प्रकृति र संस्कृति मन पराउनेका लागि लिमी
हुम्ला – प्राकृतिक सुन्दरता तथा संस्कृति मन पराउनेहरुका लागि एउटा उपयुक्त गन्तव्य हो, हुम्लाको नाम्खा गाउँपालिकास्थित लिमी । हरेक वर्ष नाम्खा गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्नको लागि विभिन्न कार्यक्रम आयोजना गर्ने गर्छ । सदाझैं यो वर्ष नाम्खा गाउँपालिकाको महोत्सव हेर्न र त्यहाँको प्रकृति हेर्नको लागि गत केही वर्षजस्तै यो वर्ष पनि हामी त्यसतर्फ लागियो ।
बाटोमा पर्ने विभिन्न सुन्दर बस्ती नियाल्दै यात्रा अगाडि बढेको थियो । त्यसै गरी सुन्दर झरनाले यात्राको थकानलाई अति नै अगाडि बढ्न प्रेरित गरेको थियो ।
नाम्खा गाउँपालिकाको आयोजनामा भएको महोत्सवमा २ दिन विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन ग-यौं । तेस्रो दिन हामी एक समूह लिमी उपत्यकामा रहेको प्रसिद्ध लाप्चा उपत्यकातिर लाग्यौं । लिमीका स्थानिय वासिन्दासँगै हामी ट्रिपरमा याल्वाङ्गबाट सल्लीतिर लाग्यौं । विशेष गरी लिमीको लाप्चा भञ्ज्याङ्गबाट मानसरोवर दर्शन गर्नको लागि राम्रो स्थान हो भनेर भिडियो देखेको दृश्य मेरो आफ्नै आँखाले हेर्न धोको थियो । दर्शन गर्ने अभिप्राय रहेको थियो । सोही अनुसार विभिन्न ताल, झरना, भञ्ज्याङ्गको बाटोको दृश्यावलोकन गर्दै अगाडि बढेका थियौं । नाम्खा भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकले पनि यसरी मज्जा लिने गरेका छन् ।
सल्लीमा खाना खाइसकेपछि लिमी उपत्यकातिर सुन्दर स्थानको अवलोकनसँगै हामी अगाडि बढेका थियौं । ३ हजार ४ सय ३८ मिटरको उचाइमा रहेको न्यासिङ्ग खर्कमा एकछिनको बसाइपछि यात्रा जारी रह्यो । न्यासिँह खर्कमा चरीरहेका पशुवस्तुको दृश्य कम्तीको मनमोहक थिएन । चारैतिरका छहरा, हिमताललाई छोडेर ओरालोतिर बहँदै गरेको दृश्य यो मन मस्तिष्कमा गहिरो छाप छोडिरहेको थियो । कच्ची सडकसँगै बहने हिमनदीको सुस्साहटले सबैको मनलाई सांगीतिक बनाएको थियो ।
घोडा, चौंरी, जुमा र अन्य पशुवस्तुको समूह यत्रतत्र चरन क्षेत्रमा रहेका थिए । जंगली जनावरहरु बाटोमा नै चरिरहेको दृश्यले नाम्खा गाउँपालिका एक सरकारले घोषणा नगरेको संरक्षित क्षेत्र लाग्ने गर्दथ्यो । यो क्षेत्रमा देखिने हरेक सम्पदाले मनलाई चङ्गा बनाउँदै लगेको थियो ।
न्यालु लेक यहाँको सबैभन्दा उचाइ र पैदल यात्राको लागि कठिन मानिने गर्दछ । यसको उचाई ४ हजार ५ सय ८० मिटर रहेको छ । यहाँबाट लिमी उपत्यकाको अति नै मनमोहक दृश्य देख्न सकिन्छ । अनि सिरान र गोडातिरका हिमालले अति नै सुन्दरता थपेको छ । केही तल रहेको सेलिना ताल भने ४ हजार ५ सय ६० मिटरमा रहेको हेर्न लायकको अर्को ठाउँ हो ।
न्यालु लेकको उचाई ५ हजार ५ मिटर देखाएको थियो । त्यहाँ पुग्ने बित्तिकै लिमी उपत्यकाको फाँटले स्वागत गर्ने गर्दछ । हिमनदी र हिमतालका लहरा, छहरा जताततैबाट छरपष्ट, जता मन लाग्यो उतै बहिरहेका । बुकीका फाँटमा जंगली नाउर, फ्याउमुसा र अन्य जनावर निस्फिक्रि कुनै भय विना चरिरहेको दृश्य कम्तीको हेर्न लायक थिएन ।
करिब १ हजार मिटरको उचाइ चढेपछि कुईगुङ्गा र छलुम्पा हुँदै लाप्चा जाँदै गर्दा फेरी हिमनदी, तालको दृश्य सँगै नाउरका बथानका बथान बाटैभरी चरिरहेको दृश्य हेर्न सकिन्छ । हरेक वर्ष तेस्रो मुलुकका पर्यटक यस ठाउँमा दृश्यावलोकनको लागि महिनौं विताउने गर्दछन् ।
विशेष गरेर असोज र कार्तिक महिना यहाँ दर्शनको लागि अति नै उपयुक्त समय मानिन्छ । अघिपछि बादल र हुस्सुले टम्म छोपिने हुँदा त्यति राम्रोसँग दर्शन गर्न नसकिने रहेछ । लाप्चामा भ्यू टावर र दर्शनार्थीको लागि बस्न खानको लागि आश्रय स्थलको निर्माण गर्नको लागि यो वर्ष गाउँपालिकाले बजेट समेत छुट्याएको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । हाल नाम्खा गाउँपालिकाको हिल्सा नाकाबाट चिनको ताक्लाकोट मार्ग भएर दशौं हजार तिर्थयात्रीले यात्रा गरिरहेको भए पनि अबको गन्तव्य लिमीको लाप्चा हुने देखिएको छ