्तो भयो भने उनीहरू तलै परे मसँग दूरी बढ्दै गयो। स्वीस र फ्रेन्च पर्यटकसँग नमस्ते भन्दै म अझ अगाडि लागेँ। एउटी पर्यटकले यसो बाटो दिइन् र हाँस्दै भनिन्, ‘नमस्ते…. कीप् रनिङ्’
म भने आफ्नो सामान्य गतिमा हिँडिरहेको थिएँ। जब पहिलो टाकुरा पुगियो करिब एक घण्टा भएको थियो। त्यहाँबाट सेता हिम चुचुराहरूको सपाट दृश्य देखियो। भर्खर घामले छुँदै गरेको त्यो मनमोहक दृश्यको बयान शब्दातीत छ। मुस्काइरहेका जस्ता लस्करै थिए हिमालहरू। नाम प्रष्ट त थाहा भएन। सबभन्दा उचो लाङटाङ लिरुङ (उचाइ ७२४६ मिटर) चाहिँ चिनियो र अर्को सायद किमशुन (६७४५ मि) हो। दक्षिणतिर दोर्जे ल्हाक्पा (६९६६मि) र अरू हिमशिखरहरू।
अनि अगाडि जाने बाटो देखियो खिरिलो, पहिरोको छेउमै भएको, धमिलो। डरै लाग्ने। त्यसमाथि शित परेको बाटो। तर जब हिँड्दै गइयो त्यति बिसिलो पनि थिएन। त्यहाँ चार जना यात्रीहरू उक्लिँदै थिए। दोस्रो टाकुरोको लागि उनीहरू चार कमिलाजसरी हिँडेको परैबाट देखेँ। केही क्षणको हिँडाइले भेट जुरायो। आखिर उनीहरू उही होटलबाट निस्केका थिए। मलाई बिहान उठाउने अंकल पो। ताजुब माने यति छिटै भेटेकोले।
अब यिनीहरू मेरा साथी भए। उमेर ५८ वर्ष, घर मनाङ। साथमा पत्नी छोरा र छोरी। यस्तो पो त यात्रा। पूरै परिवार हिमाल हेर्न लम्किएका। उनीहरू अर्को दिन बाउछोरा मात्रै चेर्को रि चढ्ने योजनामा थिए आमाछोरी हिँड्न नसक्ने भएकोले।
अनि उनीहरू सरासर काठमाडौं नफर्किएर त्यताबाट गोसाइँकुण्ड गएर फेरि फन्को मारेर हेलम्बु हुँदै काठमाडौँ आउने रहेछन् । यो करिब बाह्र-पन्ध्र दिनको यात्रा हुने मेरो अनुमान थियो। बात मार्दै हामी चढ्न थाल्यौँ।
उकालो काटेर चुच्चोमा पुग्दा ‘ल दाइ बधाई’ भन्यो भाइले। ऊ अघि नै पुगिसकेछ। हामी घुमीघुमी फोटोहरू खिच्न थाल्यौं। केहीबेरमा मात्र अंकल, आन्टी र बहिनी आइपुगे। उनीहरूको पारिवारिक तस्वीर मैले लिइदिएँ। मेरो उनीहरूले। खाजा र पानी पनि खुवाए। कफीको लागि भने कप रहेनछ। चार वटा आआफ्ना कपहरू मात्र थिए। केही समय बिताउने र झर्ने उनीहरूको योजना थियो। म पनि चार पुराना साथीहरूको प्रतीक्षामा थिएँ।
आधा घण्टासम्म त्यहाँ रमाएपछि झर्ने मनसाय राखेँ। झर्ने बाटो अर्कैतिर थियो। आएको बाटो झर्न मन पनि थिएन।
घाम उदाइसकेपछि माथिबाट त्यो क्यान्जिङ बस्ती अलौकिक देखिने। करिब पचासदेखि साठी घर त होलान्। गुजमुज्ज परेको। बाँकी उजाड। अलिक तलतिर लाङटाङ खोला। अनि पहरेदारजस्ता विशाल हिमालहरू।
म फर्केर कोठामा पुग्दा साढे नौ भइसकेको थियो। पैसो तिरेर म लम्किएँ ओरालो अब।
यात्राको मिठास मनभरि संगाल्दै सुस्त गतिमा झर्न थालेँ।
मुन्दुममा तीन बच्चाहरूले ‘दाइ साह्रै भोक लागेको छ चकलेट दिनू’ भन्न थाले।
भोकै त अवश्य थिएन तर चकलेट मसँग थियो नै कसैले प्रेमपूर्वक दिएको। मैले पनि प्रेमपूर्वक उनीहरूलाई बाँडिदिएँ। ‘ल याहू गर…. म फोटो खिच्छु’ भनेपछि फुरुङ्गै भए। उनीहरूले नाम पनि सोधे। मैले पनि सोधेँ। पर पुग्दासम्म ‘थ्याङ्क्यू…’ भनिरहे। म हात हल्लाउँदै लम्किएँ।
लाङटाङ गाउँ आएपछि निःशुल्क चिया खुवाउने आन्टीकोमा जान मन लाग्यो। हुन त बाटैमा थियो घर। तर बिर्सेला कि भनेर हरेक घर चियाउँदै पुगेँ। सेबकथर्नको झोल पैसो तिरेर खानु थियो मलाई निःशुल्क पिएको चियाको मूल्य यसरी तिर्नु थियो। तै पनि उदार साहुनीले साविकभन्दा (हिजो खाँदा २०० थियो) आधा नै लिइन्। धन्यवाद दिँदै बाटो लागेँ।
बल्ल पो एउटा सूचना पाटी देखियो, यो जुस दिने फल सेवकथन होइन सी-बक-थर्न जुस रहेछ। यसको थुप्रै फाइदाहरू उक्त पाटीमा लेखिएको थियो।
बाटो ओरालो भएकोले गति अलिक बढी भएको हुँदो हो। यात्रुहरू बाटैभरि थिए। विशेषगरी विदेशीहरू। गह्रौं भारीले थिचिएका स्वदेशीहरू। बाटोमा भेटिएका हरेक साना कुलेसा वा खोलाहरूमा तनतन पानी पिएँ। त्यस्तो स्वादिलो पानी कहाँ पाइयोस्!
थकित हिँडाइले साँझ साढे पाँच बजे बाम्बु पुगेर विश्राम लियो। पहिलो होटलमा त कोठै दिएनन्। जाँदा त्यहीँ स-सम्मान बसेको नाता काम लागेन। दोस्रोमा पनि आनाकानी। ओहो! संयोगको लीला। कारणवश मसँगै जान नपाएका मेरा साथीहरू त्यहीँ पो रहेछन्। पहिलो होटलमा।
तुरून्तै भेटघाट भयो। फकाइफुल्याई साहुनीबाट बिदा भइयो र पहिला कोठा नदिने होटलमै पुनः पुगियो।
यस क्रममा के भइदियो भने त्यो रहस्यात्मक लौरो भने छुट्यो। सोचेँ कोही आउनेछ यही पदयात्रामा र त्यसले फेरि लाङटाङसम्म उसलाई पुऱ्याउनेछ। आखिर यात्रीको यात्रा पो टुंगिन्छ। लौरोको यात्रा त कहाँ टुंगिन्छ र?
भोलिपल्ट यात्रा सात बजे मात्रै सुरू भयो। उनीहरू लम्किए उभो र म उँधोउँधो। जाने बेला बाँसको लौरो मेरो लागि पनि कसैले जमिनमा गाडिदिएको थियो। त्यसकै सहारामा चिसो बतासको मनोरम बिहानीसँग ओरालो भरेँ। यो यात्राभन्दा केही दिन अगाडि पारिजातको चर्चित किताब शिरीषको फूलकी नायिका सकमबरीलाई सम्बोधन गर्ने कविता ‘प्रिय सकमबरी’ लेखेको थिएँ। यसैले किताब झोलामै थियो। कतै पनि यसलाई झिक्न, पढ्न वा तस्वीर लिन भ्याएको थिइनँ। अब भने फुर्सत मिल्यो। रूखको आडमा रहेको ढुंगामा राखेर फोटो खिचेँ।
दुई घण्टा जतिमा दोभान आयो। मूल त्रिशूलीमा गई लाङटाङ मिसिने। अनि ठूलो नदीको पुल तर्ने बेलामा एकदमै युवावयका पाँच छ यात्रुहरूमध्येको एकले सोध्यो, ‘दाइ लठ्ठी किन्न पाइन्छ माथि कतै?’
‘माथि त थाहा भएन। लाने भए यो लानुस्।’
उसलाई भने पनि ऊभन्दा अगाडिकी केटीले धन्यवादसहित लौरो लिई। म रित्तो हात पाँच मिनेट हिँडे। अनि त काठमाडौंको लागि बाटो तताइहालियो।